Thursday, February 13, 2025
घरसमाचारलोप हुँदै पत्थरकट्टा समुदायको पेशा, नयाँ पुस्ताले खोज्दै वैकल्पिक बाटो

लोप हुँदै पत्थरकट्टा समुदायको पेशा, नयाँ पुस्ताले खोज्दै वैकल्पिक बाटो

बाँके । नेपालमा परापूर्वकालदेखि प्रयोग हुँदै आएको जाँतो, सिलौटो र ओखलजस्ता ढुङ्गे सामग्रीहरूको प्रयोग क्रमशः घट्दै गएको छ। प्रविधिको विकास, आधुनिक उपकरणको सहज उपलब्धता, र बदलिँदो जीवनशैलीका कारण परम्परागत ढुङ्गे सामग्रीप्रति सर्वसाधारणको आकर्षण घट्दो क्रममा छ। यस्तै परिवर्तित परिस्थितिले बाँकेका पत्थरकट्टा समुदायलाई आफ्नो पुर्खौली पेशा बचाउन कठिन बनाएको छ।

भारतबाट नेपाल आएका रमेश पथरकट्टाको परिवार अहिले पनि यही पेशामा संलग्न छ। उहाँका ४१ वर्षीय नाती रोहन पथरकट्टाले पहिले जस्तो बिक्री नभएको बताउनुहुन्छ ‘पहिले दिनहुँ ५–७ वटा जाँतो वा सिलौटो बेचिन्थ्यो, अहिले एउटा बेच्न पनि गाह्रो छ,’ उहाँले भन्नुभयो। प्रविधिको सहज पहुँचका कारण ढुङ्गे सामग्रीको माग घटेको उहाँको बुझाइ छ।

यसै पेशामा संलग्न ३० वर्षीय दीपक पथरकट्टाले व्यवसाय कठिन बन्दै गएको अनुभव साझा गर्नुभयो। ‘हामीले यो काम सिक्दा राम्रो आम्दानी हुने आशा थियो, तर अहिले अवस्था बदलिएको छ। गाउँमा मात्र केही बिक्री हुन्छ, सहरमा त प्रायः कोही किन्ने मान्छे भेटिँदैन,’ उहाँले भन्नुभयो उहाँका अनुसार गाउँ-गाउँ साइकलमा बोकेर बेच्न जानुपर्ने बाध्यता रहेको छ।

२४ वर्षीय अमर पथरकट्टा अहिले पेशा बदल्ने सोचमा हुनुहुन्छ। ‘बुबा/हजुरबुबाको पेशा भए पनि यसबाट टिक्नै गाह्रो छ। नयाँ पुस्ताले रोजगारी खोज्नुपर्छ, उच्च शिक्षा नै हाम्रो विकल्प जस्तो लाग्छ’ उहाँले भन्नुभयो।अमर हाल व्यवसायसँगै प्राविधिक शिक्षाको खोजीमा रहनुभएको छ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं. ४ की ज्ञानमता कुर्मीको भनाइमा, प्रविधिको विकासले ढुङ्गे सामग्रीको प्रयोग घटाएको छ। ‘पहिला मसला, अचार पिस्न सिलौटो अनि दाल, चामल पिस्न जाँतो चलाउँथ्यौँ। तर अहिले मिल र मिक्सरले सहज बनाइदिएको छ,’ उहाँले भन्नुभयो। महिलाहरूले घरभित्र र बाहिर दोहोरो जिम्मेवारी सम्हाल्नुपर्ने भएकाले सिलौटो/जाँतोको प्रयोग घटेको उहाँको बुझाइ छ।

तीन पुस्तादेखि निरन्तरता दिँदै आए पनि बिक्री घट्दै गएपछि रमेश पथरकट्टाले वैकल्पिक पेशा खोज्नुपर्ने बताउनुहुन्छ। ‘अब छोराछोरीलाई उच्च शिक्षा दिने योजना बनाएका छौँ। यो पेशाले अब धान्न गाह्रो छ,’ उहाँले भन्नुभयो।

अहिले पत्थरकट्टा समुदाय परिवर्तनशील समय अनुसार वैकल्पिक बाटो खोज्न बाध्य भएको छ। नयाँ पुस्ताले अन्य रोजगारीका अवसर खोज्न थालेका छन्, जसले यो परम्परागत पेशा बिस्तारै लोप हुने सङ्केत गरेको छ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -