१ फागुन, काठमाडौं । निजामती सेवाबाट श्रेणी हटेको छ । अब निजामती सेवामा तहगत संरचना रहने गरी प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति जुटेको हो ।
संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफलका क्रममा यस्तो सहमति जुटेको हो । निजामती सेवामा अब तहगत संरचना राख्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सबै दलका सांसदहरू सहमत भएका छन् ।
प्रस्तावित विधेयकको दफा ६ मा यससम्बन्धी व्यवस्था राखिनेछ । यो दफामाथिको छलफलको अन्तिममा सभापति रामहरि खतिवडाले भने, ‘तहमा जानेमा क्लियर भयो । अब प्रस्तावित विधेयकको दफालाई तहगत संरचना रहने गरी मिलाइनेछ ।’
तर, निजामती सेवामा अतिरिक्त सचिव राख्ने कि नराख्ने विषयमा भने सहमति जुटेन । सभापति खतिवडाले तहगत संरचनामा जानेमा सहमति भएको र अतिरिक्त सचिव राख्ने कि नराख्नेबारे पुनः छलफल गरिने जानकारी गराए ।