Thursday, February 13, 2025
घरक्राइम चेकऊर्जा मन्त्री खड्का र भारतका जलशक्ति मन्त्रीबीच भेट, पञ्चेश्वर लगायत जलस्रोत परियोजनाहरूबारे...

ऊर्जा मन्त्री खड्का र भारतका जलशक्ति मन्त्रीबीच भेट, पञ्चेश्वर लगायत जलस्रोत परियोजनाहरूबारे सहमति

काठमाडौँ, १ फागुन / नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भारतको नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

भारतको राजधानी नयाँदिल्लीमा आयोजना भइरहेको ‘इण्डिया इनर्जी वीक-२०२५’ मा सहभागी हुन पुगेका मन्त्री खड्काले आज श्रमशक्ति भवनमा भारतीय समकक्षीसँग छलफल गर्नुभएको हो।

पञ्चेश्वर आयोजनालाई तीव्रता दिने सहमति

भेटवार्ताका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना सम्बन्धी डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डीपीआर) छिटो टुंगो लगाएर आयोजनालाई अघि बढाउने सहमति भएको ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिनुभयो।

टनकपुरदेखि नेपाल-भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको भए पनि पानी सञ्चालन कार्यविधि अन्तिम चरणमा पुगेको छ। छलफलमा महाकाली सन्धिअनुसार नेपालले पाउने पानीको व्यवस्थापन सुनिश्चित गर्न सहमति भएको छ।

बाढी व्यवस्थापन र सप्तकोशी परियोजनाबारे छलफल

यसैगरी, नेपाल–भारत संयुक्त बाढी तथा डुबान व्यवस्थापन समितिको १४औँ बैठक आगामी मार्च २२ देखि २४ सम्म आयोजना गर्ने सहमति भएको छ। बैठकको तयारीका लागि नेपालले छिट्टै औपचारिक पत्राचार गर्ने भएको छ।

भेटवार्तामा सप्तकोशी बहुउद्देश्यीय आयोजना सम्बन्धमा पनि द्विपक्षीय बैठकहरूमार्फत विस्तृत छलफल अघि बढाउने विषयमा सहमति बनेको छ।

भारत सरकारको सकारात्मक संकेत

भारतीय जलशक्ति मन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई यथाशीघ्र अन्तिम रूप दिन भारत सरकार सकारात्मक रहेको बताउँदै आयोजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

द्विपक्षीय सहकार्यमा थप उत्साह

मन्त्री खड्काले विगत नोभेम्बर ५ मा भएको द्विपक्षीय छलफल स्मरण गर्दै जलस्रोत क्षेत्रमा नेपाल–भारत सहकार्यलाई थप मजबुत बनाउने दिशामा हालैका संवादहरूले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

उच्चस्तरीय प्रतिनिधिमण्डलको उपस्थिति

भेटवार्तामा नेपालका ऊर्जा सचिव सुरेश आचार्य, वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी, सहसचिव सन्दीपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठ लगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

नेपाल–भारतबीच जलस्रोत र ऊर्जा क्षेत्रमा सहकार्यलाई तीव्रता दिने सहमतिसँगै पञ्चेश्वर, सप्तकोशी तथा बाढी व्यवस्थापन जस्ता बहुप्रतीक्षित परियोजनाहरूलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरिएको छ। अबका दिनमा यी सहमति कार्यान्वयनतर्फ कसरी अघि बढ्छन् भन्ने प्रतीक्षा रहनेछ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -