Thursday, February 13, 2025
घरसमाचारकेयुकेएलले बिछ्याएको पाइप विद्युत प्राधिकरणले फुटाउँदा मध्य शहरमा भलबाढी

केयुकेएलले बिछ्याएको पाइप विद्युत प्राधिकरणले फुटाउँदा मध्य शहरमा भलबाढी

३० माघ, काठमाडौं । सरकारी निकायहरूले विना समन्वय र लापरबाहीपूर्ण काम गर्दा विकासका नाममा कसरी विनास निम्तँदो रहेछ भन्ने बुधवार सिंहदरबारको ठ्याक्कै अगाडि बबरमहलमा देखियो ।

मेलम्ची खानेपानी आयोजनाको ३० लाख लिटर पानी पाइप अर्को सरकारी निकाय नेपाल विद्युत् प्राधिकरणले लापरबाहीपूर्ण ढंगले फुटाइदिएपछि बबरमहलको सडक, सरकारी कार्यालय र निजी घरहरू जलमग्न हुनपुगे ।

त्यो पनि काठमाडौंको निकै व्यस्तमध्येको तीनकुने माइतीघर १० लेनको सडकमुनिको पाइप विद्युत प्राधिकरणले फुटाइदिएको हो ।

प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने परियोजनाअन्तर्गत बबरमहलको चिल्लो सडक खनेको थियो, तर त्यहाँ त्यसरी काम गर्दैछौं भनेर उसले सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं महानगरपालिका कसैसँग पनि समन्वय गरेको थिएन ।

खानेपानीको पाइप फुटेर बबरमहलको सडक र बस्ती डुबेपछि केयूकेएलका सीईओ अशोक पौडेललाई साथै लिएर खानेपानीमन्त्री प्रदीप यादव घटनास्थल पुगेका थिए । विद्युत् प्राधिकरणको गल्तीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर विनास मच्चाएको उनले बताए ।

‘विद्युत् प्राधिकरणले न मन्त्रालयसँग सोध्यो, न केयूकेएलसँग समन्वय गर्‍यो । त्यसकै कारणले यस्तो घटना घटेको हो,’ मन्त्री यादवले भने ।

वन परिसर अगाडि सडकमा विद्युत् लाइन भूमिगत गर्न पाइलट ड्रिलिङ पश्चात ‘रिमिङ’ गर्दा असावधानीवश मेलम्चीको उक्त पाइपलाइनमा क्षति पुगेको निर्माण कम्पनी केईआईका सुपरभाइजर अविनाश कुमारले स्वीकार गरेको केयूकेएलको दाबी छ ।

कुनकुन ठाउँमा पाइप बिछ्याएको छ भनेर जीआईएस दिएकोमा त्यसलाई पनि बेवास्ता गरी प्राधिकरणले खाडल खनेर पाइप फुटाएको केयूकेएलका एक इन्जिनियरले बताए ।

बुधबार दिउँसो करिब साढे २ बजे पाइप फुटेपछि वन परिसर, विशेष अदालत लगायत सरकारी कार्यालयमा भुइँ तलामा काम गरिरहेका कर्मचारी, क्यान्टिनमा खाजा खाइरहेका कर्मचारीको भागाभाग भएको थियो ।

मध्यहिउँदमा गत असोजको दोस्रो साता आएको बाढी बिर्साउने गरी पानी पस्दा मानिसहरू आत्तिएका थिए ।

मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट वितरण शाखाको ट्यांकीमा आपूर्ति हुने २० इन्चको पाइप ‘ब्लास्ट’ भएपछि बुधबार दिउँसो त्यसरी भलबाढी बबरमहलका घर, कार्यालयमा छिरेको थियो ।

मेलम्चीको पानी पनि केयूकेएल मार्फत आपूर्ति हुँदै आएको छ । केयूकेएलको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) बाट ओच्छ्याइएको पाइपलाइन नेपाल विद्युत् प्राधिकरणको ठेकेदार कम्पनी केईआईले क्षति पुर्‍याएको थियो ।

वन परिसर अगाडि सडकमा विद्युत् लाइन भूमिगत गर्न पाइलट ड्रिलिङ पश्चात ‘रिमिङ’ गर्दा असावधानीवश मेलम्चीको उक्त पाइपलाइनमा क्षति पुगेको निर्माण कम्पनी केईआईका सुपरभाइजर अविनाश कुमारले स्वीकार गरेको केयूकेएलको दाबी छ ।

प्राधिकरणको ठेकेदारले समन्वय नगर्दा पाइप ‘ब्लास्ट’

बबरमहल सडकमा पाइप फुट्नुको मुख्य कारण विद्युत् प्राधिकरणले समन्वय नगर्नु नै देखिएको केयुकेएलका एक इन्जिनियरले बताए ।

‘विद्युत प्राधिकरणले एक त ठेक्का दिने ठेकेदारलाई जिम्मेवार बनाएन, त्यसमाथि हामीले जीआईएस म्याप पनि दिएका थियौं । त्यो ख्याल गरिएन, तार भूमिगत गर्दा हामीलाई खबर गरेको भए पनि हुने थियो । समन्वय नगर्दा यो समस्या आएको हो,’ उनले अनलाइनखबरसँग भने ।

समन्वयको अभावमा यस्ता घटना पटकपटक हुने गरेको उनको भनाइ छ । ‘अहिले अलि ठूलो घटना भएर बाहिर आयो । तर, समन्वय नगरी काम गर्दा सधैंजसो समस्या आइरहेको छ, विद्युत् प्राधिकरणले मात्रै होइन, उपत्यकामा सडक विभाग, उपत्यका विकास प्राधिकरण लगायतले काम गर्दा पनि समन्वय हुँदैन,’ उनले भने ।

सडक विभागले महानगरसँग मिलेर काम गर्न भन्यो, प्राधिकरण एक्लै गएर पाइप फुटायो

डिभिजन सडक कार्यालय काठमाडौंले तार भूमिगत गर्ने कामको सहमति दिँदा काठमाडौं महानगरपालिकासँग संयुक्त रूपमा गर्न भनेर प्राधिकरणलाई सहमति दिएको थियो । तर, विद्युत् प्राधिकरणले महानगरसँग पनि समन्वय नगरी एकल रुपमा फुटपाथ खनी पाइप फुटाइदिएको खुलेको छ ।

घटनास्थल पुगेका खानेपानीमन्त्री प्रदीप यादवले विद्युत् प्राधिकरणको गल्तीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको बताए ।

‘प्राधिकरणलाई सहमति दिँदा महानगरपालिकाले बनाइरहेको फुटपाथ र प्राधिकरणले गरिरहेको तार भूमिगत एकैचोटी गरुन् भनेर सहमति दिएका थियौं,’ डिभिजन सडक काठमाडौंका प्रमुख नारायणदत्त भण्डारी भन्छन् ।

भण्डारीले सहमति अनुसार समन्वयमा काम गरेको भन्ने अपेक्षा सडकले गरेको बताए ।

पाइप फुट्दा २० मिटर जति कालोपत्र सडकमा ३ मिटर गहिरो खाल्डो परी क्षति भएको उनले बताए । ‘यस बाहेक अन्य नदेखिने क्षति पनि भएको हुन सक्छ, जुन हामी अध्ययन गरेर मात्रै भन्न सक्छौं,’ उनले भने ।

प्राधिकरण भन्छ– छानबिन गर्छौं

विद्युत् प्राधिकरणले तार भूमिगत गर्दा पाइप फुट्नुमा आफ्नो ठेकेदारको दोष भएको विषय बाहिरिएपछि छानबिन गर्ने जनाएको छ ।

प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालय प्रमुख तारा प्रधानले ड्रिल गर्दा मेटल डिटेक्टरले थाहा पाउनुपर्नेमा किन थाहा नपाएको भन्ने विषय छानबिन गरेर बताउने जानकरी दिए ।

‘डिटेक्टरले थाहा पाएपछि ड्रिल गर्न रुट बदल्नपर्ने हो, किन बदलेन ? हामीले पनि ठेकेदारको कमजोरी भएको भन्ने थाहा पायौं । प्राधिकरणले छानबिन गरेर निर्णय गर्छ,’ प्रधानले भने ।

४ घण्टामा बल्ल रोकियो पानी

अन्तरसरकारी कार्यालय समन्वय नहुँदा ब्लास्ट भएको पाइपबाट पानी नियन्त्रण गर्न ४ घण्टा लागेको थियो ।

पाइप दिउँसो साढे २ बजे फुटेको पाइपमा आउने पानीको मुख्य ट्यांकी बन्द गरेपछि साढे ६ बजेपछि मात्रै बन्द भएको थियो ।

केयूकेएलले पानी समयमै रोक्न नसक्दा ४ घण्टासम्म महानगरबाट गएको मर्मत टोली कुरेर बसेको थियो ।

‘पाइप फुटेपछि पानी समयमै राकिएको भए, आजै हाम्रो टोलीले सडक सफा गरेर क्लियर गथ्र्यो तर पानी नरोकिएपछि कुरेर बस्नुपर्‍यो,’ काठमाडौं महानगर प्रहरीका निमित्त नगर प्रहरी प्रमुख विष्णु जोशीले भने ।

विद्युत् प्राधिकरणले तार भूमिगत गर्दा पाइप फुट्नुमा आफ्नो ठेकेदारको दोष भएको विषय बाहिरिएपछि छानबिन गर्ने जनाएको छ ।

केयूकेएलका इन्जिनियर प्रकाश बरालका अनुसार क्षति पुगेको पाइप बल्क डिस्ट्रिब्युसन सिस्टम (बीडीएस) को पाइप हो । बीडीएसको पाइप सिधै सुन्दरीजलबाट प्रशोधन भएर शाखा कार्यालयको ट्यांकीसँग इन्टरलिंक हुन्छ ।

बबरमहलमा ब्लास्ट भएको बीडीएस पाइपमा बानेश्वर, प्रसूति गृह, बिजुली बजार र कोटेश्वर लगायतका १० भन्दा बढी ट्यांकीसँग इन्टरलिंक छ ।

‘सोहीकारण बीडीएस पाइपको पानी सक्न ४ घण्टा लाग्यो,’ बरालले भने, ‘ करिब ३० लाख लिटर पानी बबरमहलबाट खेर गयो ।’

उनका अनुसार मर्मत नभएसम्म मीनभवनको ट्यांकीमा पानी आपूर्ति रोकिने छ । ‘हामी भोलि बिहानसम्म मर्मत गरिसक्छौं भन्ने छ । रातभरि काम गर्छौं,’ उनले भने ।

महानगरको तत्परता, अन्य निकाय मुकदर्शक

पाइप ब्लास्ट भएको ५ मिनेटमै काठमाडौं महानगर टोली घटनास्थलमा पुगेको थियो । तर, अन्य निकायका टोली भने आधा घण्टासम्म आइपुगेका थिएनन् ।

महानगरका निमित्त नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीको नेतृत्वमा १ सयभन्दा बढी नगर प्रहरी, ३ वटा डोजर, ५ वटा पानी तान्ने पम्प र उद्धार टोली आएको थियो ।

महानगरका भौतिक पूर्वाधार सल्लाहकार सुनिल लम्सालसहित कर्मचारी ब्लास्ट भएको स्थलमा १५ मिनेटमा आइपुगेका थिए । यस्तै नेपाल प्रहरीको टोली आइसकेपछि पनि केयूकेएलका कर्मचारी, सडक विभागका कर्मचारी नआएपछि पानीले असर गर्ने ठाउँमा सुरक्षाको काम मात्रै गर्न पाए पनि अन्य काम गर्न सकेका थिएनन् ।

‘हामीले मान्छेलाई सुरक्षित राख्ने, उद्धार गर्ने काम मात्रै गर्‍यौं तर केयूकेएल, विद्युत् प्राधिकरण र सडक विभागबाट टोली नआउँदा पानी खेर गएको कुरेर मात्रै बस्नुपर्‍यो, जसले गर्दा मर्मतको काम गर्न पाएनौं,’ एक नगर प्रहरी भन्छन् ।

महानगरले तत्परता देखाउँदा अन्य निकायको ढिला उपस्थितिले स्थिति झन बिग्रिएको उनको भनाइ छ ।

‘सायद, समयमै सबै कार्यालयबाट सक्रियता भएको भए, यति पानी खेर जाँदैन थियो, सडक धेरै भत्किन्थेन, चाँडै मर्मत हुन्थ्यो तर महानगरको टोलीले अरू सरकारी निकायलाई कुरेर बस्नुपर्‍यो,’ मेयर बालेन साहका भौतिक पूर्वाधार सल्लाहकार सुनिल लम्साल भन्छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -