मकवानपुर । प्रविधिको बढ्दो दुरुपयोगले अनलाइनमा बालबालिकाहरू असुरक्षित रहेको बुधबार हेटौँडामा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । सिविन नेपालद्वारा आयोजित “अनलाइनमा बालबालिकाको संरक्षण” विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले इन्टरनेटको बढ्दो प्रयोगसँगै बालबालिकाहरू जोखिममा पर्ने गरेको बताएका हुन् ।
कार्यक्रममा सहभागीहरूले सूचना प्रविधिको प्रयोगबाट बालबालिकाहरूलाई शैक्षिक क्रियाकलापसँग जोड्नुपर्ने आवश्यकता बढ्दै गइरहेकोले त्यसबाट बचाउन सचेतनामूलक कार्यक्रमलाई तीव्र र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् । अनलाइनमा हुने जोखिमबाट बालबालिकाहरूलाई जोगाउन बालबालिकाले अनलाइनमा गर्ने गतिविधिबारे जानकारी राख्नुपर्ने, सामाजिक सञ्जालको प्रयोग गर्दा हुनसक्ने सम्भावित अनुचित गतिविधिहरूको बारेमा जानकारी राख्नुपर्ने र नियमित निगरानी गर्नुपर्ने साथै बालबालिका एवम् अभिभावकहरूका लागि सुरक्षित इन्टरनेट चलाउने विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।
यस्तै बालबालिकाहरूलाई इन्टरनेटको प्रयोग गर्दा त्यसबाट सिर्जना हुनसक्ने विभिन्न खतराबाट सुरक्षित राख्न जरुरी रहेको र उनीहरूलाई सुरक्षित तवरमा इन्टरनेट चलाउन सिकाउनुपर्ने बताएका छन् । अनलाइनबाट बालबालिकामा हुने यौन दुर्व्यवहारको घटना बढ्दै गएको हुँदा यसमा सबै पक्ष समयमै सचेत हुनुपर्ने उनीहरूले सुझाव दिएका छन् । अनलाइनमा बालबालिकाको संरक्षणका लागि सरकार, शिक्षा क्षेत्र, नियामक क्षेत्रसँगै यो क्षेत्रमा काम गर्ने अन्य सङ्घसंस्थाहरू सबैको सहभागिता आवश्यक रहेको उनीहरूको भनाई थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै सिविन बालहेल्प लाइनका कार्यक्रम फोकल पर्सन माधव लोहनीले अनलाइन बाल यौन शोषणबाट प्रभावित बालबालिकाहरूको लागि पीडित हेरचाह र पुनर्वास सेवाहरूको गुणस्तरलाई सुदृढ पार्नुपर्ने साथै यसका चुनौती र जटिलतासँगै बालबालिकाको सुरक्षा र कल्याणसम्बन्धी सचेतना जगाउँदै सामूहिक प्रतिबद्धता बढाउनुपर्ने बताउनुभयो । उहाँले अनलाइनमा वालयौन दुर्व्यवहारका घटना बढ्दै गएको भन्दै यस विषयमा समयमै सचेत हुनुपर्ने औँल्याउनुभयो । विश्वव्यापी मुद्दाका रुपमा प्रकट भएको यस विषयको न्युनिकरणका लागि सबै पक्षको सकारात्मक प्रयास आवश्यक रहेको उहाँले बताउनुभयो ।
लोहनीका अनुसार नेपाल प्रहरीको साइबर ब्युरोमा दर्ता भएका घटनाका आधारमा पनि यस विषयमा समयमै सचेत हुन आवश्यक छ । ब्युरोमा २०७५/७६ मा साइबर अपराध सम्बन्धी ३५७, २०७६/७७ मा २ हजार ३०१, २०७७/७८ मा ३ हजार ९०६, २०७८/७९ मा ४ हजार ६८६, २०७९/८० मा ९ हजार १३, २०८०/८१ मा १९ हजार ७३० र २०८१/८२ को हालसम्म ९ हजार ९३२ घटना दर्ता भएको बताउनुभयो । साइबर अपराधका घटना दर हरेक वर्ष बढ्दै गएको साथै यी घटनाहरूमा पुरुष भन्दा महिला बढी पीडित रहेको बताउनुभयो ।
कार्यक्रममा सिवीन बाल हेल्पलाईन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीले बालविवाह, बालश्रम भन्दा पनि अनलाइन बाल शोषणको विषय बढी संवेदनशील र जटिल बन्दै गएकोले यस विषयमा सबै सचेत हुन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा मकवानपुरका विभिन्न स्थानीय तहका शिक्षा शाखाका प्रमुख एवम् प्रतिनिधि, विद्यालयका शिक्षक एवम् विद्यालय नर्सहरू, सामुदायिक प्रहरी, पत्रकार, इन्टरनेट प्रदायक संस्थाका प्रमुख एवम् प्रतिनिधिलगायत विभिन्न सरोकारवाला सङ्घसंस्थाको सहभागिता रहेको थियो ।