२०८२ बैशाख १० गते, बुधबार १३:०४

काठमाडौं – आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कार्यालय सहयोगी, ड्राइभर, स्विपर, मालीजस्ता श्रेणीविहीन कर्मचारीहरूको रोजगारी स्थायी गर्न सरकारसँग माग गरेका छन्। उनले लोक सेवा आयोगमार्फत यी कर्मचारीहरूको भर्ना गरी जागिरको सुनिश्चितता गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभामा उठ्यो श्रेणीविहीन कर्मचारीको मुद्दा

आईतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साहले तल्लो तहका कर्मचारीहरू नेताहरू र उच्च पदस्थ कर्मचारीहरूको चाकडी गरेर मात्र जागिर टिकाइरहनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताए। “सरकारी निकायमा तल्लो तहमा काम गर्ने कार्यालय सहयोगी, सुरक्षागार्ड, माली, स्विपरलगायतका कर्मचारीहरूको जीवन कष्टकर बन्दै गएको छ। उनीहरूको जागिर असुरक्षित छ। जागिर निरन्तरता दिन सधैं नेताहरू र हाकिमहरूको चाकडी गर्नुपर्ने बाध्यता छ,” साहले भने।

उनले सरकारलाई प्रश्न गर्दै भने, “यी पदहरू स्थायी गर्न किन ढिलाइ गरिएको छ? लोक सेवा आयोगले कक्षा १२ भन्दा माथिको मात्र विज्ञापन खोल्छ। तर, सरकारी निकायमा गाडी आवश्यक छ भने ड्राइभर चाहिन्न? यी पदहरू हटाइएको हो? गरिब नागरिक नेपाली होइनन्?”

राजतन्त्रकालमा स्थायी जागिर, गणतन्त्रमा अस्थायी अन्याय?

साहले राजतन्त्रकालमा श्रेणीविहीन कर्मचारीहरूका लागि स्थायी भ्याकेन्सी खोल्ने परम्परा रहेको स्मरण गराउँदै अहिले उनीहरू अस्थायी, न्यून तलब र असुरक्षित भविष्यसहित काम गर्न बाध्य भएको उल्लेख गरे। “हिजो राजतन्त्रमा यी पोष्टहरू स्थायी हुन्थे, पेन्सन पाउने व्यवस्था थियो। तर, आज गणतन्त्र आएपछि उनीहरू नारकीय जीवन बाँच्न बाध्य छन्। यस व्यवस्थाको अन्त्य हुनुपर्छ,” उनले भने।

उनले निजामती ऐनमार्फत श्रेणीविहीन कर्मचारीहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे। केही उच्च पदस्थ व्यक्तिहरूले “तल्लो तहका कर्मचारी स्थायी भए भने हाम्रो टाउकोमा चढ्छन्” भन्ने मानसिकता राखेको आरोप पनि लगाए।

काठमाडौं महानगरको ‘गुण्डागर्दी’ को आरोप

अध्यक्ष साहले टेकुस्थित एक कवाड सेन्टरमा काम गर्ने मजदुरहरू माथि भएको आक्रमणको कडा आलोचना गरे। उनले महानगर प्रहरीको समूहले मजदुरहरूमाथि सांघातिक हमला गरेको आरोप लगाए। “अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिकाले गुण्डागर्दी देखाइरहेको छ। के सरकारले कानूनको शासन स्थापित गर्न सक्छ कि सक्दैन?” उनले सरकारलाई कडा प्रश्न गरे।

साहले सरकारले यी विषयहरूमा तत्काल कदम चाल्नुपर्ने माग गर्दै श्रेणीविहीन कर्मचारीहरूलाई स्थायी गर्ने तथा मजदुरहरूमाथिको अन्याय रोक्न दबाब दिने चेतावनी दिए।

सुन्नुहोस भिडियो :

प्रतिक्रिया लेख्नुहोस्