दोलखा । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङले खोज पत्रकारिता र सुशासन केन्द्रित पत्रकारिता आजको आवश्यकता भएकोले सबै पत्रकारहरूले आफूलाई त्यतैतिर केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल दोलखाको आठौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्नुहुँदै पूर्व मन्त्री गुरुङले सबै क्षेत्रमा सेटिङको चर्चा चल्ने गरेको प्रसङ्ग उल्लेख गर्नुहुँदै पत्रकारिता क्षेत्रमा त्यस्तो हुन नहुने बताउनुभयो ।
उहाँले पत्रकार महासङ्घको सदस्यता मापदण्ड सही भएन भने यसको अस्थित्व नै समाप्त हुने खतरा रहेको उल्लेख गर्नुभयो ।
प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेलको सभापतित्वमा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर, प्रचार विभाग प्रमुख हरि ओली, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज पथिक, प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीका महासचिव प्रकाश दहाल, दोलखा सचिव ताराबहादुर महतलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका पूर्व अध्यक्ष जीवन लामालाई बुद्धिमान स्मृति पत्रकारिता पुरस्कार– २०८१ बाट पुरस्कृत गरिएको थियो भने प्रेस चौतारीको तर्फबाट पत्रकार महासङ्घको केन्द्रीय सदस्यमा निर्वाचित रामेछापका नवराज पथिक र दोलखाका लक्ष्मण थामी तथा बागमती प्रदेश सदस्यमा निर्वाचित दोलखाका राजन थामीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी, प्रेस चौतारी नेपाल दोलखा शाखाका पूर्व अध्यक्षहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।
अधिवेशनकै अवसरमा कलम चौतारी स्मारिका समेत प्रकाशन गरिएको छ ।
नयाँ समिति चयन
प्रेस चौतारी नेपाल दोलखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार श्रृजन कुमार घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन समेत गरेको छ ।
समितिको उपाध्यक्षमा अर्जुन पाख्रिन, समावेशी उपाध्यक्षमा लाक्पाली शेर्पा, सचिवमा गणेश बुढाथोकी, कोषाध्यक्षमा फुर्वा तामाङ र सहसचिवमा सुजन थामी तथा प्रकाश बस्नेतलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरूमा मुना गुरुङ, देवराज मगर र प्रदीप सेन्चुरी चयन हुनुभएको छ ।
अधिवेशनले केन्द्रीय पार्षद् प्रभु जिरेल, महेन्द्र श्रेष्ठ र शर्मिला बुढाथोकी तथा प्रदेश पार्षद् तारादेवी बस्नेत र उषा तामाङलाई चयन गरेको छ ।