१७ जनवरीमा भारतमा भएको ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५’ मा हुन्डाईले ‘क्रेटा ईभी’ सार्वजनिक गर्यो । पेट्रोलबाट चल्ने क्रेटाले राम्रो बजार लिएको नेपालमा ईभी भर्सनमा आउने भएपछि नेपाली बजारमा अहिले यसको चर्चा चुलिएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी ग्रुपले यसअघि हुन्डाईको प्रिमियम ईभी ‘आयोनिक ५’ का दुइटा भर्सन र ‘कोना’ का दुई भर्सन नेपाल भित्र्याइसकेको छ ।
नेपालमा आउन लागेको क्रेटा ईभीबारे लक्ष्मी ग्रुप अन्तर्गत हुन्डाईको बिक्री तथा सञ्चालन महाप्रबन्धक दिपक थपलियासँग अनलाइनखबरका लागि अमृत चिमरियाले गरेको कुराकानी :
पछिल्लो समय चर्चामा रहेको हुन्डाईको क्रेटा ईभीप्रति तपाईंहरू कत्तिको उत्साहित हुनुहुन्छ ?
पक्कै पनि यो एकदमै प्रतीक्षा गरिरहेको उत्पादन हो । हुन्डाईको क्रेटा ईभी पछिल्लो दुई सातादेखि नेपालका शोरुमहरूमा यसको रेस्पोन्स एक दमै राम्रो आइरहेको छ । भारतमा गाडी लन्च हुने बित्तिकै नेपालमा एकदमै उत्साहित वातावरण छ । हामीलाई अहिले यो कुराले एकदम धेरै प्रोत्साहित पनि गरेको छ । इनर्जी लेभल बढेको फिल भइरहेको छ ।
नेपाली बजार यस्तो उत्साहित भएका बेला नेपालमा अब कहिले देख्न सकिन्छ ?
हामीले चाँडोभन्दा चाँडो नेपाली बजारमा ल्याउन खोजिरहेका छौं । हामीले समन्वय गरिरहेका छौं । उत्पादकसँग छलफल भइरहेको छ । ठ्याक्कै मिति त भन्न सक्दैनौं तर छिट्टै नेपाली बजारमा देख्न सकिन्छ । फेब्रुअरीभित्र भित्र्याइ सक्ने योजना छ ।
क्रेटाको लुक्स र बडी जुन रुचाइएको थियो त्यसमै आएको छ । हामीसँग यसका लागि पूर्वतयारी पनि सबै छ । अब नेपालमा ल्याएर ग्राहकसमक्ष पुर्याउने मात्रै हो । हाम्रा लागि धेरै चुनौती छ जस्तो चाहिँ लाग्दैन ।
नेपालमा ईभीको एडप्टेसन अत्यन्तै राम्रो छ । अहिले नेपालमा चिनियाँ सहित अन्य ब्रान्डहरूको चर्को प्रतिस्पर्धा छ । यस्तो अवस्थामा क्रेटा ईभीलाई कति च्यालेन्ज छ ?
विगत दुई वर्षको नेपालको ईभी एडप्टेसन हेर्न हो भने विश्वकै उच्चदरमा छ । अहिले करिब ७० देखि ८० प्रतिशतसम्म देखिन्छ । विकसित देशहरूमा हुने बराबर एडप्टेसन छ । तर, यो पछिल्लो दुई वर्षमा देखिएको हो । यसमा कतिपय विषय चाहिँ पूर्वतयारी नपुगेको महसुस पनि ईभी क्षेत्रले गरेको देखिन्छ । ग्राहक आफैंले पनि र त्यो समस्या आयातकर्ताले पनि भोग्नुपर्यो । अहिले चाहिँ नेपाली उपभोक्ता ईभीको ज्ञान र समस्याबारे पहिलेभन्दा धेरै जान्ने भएका छन् । पहिलेभन्दा चाहिँ एक लेभल माथि ईभीबारे नेपाली बजारले थाहा पाएको छ ।
तर, यसको पूर्वतयारीमा कहीँ न कहीँ ग्याप छ । पूर्वाधारकै कुरा गर्दा चार्जिङ मात्रै होइन यसको धेरै पाटोमा कमी छ । हाम्रो घरमा हुने विद्युतीय वायरिङ सिस्टमदेखि समग्र इन्फ्रास्ट्रक्चर नै चेन्ज हुने क्रममा छ । त्यो चिजहरू चाहिँ कमी देखिएको छ, समग्र एडप्टेसनमा तर यो मिल्दै जाने कुरा हो ।
भूगोल अनुसार ग्राउन्ड क्लियरेन्स, रेन्ज, फ्ल्याट टायर, पूर्वाधार नेटवर्क लगायत हुन्छ । तर, हुन्डाई क्रेटाले यो सबैलाई सम्बोधन गरेको छ ।
यसलाई हेरेर हुन्डाईले सन् २०१९ मै काम गरेको छ । हुन्डाईले नेपालमा ईभी यसअघि नै दुईवटा उत्पादन ल्याइसकेको छ । अहिलेको मास मार्केटमा अलिकति क्रिएटर हुने हिसाबले क्रेटा ईभी आएको हो ।
क्रेटाको लुक्स र बडी जुन रुचाइएको थियो त्यसमै आएको छ । हामीसँग यसका लागि पूर्वतयारी पनि सबै छ । अब नेपालमा ल्याएर ग्राहकसमक्ष पुर्याउने मात्रै हो । हाम्रा लागि धेरै चुनौती छ जस्तो चाहिँ लाग्दैन ।
क्रेटा ईभी चाहिँ नेपाली बजार र भूगोल सुहाउँदो छ कि छैन ? नेपाली उपभोक्ताले क्रेटा ईभी किन रोज्ने ?
यो भारतमा बन्ने भएकाले दुई–तीन वटा फाइदा छ नेपालका लागि । हाम्रो बाटोघाटोको कुरा हो । नेपालमा ईभी चढ्ने बेला केही कुराले मानिसमा तनाव भएको देखिन्छ । भूगोल अनुसार ग्राउन्ड क्लियरेन्स, रेन्ज, फ्ल्याट टायर, पूर्वाधार नेटवर्क लगायत हुन्छ । तर, हुन्डाई क्रेटाले यो सबैलाई सम्बोधन गरेको छ । यसमा २ सय एमएमको ग्राउन्ड क्लियरेन्स हुन्छ । एसयूभी सेग्मेन्टमा यो धेरै नै राम्रो हो । यो गाडीमा एनएमसी ब्याट्री हुन्छ । आफैंले टेस्ट ड्राइभ गर्दा ८ किलोमिटर प्रतिकिलोवाट पाएका थियौं । नेपालको बाटोमा ४२ किलोवाट ब्याट्रीले केही नभए पनि ३ सय २० भन्दा माथिको नै रेन्ज दिन्छ । यस्तै नेपालको भूगोलका लागि यसको फ्ल्याट टायर छ । यसमा पंक्चर भइहाले फुलसाइजको स्पेयर टायर पनि दिइएको हुन्छ । नेपालको बाटोका लागि जे–जे हुन सक्ने तनाव छ, सबै यसले सम्बोधन गर्छ ।
यसबाहेक पनि गाडी आफैंले ११ किलोवाट बराबर इन्टेक गर्न सक्छ । अन्य गाडीमा नर्मल्ली ६/७ किलोवाट हुन्छ । यसले घरमा आफैंले एसी चार्जरले गर्दा ४ घण्टामा फुलचार्ज हुन सक्छ । अहिलेसम्म पाइरहेका हिसाबले नेपाली बाटोमा बेस्ट ईभी क्रेटा ईभी नै हो ।
अर्को महत्त्वपूर्ण कुरा भनेको हुन्डाईको आफ्नै जुन नेटर्वक छ, पहिलेबाट यो सबै हाम्रो ईभीको सपोर्ट सिस्टम जस्तै भइसकेको छ । हाम्रो टेक्निकल टिम, ग्यारेजहरूमा पनि अनुभव प्राप्त छ । फेरि, यसको स्पेयर पार्ट धेरैजसो क्रेटा आईसीई गाडीसँग मिल्ने भएकाले सजिलो पनि छ । गाडीमा सेफ्टीका हिसाबले अत्यन्तै राम्रो छ । क्यामेरा, एयर ब्याग, लेन वार्निङ, लेन किपिङ सबै छ । गाडी दुर्घटना भएपछि भन्दा दुर्घटना हुनै नदिने खालका फिचर छ । वार्मिङ सिट, भेहिकल टु लोड लगायत लक्जरी फिचर पनि टन्नै छ । जे होस्, क्रेटा ईभी किन्दा चिन्ता गर्नुपर्ने कारण छैन ।
आफ्टर सेल्स सर्भिस, चार्जिङ नेटवर्कमा के सुविधा छ ?
हुन्डाईको कुरा गर्दा हामीले ४२ वटा एसी चार्जिङ २०१९ मै राखेका थियौं । आजको दिनमा हाम्रो देशभरिका शोरुममा ७५ प्रतिशत जनशक्ति ईभी सर्टिफाइड छन् । उनीहरूलाई ईभी भनेको नौलो लाग्दैन । अब हामीले डीसी चार्जिङ नेटवर्कमा पनि काम गरिरहेका छौं । अब हाम्रो वर्कसप र चािर्जङ स्टेसन एकै ठाउँमा हुने गरी वर्कसप चलाउँदै छौं । हामीले अहिले राजमार्गका ५ वटा प्वाइन्ट डुम्रे, कुरिनटार, चुम्लिङटार, बीपी हाइवे र सिद्धार्थ हाइवेका प्वाइन्टहरूमा राख्दै छौं ।
यो चाहिँ हाम्रा ग्राहकका लागि प्राविधिक समस्या र चार्जिङको समस्या परे सुविधा दिन्छौं । त्यसबाहेक हामी एउटा इमर्जेन्सी भ्यान पनि राख्छौं । यसमा ईभीका लागि ब्याकअप चार्जिङ प्वाइन्ट, प्राविधिक टिमसहित रेस्क्यु भेहिकल जस्तो बनाएका छौं । त्यो चाहिँ हाम्रो पावर बैंक जस्तो हो । सबै हिसाबले हाम्रो तयारी पुगेको छ ।
तपाईंहरुले प्रि–बुकिङ गर्नुभयो कि ?
हामीले प्रि–बुकिङ अफिसियल रूपमा खुलाएको छैनौं । तर, १०/१२ दिनदेखि यति धेरै चासो छ । भारतमा लन्च भएदेखि नेपाली उपभोक्ता हामीले कुरेर बसेको गाडी हो भन्दै अनुरोध टन्न आएको छ । धेरै बुकिङ बापत पैसा तिरेका छन् तर हामीले मूल्य तोकिसकेका छैनौं । नेपालका लागि एक्सपोर्ट रकम खुलाएको छैन ।
अब थोरै आईसीई गाडीको कुरा पनि गरौं । ईभी र नयाँ खालको गाडी बजार आउँदा पेट्रोलियमतर्फको क्रेटाले कति मार्केट लिएको छ ?
ब्रान्डको हिसाबमा कुरा गर्दा के हो भने आईसीई वा ईभीले मात्रै मार्केट डोमिनेट गर्नुभएन, समानान्तर रूपमा सबै पक्षलाई लिएर अगाडि बढ्नुपर्छ । आईसीईको आफ्नै महत्त्व छ, ईभीको आफ्नै छ । ईभीको आफ्नै विशेषता छ, आईसीईको आफ्नै छ । जति नै ईभी आए पनि क्रेटा भनेको आफैंमा ब्रान्ड हो । पछिल्लो समय आईसीई गाडीको मार्केट बढ्नुको कारण पनि क्रेटा नै हो । नयाँ क्रेटा नै हामीले पछिल्लो तीन महिनामा ४ सयभन्दा बढी बेचेका छौं । आफैंले पनि हामीले फ्याक्ट्रीको काम गरेका छौं ।
फोटो/भिडियो : शंकर गिरी