१२ माघ, काठमाडौं । नेपाली कांग्रेस अध्यादेशको पक्षमा एकढिक्का संसद्मा प्रस्तुत हुने भएको छ । सदनभित्र र बाहिर पनि अध्यादेशको पक्षमा एकढिक्का हुन कांग्रेस शीर्ष नेतृत्वले पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।
सिंहदरबारस्थित दलको कार्यालयमा सरकारमा सहभागी आफ्ना मन्त्रीहरूसँगको छलफलको क्रममा कांग्रेस शीर्ष नेतृत्वले पार्टी सरकारले ल्याएका अध्यादेशको पक्षमा एकढिक्का रहेको सन्देश दिएको हो ।
संसद् छलेर एकपछि अर्को अध्यादेश ल्याएपछि कांग्रेसकै धेरै नेताले सरकारको आलोचना गरेका थिए । तर, शनिबारको बैठकले अध्यादेश वर्तमानको बाध्यात्मक आवश्यकता रहेको स्पष्ट सन्देश दिएको हो ।
बैठकमा सहभागी प्रमुख सचेतक श्याम घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई सरकारले ल्याएका अध्यादेशका बारेमा आसन्न संसद्भित्र र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुन निर्देशन दिएको जानकारी दिए ।
‘सरकारले तत्काल गर्नुपर्ने सुधारको आवश्यकता महसुस गरेर केही अध्यादेश ल्याएको छ । अबको संसद् अधिवेशनमा ती अध्यादेशमाथिका छलफलमा एकढिक्का भएर प्रस्तुत हुन तथा बाहिर पनि एकढिक्का भएरै प्रस्तुत हुन पार्टी सभापतिले निर्देशन दिनुभयो,’ प्रमुख सचेतक घिमिरेले भने ।
बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेशसहित सरकारका कामकारबाहीबारे जानकारी गराएका थिए । लामो समय आर्थिक क्षेत्र शिथिल रहेको अवस्था अन्त्य गर्दै चलायमान बनाउन तत्काल केही कानुन सुधार गर्नैपर्ने आवश्यकता रहेकाले सरकारले अध्यादेश ल्याएको गृहमन्त्रीले बैठकमा जानकारी गराएको घिमिरेले जानकारी दिए ।
प्रमुख सचेतक घिमिरेले बैठकमा संसद्मा प्रस्तुत हुने विधेयक, अध्यादेश तथा आउँदै गरेका विधेयकबारे गहन छलफल भएको बताए । उनका अनुसार छलफलमा कृषिमन्त्री रामनाथ अधिकारी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि आआफ्ना मन्त्रालयका कार्यप्रगतिबारे जानकारी गराएका थिए ।