२०३९ सालको एसएलसी परीक्षाको नतिजा २०४० साल साउनको पहिलो हप्तामा भए जस्तो लाग्छ। एसएलसी परीक्षाको नतिजा पश्चात् कानुन विषय पढाउने उद्देश्यले पिताजीले मलाई २०४० भदौ ३ गते काठमाडौंका लागि प्रस्थान गर्ने क्रममा जन्मथलो रोल्पाको खुंग्रीबाट बिहानै हिंड्यौं बाउ-छोरा।
आफूले ८ देखि १० कक्षासम्म अध्ययन गरेको प्यूठानको भिंग्रीस्थित अमर माध्यमिक विद्यालयमा आउँदा नौ बजिसकेको थियो। विद्यालयमा गएर लब्धाङ्कपत्र र स्थानान्तरण प्रमाणपत्र लिन जानुअघि पिताजीको भाञ्जीदिदीको घर भएको जारी भन्ने ठाउँमा गएर खाना खायौं। खाना खाइसकेर लब्धाङ्कपत्र र स्थानान्तरण प्रमाणपत्र लिन विद्यालयमा पस्यौं।
रोल्पाको खुंग्रीबाट आएर प्यूठानको भिंग्रीस्थित अमर माध्यमिक विद्यालयबाट एसएलसीमा उत्तीर्ण हुनेहरूको संख्या उल्लेख्य थियो। त्यसअघि हाम्रो गाउँका एसएलसी परीक्षा उत्तीर्ण गर्ने एकजना मात्र हुनुहुन्थ्यो। हाम्रो गाउँका परीक्षार्थी धेरै उत्तीर्ण हुँदा विद्यालय परिवार खुशी देखिन्थ्यो। त्यसबखतसम्म रोल्पा केन्द्रबाट भने एक–दुई जना मात्र उत्तीर्ण हुन्थे। भिंग्रीबाट बाह्रबजेतिर प्रस्थान गर्यौं काठमाडौंका लागि, तर बास बस्नुपर्यो प्यूठानकै नयाँगाउँ भन्ने ठाउँमा। नयाँगाउँबाट भोलिपल्ट बिहानै पैदलै हिंड्यौं र अरङखोला-थक्लेनी-मोतिपुर हुँदै बड्डाँडा उक्लियौं।
त्यसबखत बड्डाँडामा एउटा चियापसल र एउटा किराना पसल मात्र थिए। चिउरी घ्यूका पोका, पिंडालु, अदुवा पसल बाहिर राखिएका देखिन्थे। सो ठाउँ उच्चलेकमा रहेकोले भदौको उखर्माउलो गर्मीको तापलाई बिर्साउन र थकाइ मार्न सहज भयो, ज्यानमा शीतलता महसुस भइरहेको थियो। एकछिन चिया पिएपछि भालुबाङतर्फ लाग्यौं ओरालो झर्दै। मोटरबाटो कतै खनिंदै थियो भने कतै खन्न बाँकी देखिन्थ्यो। तथापि २०३५ सालमै मेरो जन्मथलो रोल्पाको खुंग्रीमा जीप र मोटरसाइकल पुगिसकेको थियो।
बिहानदेखिको हिँडाइको थकाइले गर्दा भोक लागेपछि भालुबाङ नपुग्दै वरै ददेरी भन्ने ठाउँमा पुगेर एउटा होटलमा हामीले खाना खायौँ र हिँड्दै भालुबाङसम्म पुग्यौँ, ज्यान निकै थाकेको थियो। भालुबाङ आइपुगेर भदौ अर्थात् बर्खाको उर्लँदो राप्ती नदीमा काठको डुंगा चढ्यौँ। डुंगाले पाँच सेकेण्डमै वारिबाट पारि पुर्याउँदा मलाई अचम्म लागेको थियो। डुंगा राप्तीको बीचमा पुगेपछि डर–डर पनि लागेको थियो। त्यसपछि कालाकाँटे हुँदै वनकस पुगेपछि बुटवल जाने बस कुरेर बस्यौँ। बस आएपछि हामी बस चढेर बुटवलतर्फ लाग्यौँ र बुटवलमा चिया-नास्ता गरेर बेलुकी काठमाडौँका लागि बस चढ्यौँ। थकाइले गर्दा होला बसमा यात्रा गर्दा निद्रा मजाले लागेको थियो। बस गुड्दैगर्दा कुन बेला कुन ठाउँ आयो भन्ने हेक्का थिएन हामी बाउ-छोरालाई।
जिन्दगीमा पहिलोपटक बस चढेको अनुभव सँगालें। भदौ ५ गते बिहान १ बजेको थियो होला नारायणगढमा हामी चढेको बस रोकियो, मुगलिनमा पनि एकछिन रोकियो। ब्युँझिएर बाहिर हेरें, होटलको साइनबोर्डमा मुगलिन, चितवन लेखिएको देखें। मुलिनको नाम मैले रेडियो नेपालबाट कुनै गीतमा पहिल्यै सुनेको थिएँ। त्यहाँ १०/१२ वटा होटल र पसल मात्र देखिन्थे। नौबिसे आएपछि फेरि ब्युझिएँ, बसभित्र रंगीन बत्ती बालिएको थियो।
“काठमाडौं कस्तो होला?” भन्ने कौतूहल थियो मनमा। उज्यालो भएपछि थानकोट आयो, त्यहाँ चेकपोष्ट रहेछ। प्रहरीले गाडी चेक गरेर छोडिदिए। हामी बसबाट थापाथलीमा झरे जस्तो लाग्छ। काठमाडौँमा त्यतिबेला व्यवस्थित बसपार्क भए जस्तो लाग्दैनथ्यो। पिताजीले पाटनढोका नजिक चाकुपाट भन्ने ठाउँमा लैजानुभयो, जहाँ उहाँका मित्रको निवास थियो। नुहाइधुवाइ गरेर खाना खाएर कानुन पढ्नको लागि भर्ना हुन नेपाल ल क्याम्पस, भृकुटीमण्डपमा गयौं।
दुर्भाग्यवश अघिल्लो दिनमै फारम भर्ने म्याद सकिएको रहेछ। भर्नाका लागि अरु प्रयास पनि गरिए, भनसुनले पनि काम गरेन। मान्छेको कोलाहल र गाडीको ताँती हेर्दै चाकुपाट फर्कियौं- पिताजीका मित्रको निवासमा, जहाँ उहाँका ९ जनाको परिवारको दैनिकी चल्थ्यो। उहाँका सात छोरीहरूमध्ये अन्तिमका तीन साना छोरीहरूलाई मैले उहाँको घरमै पढाउने काम गर्न थालें।
एक महिनापछि अर्थात् २०४० असोज ९ गतेदेखि मैले आइ.कम. को पहिलो वर्षको कक्षा सुरु गरें ललितपुरको लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पसमा। साढे नौ बजे कक्षा सकिएपछि त्यसैदिन दश बजेदेखि कार्यालयमा हाजिर भएँ। हाजिर भएको केही दिनअघि मैले वीरगंज चिनी कारखाना लिमिटेडको काठमाडौँ कार्यालयमा क्लर्क पदको जागिरमा नियुक्ति पाएको थिएँ। पुतलीसडकस्थित इञ्जिनियर नारायण कसजूको घरमा रहेको उक्त कार्यालय तेस्रो तलामा थियो।
पाँचवटा कोठा भएको एउटा फ्ल्याटको भाडा जम्मा चौध सय रुपैयाँ थियो। मेरो तलब भने महिनाको तीनसय थियो। त्यतिबेला काठमाडौँमा रोल्पालीहरूको संख्या मुस्किलले पाँच सात जना थियो। रोल्पालीहरू खासै भेटिदैनथे।
पहिलो महिनाको तलब रमाइलो मेलामा स्वाहा
पाण्डव सुनुवारसँग सम्पर्कमा आउन चिठ्ठा परे झैं हुन्थ्यो। एकदिन सौभाग्यवश मेरो पहिलो फोन लागिहाल्यो। सुनुवारसँग केहीबेरको गन्थनपछि अनुरोध अनुसार त्यही गीत बज्यो– “एकैनजरमा माया बस्यो है लुकिछिपी हेरिदिनाले……।”
जीवनमा पहिलो पटक जागिरको अनुभव गर्दै, सिक्दैथिएँ। माथिल्लो तहका कर्मचारीहरूबाट मलाई सिकाइँदै थियो। कार्यालय व्यवस्थापन, दर्ता-चलानी, टिप्पणी आदिआदिका सम्बन्धमा सिक्दैथिएँ। असोज नौ गतेदेखि शुरु भएको जागिर भएको हुँदा पूरा महिनाको तलब पाउने कुरा थिएन। तलब वापत २७० रुपैयाँ बुझेर म अस्थायी बास चाकुपाटतर्फ लाग्दैथिएँ। बाटोमा रमाइलो मेलाको माइकिङ भइरहेको सुनें, के रहेछ भनेर भृकुटीमण्डपमा छिरें। मेला चलिरहेको थियो, कोही बालरेल चढिरहेका थिए, कोही रोटेपीङ खेलिरहेका थिए भने विभिन्न स्टलहरूमा थरीथरीका खेलहरू खेलाइएका थिए।
“यसरी खेलेमा यो जितिन्छ” भन्दै खेल खेलाउने व्यवसायीले भनेपछि “जितिन्छ कि क्या हो?” भनेर म पनि विभिन्न खेलहरू खेल्दै गएँ।
प्वालहरूमा बल छिराउने, साबुन र बिस्कुट लगायतका सामानमा रिङ छिराउने कोसिस गरियो, अन्तिममा चिठ्ठा पनि किनें। भृकुटीमण्डपको त्यो रमाइलो मेलाबाट बाहिरिएर गोजीको परीक्षण गर्दा मुस्किलले बसभाडा पुग्ने र दुई–चार रुपैयाँ मात्र बचेको थियो।
म आत्तिएँ पनि, “अब महिना कसरी गुजार्ने होला?” भनेर सोँच्दै रनभुल्लमा परेँ। मेलामा केही पनि जीत हात परेको थिएन। त्यतिबेला रत्नपार्कबाट पाटनढोकासम्मको बसभाडा तीस पैसा मात्र थियो। सहचालकले मुठीमा सिक्काहरू झिरिपझिरिप पार्दै भाडा माग्थे भने १, २ र ५ का नोटहरू दोब्र्याएर औंलाको कापमा राखेका हुन्थे।
बस चढेर अस्थायी बसोबास रहेको घरमा पुगेर तलब सकिएको कुरा बताएपछि मलाई “त्यस्तोमा फस्नुहुँदैन !” भनेर सम्झाइयो। भर्खरै अठार वर्ष नाघेको कच्चा किशोर न थिएँ।
एकदिन साथीहरूसँग सिनेमा हेर्न जाने कुरा भयो। त्यसअघि मैले कहिल्यै पनि सिनेमा हेरेको थिइनँ। सिनेमा हेर्नका लागि नयाँसडकको फसिकेवस्थित रञ्जना हलमा पुग्यौं। अघिल्लो सिटको लागि पचास पैसाको टिकट लाग्थ्यो। जसलाई तेस्रो श्रेणीको टिकट भनिन्थ्यो। त्यसपछाडिका सिटहरूलाई सेकेण्ड क्लास, फस्ट क्लास हुँदै सबैभन्दा पछाडि स्पेशल क्लास थियो भने माथिल्लो तलामा बाल्कोनी र ड्रेससर्कलका सिटहरू थिए। बाल्कोनी र ड्रेससर्कलका लागि टिकटको मूल्य धेरै थियो।
रञ्जना हलमा सिनेमा शुरु हुनुअघि सबै ढोकाहरू लगाएर हल अँध्यारो पारिएपछि मलाई निसास्सिए झैँ लागेको थियो। “किन अँध्यारो पारेको होला हललाई?” भन्ने सोचेको थिएँ। भित्तामा रहेका पंखाहरूबाट हावा आइरहेको थियो। सिनेमाको नाम थियो- “खुदा कसम।” सिनेमा हेरिसकेर हामी लाग्यौँ कुपण्डोलतिर जहाँ मेरा केही साथीहरू बस्दथे। सिनेमा हेर्न नगएका एकजना साथीले मलाई सोधे- “कुन सिनेमा हेर्नुभयो?” मैले तत्कालै जवाफ दिएँ- “रञ्जना।”
साथीहरू हाँस्न थाले र भन्न थाले “त्यो त सिनेमा हलको नाम हो, सिनेमाको नाम पो सोधेको!” म एकछिन अक्क न बक्क परें। सँगै सिनेमा हेर्न गएका एक जनाले भने- “खुदा कसम।”
मैले हेरेको पहिलो नेपाली सिनेमा भने ‘जुनी’ हो। सिनेमामा एउटा गीत बजेको थियो- “तिमी गाउँलेहरू, न त खान जान्ने, न त लाउन जान्ने।” यो गीत खासमा गाउँलेलाई हेपेर रचिएको रहेछ। २०४१ सालमा अशोक सिनेमा हल पाटनढोकामा नेपाली सिनेमा ‘बाँसुरी’ हेरें। जसमा प्रायजसो दार्जीलिङका कलाकारहरूले अभिनय गरेका रहेछन्। त्यसपछि मैले नबुझे पनि हिन्दी सिनेमाहरू एकपछि अर्को हेर्दै र बुझ्दै गएँ। नेपाली सिनेमा ‘जीवन रेखा’, ‘सिन्दुर’ र ‘कान्छी’ राम्रा लागेका सिनेमा थिए।
ती सिनेमाहरू राम्रो लागेपछि दोहोर्याएर तेहेर्याएर पनि हेरेँ। बाटोमा कतै कतै अभिनेताहरू शिव श्रेष्ठ र भुवन केसीलाई देख्दा ठूलै उपलब्धि हासिल गरे झैं लाग्थ्यो। २०४१–४२ सालतिर हास्यअभिनेता हरिवंश आचार्यसँग परिचय र एकछिन कुराकानी मात्र भयो डिल्लीबजारको ओरालोमा रहेको नेपाल स्टक एक्सचेञ्जको कार्यालय परिसरमा। हाल केही सिनेकर्मीहरूसँग हेलमेल भैरहँदा नेपालमा कलाकारहरूलाई सरकारबाट खासै प्रोत्साहन दिननसकेको कुरा बुझिन्छ।
मेरो बैंसका कारण रेडियो नेपालबाट धेरै बज्ने गर्यो त्यो गीत
२०४४ सालतिरको कुरा हो म २३ वर्षको लक्का जवान थिएँ। एकदिन विश्वज्योति सिनेमा हलमा बिहानको शोको कुनै एक हिन्दी सिनेमा हेर्न हलमा प्रवेश गरें। कास्टिङ अघि खाली समयमा नेपाली गीत बजाइन्थ्यो। त्यसदिन “एकैनजरमा माया बस्यो है, लुकिछिपी हेरिदिनाले” बोलको गीत बज्यो।
मीठो शब्द, संगीत र स्वरले सजिएको त्यो गीत मलाई खुब मन पर्यो। जुन गीत मैले पहिला कहिल्यै पनि सुनेकै थिइनँ। त्यसताका वरिष्ठ गायक पाण्डव सुनुवारले रेडियो नेपालबाट ‘फोनइन’ कार्यक्रम सञ्चालन गर्ने गर्थे। शुक्रबारको दिन फोन गरेर अनुरोध गरिएको गीत सुन्ने कार्यक्रम थियो त्यो। फोनइनको रेकर्ड अघिल्लो दिनमा हुन्थ्यो।
पाण्डव सुनुवारसँग सम्पर्कमा आउन चिठ्ठा परे झैं हुन्थ्यो। एकदिन सौभाग्यवश मेरो पहिलो फोन लागिहाल्यो। सुनुवारसँग केहीबेरको गन्थनपछि अनुरोध अनुसार त्यही गीत बज्यो– “एकैनजरमा माया बस्यो है लुकिछिपी हेरिदिनाले……।” त्यो गीत पछिपछि धेरैको छनोटमा पर्यो। गीतलाई धेरैले फर्माइस गर्न थाले, फोनइनमै धेरै बज्यो। त्यसपछि रेडियो नेपालले नियमित रुपमा बजाइरहन थाल्यो।