८ माघ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले संचालन गरेको नगरस्तरीय छैठौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि रेसुङ्गा माध्यमिक विद्यालयले जितेको छ ।
जिल्ला सदरमुकाम तम्घासमा चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा रेसुङ्गा माविले १२ स्वर्ण, १० रजत तथा चार कांस्य पदकसहित राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेको रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख पन्थीले बताए ।
रेसुङ्गा माविले नगद १८ हजारसँगै राष्ट्रपति रनिङ्ग शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र पाँच कांस्यसहित सिद्धबाबा माध्यमिक दोस्रो तथा आठ स्वर्ण, सात रजत र १३ कांस्य पदकसहित महेन्द्र माध्यमिक विद्यालय तृतीय भएको छ ।
द्धितीय र तृतीय हुने विद्यालयले क्रमशः १३ र ९ हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको पन्थीले बताए ।
विजेतालाई पुरस्कार प्रदान गर्दै कार्यक्रमका जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले खेल क्षेत्रमा निकै फडको मारेको बताए ।
जिल्ला र राष्ट्रिय स्तरमा यस्ता खालका कार्यक्रमले नयाँ खेलाडी उत्पादन गर्न समेत मद्दत गर्ने खत्रीले बताए ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले नगरले खेलकुदको क्षेत्रमा निकै चासो दिएर कामहरु गर्दै आएको बताए ।
नगरले जिल्लाबाट राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने गरी लागिरहेको पन्थीले बताए ।