७ माघ, काठमाडौं । भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला टोलीको भव्य स्वागत गरिएको छ । विश्वकपमा उपविजेता बन्दै इतिहास रचेको नेपाली टोली सोमबार दिउँसो स्वदेश फर्किएको हो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य-सचिव टंकलाल घिसिङ, , युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदीप महर्जनलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे । नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजासहित टोलीको भव्य स्वागत गरिएको थियो ।
खो खो विश्वकप फाइनल हेर्न नयाँ दिल्ली नै पुगेका राखेप सदस्य-सचिव घिसिङ टिमभन्दा अगाडि नै काठमाडौं आइपुगेका थिए ।
हेमराज पनेरुको कप्तानीमा रहेको पुरुष टिम र सरस्वती कडायतको कप्तानीमा रहेको महिला टिमले उत्कृष्ट प्रदर्शन गर्दै खो खो विश्वकपको फाइनल पुगेको थियो । आइतबार भएको फाइनल खेलमा भने नेपालको दुवै टोली आयोजक भारतसँग पराजित भयाे।
पुरूषतर्फ नेपाल भारतसँग ५४-३६ ले पराजित हुँदा महिलातर्फ पनि भारतसँगै ७८-४० ले पराजित भएको थियो । कुनै पनि खेलको टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो नै पहिलो पटक हो ।
खो खो को महिला र पुरुष दुवै टोली फाइनल पुग्दै इतिहास रच्दा अहिले याे खेलको सबैतिर चर्चा भइरहेको छ ।