१ माघ, काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएर नियतवश नतिर्नेलाई केही समय दिए ऋण चुक्ता गर्छ भन्ने लागे ६ महिनासम्म कालोसूचीबाट हटाउन सकिने व्यवस्था भएको छ ।
नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरेको ‘एकीकृत निर्देशन, २०८१’ ले यस्तो व्यवस्था गरेको हो ।
लघुवित्त वित्तीय संस्थाले परिस्थितिवश ऋण नतिर्ने ऋणीहरूलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरे पनि यदि केही समय प्रदान गरे ऋणीले प्रयास गरी छोटो अवधिमा ऋण चुक्ता गर्छ भन्ने संस्थालाई लागे ६ महिनाका लागि कालोसूचीबाट हटाउने व्यवस्था गर्न सक्ने उक्त निर्देनमा उल्लेख छ ।
तर, ६ महिनाभित्र ऋण चुक्ता नगरे अनिवार्य रूपमा कालोसूचीमा समावेश गर्न केन्द्रलाई सिफारिस गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन छ ।
त्यस्तै राष्ट्र बैंकको निर्देशन अधीनमा रही कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गरेमा समेत सम्बन्धित संस्थाले ऋणीलाई कालोसूचीबाट हटाउन कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
त्यसबाहेक लघुवित्त वित्तीय संस्थाबाट ऋण लिई नतिर्ने ऋणीहरूलाई नियतपूर्वक ऋण नतिर्ने र परिस्थितिवश ऋण नतिर्ने गरी दुई वर्गमा वर्गीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।