Wednesday, January 8, 2025
घरसमाचारमहाधिवेशन टुङ्गो नलाग्दै कांग्रेसमा दौडधुप

महाधिवेशन टुङ्गो नलाग्दै कांग्रेसमा दौडधुप

२० पुस, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको समय टुंगो नलाग्दै पार्टी नेताहरूको जिल्ला दौडाहा भने सुरु भइसकेको छ । वर्तमान कार्यसमितिको अवधि तीन वर्ष पुग्दा नपुग्दै अर्को महाधिवेशन केन्द्रित भ्रमण र भेटघाटमा नेताहरू लागिसकेका छन् ।

क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य नसकी महाधिवेशन प्रक्रिया सुरु हुन सक्दैन । यसपटक विगतमा भन्दा क्रियाशील सदस्यता वितरण र नवीकरण छिटो सुरु भएको नेताहरू दाबी गर्छन् ।

नेताहरूका अनुसार केन्द्रबाट पठाइएको फर्महरू तल्लो तहले अड्काएर राख्दा नवीकरणले तीव्रता पाउन सकिरहेको छैन । सदस्यता व्यवस्थापन समितिले सदस्यता फर्म कुनै संरचनामा रोकिए केन्द्रबाट हस्तक्षेप गर्ने निर्णय पनि लिएको छ ।

महामन्त्री गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले चैत मसान्तभित्र नवीकरण सक्ने निर्णय लिएको छ । उक्त समितिका सदस्य प्रकाश स्नेही रसाइलीले चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण सक्ने निर्णय भएको जानकारी गराए ।

कांग्रेसले संशोधित विधानअनुसार नयाँ महाधिवेशन गर्ने तयारी गरेको छ । यद्यपि, विधान मस्यौदा समिति बनाउने निर्णय भएपनि गठन भने गरिएको छैन । २०८२ सालको मंसिरभित्र महाधिवशेन सम्भव नहुनेमा संस्थापन पक्षका नेताहरू ढुक्क देखिन्छन् ।

नेता गोपालमान श्रेष्ठ त चारवर्षे अवधिभित्र महाधिवेशन नहुने ठोकुवा गर्छन् । ‘अर्को मंसिरमा महाधिवेशन हुँदैन । २०८३ को मंसिरमा हुन्छ,’ उनले अनलाइनखबरसँग भने ।

मंगलबार नेता डा. शशांक कोइरालाले निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताए । ‘२०८४ सालमा आम निर्वाचन हुनेछ, त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो’ उनले भने, ‘होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ । निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्ने उनको तर्क थियो ।

महाधिवेशन प्रक्रिया सुरु हुन नसकेपनि नेताहरूको जिल्ला दौडाहाको गति भने बढेको छ । १५औं महाधिवेशन समयमा हुनुपर्ने माग उठाउँदै जिल्ला दौडाहामा निस्कनेमा नेता डा. शेखर कोइराला छन् । समयमा महाधिवेशनको मागलाई उनले जोडसँग उठाउन थालेका छन् ।

चार वर्षे अवधिभित्र महाधिवेशन हुँदा आगामी मंसिरभित्र महाधिवेशन हुनुपर्दछ । प्रतिकूल समयमा रहेको अवस्थामा एक वर्ष बढाउन सकिने विधानमा व्यवस्था छ । अर्को वर्ष महाधिवेशन नहुने आशंकामा रहेका कोइरालाले त्यही मुद्दा लिएर जिल्ला दौडाहामा छन् ।

कोइरालाले यही महिना मधेस, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका जिल्लाहरूको भ्रमण गरेका छन् । उनी सुनसरी, धनुषा, महोत्तरी, चितवन लगायत जिल्लाका कार्यक्रममा सहभागी भए ।

धनुषाको वीरेन्द्रबजारमा शेखर ।

सुदूरपश्चिमलाई ‘विशेष महत्व’ दिएका कोइरालाले त्यहाँ जिल्लाअनुसार छुट्टाछुट्टै भेटघाटहरू गरे । उनी ५ पुसमा सुदूरपश्चिम केन्द्रित हुने गरी धनगढी पुगेका थिए । तीन दिन धनगढीलाई मुकाम बनाएर कैलाली, अछाम, बझाङ, बैतडी, डोटी, कञ्चनपुरका नेता कार्यकर्तासँग संवाद गरेका थिए ।

सुदूरपश्चिम जाँदा कोइरालाले आफूसँगै केन्द्रीय तहका नेताहरूलाई पनि साथमा लगेका थिए । केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल, संघीय सांसदद्वय सञ्जय गौतम, हृदयराम थानी लगायत नेताहरू उनीसँगै सुदूरपश्चिम पुगेका थिए ।

सुदूरपश्चिममा सभापति शेरबहादुर देउवा पक्ष हाबी छ । संस्थापन पक्षको हालीमुहाली रहेको प्रदेश पुगेर कोइरालाले समयमा महाधिवेशन नहुने चिन्ता व्यक्त गरेका छन् । कोइरालाले देउवा पक्षका नेता कार्यकर्तासँग पनि भेटघाट गरेका थिए ।

कोइरालासँगै सुदूरपश्चिम पुगेका केन्द्रीय सदस्य पोखरेलले महाधिवेशन समयमै हुन्न कि भन्ने कार्यकर्तामा चिन्ता रहेको सुनाए । ‘विधान अनुसार पार्टी चलेन भन्ने चिन्ता थियोे । समयमा अधिवेशन भएन भने पार्टी सकिन्छ भन्नेहरू पनि थिए’ पोखरेलले भने, ‘पार्टी निजी गुठी जस्तो भएको गुनासो धेरैको थियो ।’

कोइराला पक्षले १८ मंसिरमा पालिका सभापतिहरूको भेला बोलाएको थियो । उक्त भेलामा पनि कोइरालाले महाधिवेशनकै विषय प्राथमिकताका साथ उठाएका थिए ।

विराटनगरमा पालिका सभापतिहरूको भेला गरेर कोइरालाले भने, ‘एउटा दबाब सिर्जना गर्नु जरूरी छ । … नत्र अधिवेशन हुने सम्भावना छैन ।’

जिल्ला भ्रमणको शृङ्खलालाई अर्का नेता एनपी साउदले पनि बढाएका छन् । १/२ महिनाको बीचमा नेता साउदले मधेसका चार र गण्डकी प्रदेशका दुई जिल्ला भ्रमण गरिसकेका छन् । बर्दियादेखि सुरु गरेर चितवनसम्म छिट्टै भ्रमण गर्ने योजना रहेको उनले साउदले सुनाए ।

आफ्नो भ्रमण महाधिवेशन लक्षित नभई संगठन सुदृढीकरणका लागि रहेको साउदले दाबी गरे । १५ औं महाधिवेशनमा महामन्त्रीको पदमा उम्मेदवार दिने चर्चा भए पनि साउदले अहिले नै बोल्ने अवस्था आइनसकेको बताउँछन् ।

साउद भन्छन्, ‘महाधिवेशनको तिथिमिति नतोकिकन यस बारेमा मैले निर्णय गरेको छैन । पहिले अधिवेशनको मिति तोकियोस्, त्यसपछि पार्टीका नेता र कार्यकर्तासँग छलफल हुन्छ ।’

 

नेतात्रय पुनः जुट्न थाले

नेपाली कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा क्रमशः डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको संवाद फेरि सुरु भएको छ ।

पार्टीभित्र वृहत एकता गर्ने र तीन नेताको समूहलाई दीर्घकालीन बनाउने भन्दै तत्कालीन समयमा सैद्धान्तिक समझदारी बनेको बताइएको थियो । १४ औं महाधिवेशन अघि एकले अर्कालाई सघाएर सभापतिमा एकल उम्मेदवार हुने दाबी गरेपनि फरक फरक कित्तामा उभिए ।

निधि र सिंहले सभापतिमा उम्मेदवार दिए भने कोइराला केन्द्रीय सदस्यको प्रतिस्पर्धी बने । दोस्रो चरणको मतदानमा निधि र सिंहले सभापतिमा शेरबहादुर देउवालाई सघाएका थिए । त्यसबेला तीन नेताले आ–आफ्नो निवासमा आलोपालो लञ्च मिटिङ गरेका थिए ।

गत असोजबाट तीन नेताहरू संवादको प्रक्रिया पुनः सुरु भएको छ । गत बुधबार उपप्रधानमन्त्री समेत रहेका प्रकाशमान सिंहले चाक्सीबारीमा निधि र कोइरालालाई बोलाए ।

सिंहका स्वकीय यूपी लामिछानेले विगतकै निरन्तरताको क्रममा लञ्च मिटिङ भइरहेको र भविष्यमा पनि हुने बताए । लामिछानेका अनुसार एक्लाएक्लै हिंडेर नहुने निर्क्यौल तीन नेताले गरेका छन् ।

तीन नेताको भेटबारे लामिछानेले भने, ‘एक्लाएक्लै हिंडेर हुँदैन । तीन जना एकताबद्ध हुने, अरुलाई जोड्दै जाने र पावर शेयरिङ गरेर मिलेर जानुपर्छ भन्ने कुरा भएको छ ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -