Sunday, January 12, 2025
घरसमाचारसिक्टाको डुडुवा नहर : निर्माण अलपत्र परेको ६ वर्षपछि नयाँ टेन्डर आह्वान

सिक्टाको डुडुवा नहर : निर्माण अलपत्र परेको ६ वर्षपछि नयाँ टेन्डर आह्वान

सिक्टा सिंचाइ आयोजना अन्तर्गतको डुडुवा शाखा नहर


१९ पुस, नेपालगञ्ज । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजना अन्तर्गतको डुडुवा शाखा नहर निर्माण अलपत्र परेको ६ वर्षपछि नयाँ टेण्डर आह्वान भएको छ ।

अर्थ मन्त्रालयबाट करिब २ अर्ब ५० करोड बजेट सुनिश्चितता भएपछि २ वटा प्याकेजमा ३६ महिनामा निर्माण सम्पन्न गर्ने गरी नयाँ टेण्डर आह्वान भएको हो । यो नहरबाट १६ हजार हेक्टर जग्गामा बाह्रैमास सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य छ ।

६ असार २०७३ सिक्टा सिंचाइ आयोजना र कोष्टल पप्पु जेभीबीच २०७३ असार १२ देखि काम सुरु गरी २०७५ पुस ४ सम्म पूरा गर्ने गरी ९८ करोड ८१ लाखमा ठेक्का सम्झौता भए पनि निर्माण अलपत्र परेको थियो । आयोजना र निर्माण व्यवसायी मुद्दा मामिलामा लागेपछि २८ चैत २०७४ देखि नहर निर्माणको काम ठप्प थियो ।

सिक्टा सिंचाइ आयोजनाको मूल नहरबाट १८ क्युमेक्स (१८ हजार लिटर प्रतिसेकेन्ड) पानी डुडुवा नहरमा खसालेर २३ किलोमिटर लामो डडुवा शाखा नहर र उपशाखा नहर निर्माण गरी सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । यो नहर बनेपछि बाँकेको नेपालगञ्ज, जानकी, खजुरा र डडुवा गाउँपालिकाको करिब १६ हजार हेक्टर जग्गामा बाह्रैमास सिंचाइ सुविधा विस्तार हुने आयोजनाका प्रमुख राजु आचार्य बताउँछन् ।

सिक्टाको मूल नहरबाट डुडुवा शाखा नहरको मुहानसम्म नियमित रुपमा पानी सञ्चालन भइरहेका कारण अब डुडुवा नहर निर्माण पूरा भए सुख्खा र खडेरीको मारमा परेका किसानहरुलाई राहत मिल्ने विश्वास छ । सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता संघका अध्यक्ष शालिकराम डाँगीले सिंचाइ सुविधा उपलब्ध भएपछि किसानहरुले बाह्रैमास खेती किसानीबाटै राम्रो आम्दानी गर्नसक्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे ।

महेन्द्रकालीन नहर

बाँकेको खेतीयोग्य उर्बर जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले २०१६/०१७ सालमा डुडुवा नहर निर्माणको काम सुरु भएको थियो ।  भारत सरकारको सहयोगमा डुडुवा खोलामा निर्माण गरिएको बाँधको १९ फागुन २०२० मा राजा महेन्द्रले उद्घाटन गरेका थिए । बाँध निर्माण भएसँगै २०२६ सालसम्म डुडुवा नहर विस्तार गरिएको थियो । डुडुवा खोलामा हिउँदमा मुस्किलले करिब ४ क्युमेक्स मात्रै पानी बग्थ्यो । त्यहि पानी ल्याएर हिउँदमा २ हजार हेक्टर र वर्षायाममा ५ हजार हेक्टरसम्म सिँचाइ सुविधा पुर्‍याइएको थियो ।

पानीको स्रोत कम भएका कारण सिंचाइ सुविधा विस्तार हुन  नसकेको १३/१४ हजार हेक्टर जमिनमा राप्ती नदीबाट पानी ल्याएर सिंचाइ सुविधा पुर्‍याउन २०३०/३१ मा अध्ययन सुरु गरिएको थियो । अध्ययन र लगानीका लागि स्रोतको व्यवस्थापनका बिभिन्न चरण पूरा गरेर २०६२/०६३ मा सिक्टा नहर निर्माण सुरु भएको थियो ।

सिक्टा नहरको निर्माण सुरु भएको करिब १६ वर्षपछि सिक्टाको मुल नहरबाट १८ क्युमेक्स (हजार लिटर प्रति–सेकेन्ड)पानी डुडुवा नहरमा खसालेर १६ हजार हेक्टरमै सिंचाइ सुविधा बिस्तार गर्ने उद्देश्यले डुडुवा नहर निर्माणका लागि दोस्रो पटक पुस १ गते टेण्डर आह्वान भएको हो ।

साबिकको इन्द्रपुर गाउँ विकास समितिका उपाध्यक्ष समेत रहेका अगुवा किसान तुल्सीराम शुक्ला भन्छन्, ‘लामो समयदेखि अलपत्र डुडुवा नहर निर्माणका लागि पुनः टेन्डर आह्वान भएको खबरले २०१७ सालदेखिको सपना पूरा हुने विश्वास बढेको छ ।’

वर्षमा मुस्किलले दुई बाली खेती गर्दै आएका शुक्ला भन्छन्, ‘सुख्खा र खडेरीले खेतबारी बाँझो राखेर इन्डियाबाट दाल, चामल र तरकारी किनेर खानु पर्ने अवस्था अन्त्य हुने आशा जागेको छ ।’

सिक्टा नहरको बाँध र मूल नहर निर्माण सम्पन्न भएको पाँच वर्ष बितिसक्दा पनि डुडुवा शाखा नहर निर्माण नहँदा राप्ती नदीबाट डुडुवा शाखा नहरसम्म पुराइएको पानी करिब चार वर्षदेखि त्यतिकै खेर गइरहेको छ ।

लागत वृद्धि

डुडुवा नहर निर्माण गर्दा पछिल्ला आठ/नौ वर्षमा बढेको मूल्य वृद्धिका कारण लागत बढ्ने निश्चित छ । आयोजनाका अनुसार, पहिलोपटक डडुवा नहरको लागत इष्टिमेट १ अर्ब ९१ करोड थियो । कोष्टल पप्पु जेभीले ३७ दशमलब ३९ प्रतिशत कम दरमा ठेक्का सम्झौता गरेको थियो ।

आठ वर्षअघिको लागत इष्टिमेटलाई हालको जिल्ला दर रेटको आधारमा हिसाब गर्दा लागत इष्टिमेटको रकम वृद्धि भई करिब २ अर्ब ५० करोड पुगेको छ । जुन पहिलाको भन्दा ५९ करोड बढी हो । झन्डै एक दशकको अवधिमा नहर क्षेत्रको स्वरुप पनि फेरबदल भएको छ ।

सिक्टा सिंचाइ आयोजनाकव् मूल नहर

नहरको जग्गा अतिक्रमण गरेर पुल, कल्भर्ट, घर–टहरा र पर्खाल निर्माण गरिएको छ । नहरको दायाँ–बायाँको जग्गा नै अतिक्रमणमा परेको छ । ती संरचना भत्काउँदा स्वतः लागत बढ्ने आयोजना प्रमुख आचार्यले बताए ।

त्यहाँका किसान, जनप्रतिनिधि र नागरिक समाजका अगुवाहरुसँग समन्वय र सहकार्य गरेर नहर निर्माणको कामलाई तीव्रता दिइने आयोजना प्रमुख आचार्यले बताए ।

प्लटिङले खेतीयोग्य जमिन खुम्चियो

सिञ्चित क्षेत्र भनी छुट्टाइएको क्षेत्रमा पनि प्लटिङ हुने क्रम बढ्दै गएको छ । आयोजना सम्पन्न हुन ढिलाइ हुँदा सिञ्चित क्षेत्र घटेर अपेक्षा गरेअनुसार लाभ नहुने जोखिम बढेको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार बाँके जिल्लामा पछिल्ला १० वर्षमा २१ हजार ४ सय १६ घर धुरी थपिएका छन् ।

औसतमा एउटा घर धुरी थपिँदा १ कठ्ठा जग्गा प्रयोग भए पनि यो अवधिमा करिब ७ सय १३ हेक्टर सिँचाइयोग्य जमिन घट्दा डुडुवाबाट सिञ्चित हुने क्षेत्र पनि करिब २ सय ५० हेक्टर घटेको अनुमान छ ।

प्लटिङ भएको तर घर जग्गा बनिनसकेको जग्गा पनि बाँके जिल्लाभरमा करिब ३ देखि ४ सय हेक्टरसम्म भएको अनुमान घरजग्गा व्यवसायीहरूको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -