घटना हेर्दा क्षणिक जस्तो देखिन्छ तर उनीहरूले योजनाबद्ध रुपमा हत्या गरिरहेका हुन्छन् । मनोचिकित्सकका अनुसार मानिस आफ्नो समस्यालाई मार्न खोज्दा परिवारकै हत्या गर्न उन्मुख हुन्छ ।
घटना–१
भक्तपुर, बालकोटको डेरामा मासुभात खाएर सुतेका थिए, बुवा कुलप्रसाद आचार्य र दुई छोरा मिलन र प्रवीण ।
तर भोलिपल्ट बिहान बुवा कुलप्रसाद र कान्छो छोरा प्रवीण मृत भेटिए भने मिलन बेपत्ता थिए । सबैकुरा ठिकठाक देखिएका यी बाबुछोराबीच त्यस रात के भयो, जसले यति वीभत्स घटना घट्न पुग्यो ?
प्रहरीले यो प्रश्नलाई त्यति लामो पछ्याउनु परेन । किनभने हत्याको केही समय बित्न नपाउँदै महाराजगञ्ज प्रहरी वृत्तमा पुगेर मिलनले आफूलाई हत्याराको रुपमा पेश गरे । त्यहाँ उनले बुवा र भाइको योजनाबद्ध हत्या गरेर आफूसमेत आत्महत्याको प्रयास गरेको खुलासा गरे ।
आखिर उनी किन यस्तो कृत्य गर्न उक्सिए ?
घटना–२
२०८० जेठ, मध्यरात । ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती, तीन छोरी सुप्रिया, समृद्धि अनि सुहानीमाथि पेट्रोल छर्किए र आगो सल्काइदिए । आगोमा जलेर सुप्रिया र समृद्धिको ज्यान गयो । श्रीमती बिन्दु र सानी छोरी सुहानी नराम्ररी घाइते भए ।
त्यस रात चञ्चलबहादुर रक्सीले टिल्ल थिए । घर पुग्दा भात नपाएको झोंकमा उनले परिवारमाथि नै आगो लगाइदिएको बताए । के यति भयानक कृत्य क्षणिक आवेगकै नतिजा थियो ? वा अरु केही ?
घटना–३
२०७८ भदौ । बिहानै एउटा सनसनीपूर्ण खबर फैलियो- ‘संखुवासभाको मादीमा एकै परिवारको वीभत्स हत्या ।’
तेजबहादुर कार्की, उनकी श्रीमती कमला, बुहारी रन्जनालाई खेतमा लखेटी–लखेटी चिपर्टले हिर्काएर हत्या गरिएको थियो । त्यति मात्र होइन, रन्जनाका दुई नाबालक सन्तान र ९२ वर्षकी हजुरआमा पार्वतीको समेत उसैगरी हत्या भयो ।
यति डरलाग्दो हत्याकाण्ड मच्चाउने अरु कोही नभई तेजबहादुरका भतिजा लोकबहादुर थिए । त्यस्तो के रिसइवी थियो, जसले उनलाई एउटा परिवार नै सिध्याउन उक्सायो ?
****
यी प्रतिनिधि घटना हुन्, जसले समाजमा पारिवारिक हत्याको भयानक कुरुप तस्वीर देखाइदिन्छ । सतहमा केलाउँदा यी घटना फगत ‘अपराध’सँग जोडिन्छ । तर यसको अन्तर्यमा अपराध मात्र छैन । बरु दबाब, बदला, प्रतिस्पर्धा, ग्लानि, असुरक्षा आदिका कारण उत्पन्न मानसिक विचलनको ग्राफ समाजमा कसरी बढ्दैछ र त्यसले कुन हद पार गरिसकेको छ भन्ने औंल्याउँछ । यसलाई मनोसामाजिक चस्माबाट हेर्दा बढी छर्लङ्ग देख्न सकिने क्लिनिक चिकित्सक डा. विजय ज्ञवाली बताउँछन् ।
जस्तो घटना–१ को सन्दर्भमा डा. ज्ञवालीको सटिक टिप्पणी छ, ‘सो व्यक्तिले बुवा र भाइलाई होइन, आफ्नो समस्यालाई सिध्याउन खोजेका हुन् ।’ ससर्ती हेर्दा यस्ता घटना क्षणिक आवेगको नतिजा जस्तो देखिन्छ । यद्यपि त्यसका पछाडि अनेक परिस्थितिहरुले काम गरेको हुने उनी बताउँछन् ।
‘तनाव दिने कारण के वा को हुन् ? त्यसलाई आफ्नो बाटोबाट पन्छाउन सके सबै समस्या हल हुन्छ भन्ने सोचाइ आउँछ,’ डा. ज्ञवाली भन्छन्, ‘मान्छेले आफ्नो परिवार भन्दा पनि आफ्नो समस्या मार्न खोजेका हुन् ।’
खोटाङ स्थायी घर भएका मिलन ‘लोकसेवा आयोग पास गरेर जागिर खानैपर्ने’ मानसिक दबाबमा थिए । उनले प्रहरीलाई दिएको बयानबाट के थाहा हुन्छ भने मिलनले पटक-पटक लोक सेवा आयोगको परीक्षा दिए तर फेल भए ।
‘जति प्रयास गर्दा पनि असफल भएपछि त्यसले परिवारको अपेक्षा पूरा गर्न नसकेको, आमाबुवाको मन दुखेको, गाउँ–समाजमा मुख देखाउन गाह्रो भएको ठानेर उनमा ग्लानिभाव बढेर गयो,’ डा. ज्ञवाली भन्छन्, ‘त्यही ग्लानिभावले उनलाई अपराधकर्ममा डोर्याएको हुनसक्छ ।’
त्यसो त उनले प्रहरी समक्ष आत्मसमर्पण गर्दै यसो भनेका रहेछन्- ‘सबैलाई तनाव दिएर बाँच्नुभन्दा नबाँचेकै राम्रो ।’
यसैगरी घटना–३ मा हीनताबोध र बदलाको भावना देखिने मनोविज्ञहरु बताउँछन् । जस्तो, वैदेशिक रोजगारीबाट रित्तो हात फर्किएका लोकबहादुर आफैंमा डिप्रेसनको औषधि खाइरहेका थिए । आफ्नी प्रेमिका अर्कैसँग बिहे गरेको, विदेश जाँदा ऋण लागेको पीडा उनीसँग छँदै थियो । त्यसमाथि ठूलोबुवा पर्ने तेजबहादुरले आफूलाई बारम्बार ‘पागल’ र ‘काम नलाग्ने’ भन्ने गरेको उनले बताएका छन् ।
एक वर्षअघि आमाको मृत्यु भएको घटनामा षड्यन्त्र भएको शंका र ३५ हजार रुपैयाँको ऋणमा ब्याज थपिएका कारण उनको मनमा तेजबहादुरप्रति घृणा बढ्दै गएको र योजनाबद्ध हत्या गरेको प्रहरीसमक्ष बयानमा उनले बताएका थिए ।
कोही किन परिवार नै सिध्याउन उद्दत हुन्छन् ?
जीवनप्रति नै वितृष्णा उत्पन्न हुँदा मानिस हत्या र आत्महत्यातर्फ उन्मुख हुन्छ । हत्याको धेरैजसो कारण मानसिक समस्यासँग जोडिएको हुन्छ । सामाजिक, आर्थिक, पारिवारिक लगायत बहुआयामिक पक्ष पनि हत्यासँग जोडिन्छ ।
डा. ज्ञवालीका अनुसार मानसिक समस्याको उत्पत्ति हुनुमा पारिवारिक वातावरणको महत्वपूर्ण भूमिका रहन्छ । अध्ययनहरूले देखाए अनुसार मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिमध्ये १ देखि ३ प्रतिशत गम्भीर अवस्थामा पुग्छन् ।
चिकित्सकका अनुसार हत्या घटना हेर्दा क्षणिक जस्तो देखिन्छ । तर उनीहरूले योजनाबद्ध रुपमा हत्या गरिरहेका हुन्छन् । डा. ज्ञवालीका अनुसार मानिस आफ्नो समस्यालाई मार्न खोज्दा नै परिवारकै हत्या गर्न उन्मुख हुन्छ ।
‘परिवारले दिएको दबाबकै कारण उनीहरुले समस्यालाई मार्न खोज्छन्,’ उनी भन्छन्, ‘तनाव दिने मानिसलाई बाटोबाटै हटाएपछि सबै सकिन्छ भन्ने उनीहरूको बुझाइ बन्छ ।’
डा. ज्ञवाली थप्छन्, ‘यस्ता व्यक्तिहरूले आफ्नो समस्याको मूल कारणको रूपमा परिवारलाई देख्न थाल्छन् । आफ्नो समस्यालाई मार्न खोज्दा यस्ता घटना घट्ने हुन्छन् ।’
यस्तै मनोरोग विशेषज्ञ डा. सगुनबल्लभ पन्त परिवारका सदस्यबीच मानसिक स्वास्थ्यको बारेमा अनभिज्ञता हुँदा यस्ता घट्ने गरेको बताउँछन् । परिवारकै हत्यासँग बहुआयामिक पक्ष हुन्छ । सबै हत्या आवेगमा मात्र हुँदैन, केही योजनाबद्ध हुन्छन् । आवेगमा हुने आत्महत्या मिनेट, घण्टादेखि एक दिनभित्रमा हुनसक्छ । योजनाबद्ध आत्महत्या भने दिन, हप्ता र महिनौंसम्म योजना बनाएर हुन्छ ।
आजभोलि मानिसको तनावपूर्ण जीवन नै मानसिक रोगको मुख्य कारण बनेको छ ।
‘आफूमा आएको तनाव बहन गर्न नसकेको अवस्थामा कतिपय मानिस कडा मानसिक रोगको सिकार बन्न पुग्छन्,’ डा. पन्त भन्छन्, ‘मिलन आचार्यमा त्यही भएको देखियो । पारिवारिक संरचना विखण्डन भएका कारणले यस्ता घटना भइरहेको छ ।’
डा. पन्तका अनुसार मानसिक स्वास्थ्यको बारेमा अझै पनि नेपाली समाजमा खुलेर छलफल गर्ने परिपाटी छैन । जसकारण दुर्घटना भइसकेपछि मात्रै समस्या बाहिर आउँछ । आर्थिक पक्षका कारण नै सामूहिक आत्महत्या, हत्या हुने गरेको डा. पन्त बताउँछन् ।
‘आफू बितेपछि परिवारको बिचल्ली नहोस् भनेर नै आफूसँगै मार्न योजना बनाउँछन्,’ उनी भन्छन्, ‘आर्थिक संकटले गर्दा पनि यस्ता घटना बढी हुने भएको देखिन्छ ।’
आधुनिकीकरण र परिवार तथा समाजभित्र आत्मीयता घट्दै गएकाले परिवारभित्रका कलहहरु हत्या र आत्महत्यासम्म पुग्ने गरेका छन् ।
‘हत्या गर्ने मानिसले अन्य मानिसलाई शंकाको केन्द्रमा राख्ने गर्छन् । परिवारका सदस्यले षड्यन्त्र गरेर मार्न खोजे, हेपे वा सानो देखारहेका छन् भनेर क्रोधमा रहन्छन्,’ डा. पन्त भन्छन्, ‘मलाई नै बर्बाद गर्न खोज्नेलाई सकाइदिन्छु भन्ने मानसिकताले यस्ता घटना गराउँछन् ।’
मनोचिकित्सकका अनुसार परिवारका सदस्यलाई सिध्याउने सोचको अवधि यति नै हुन्छ भन्ने हुँदैन । त्यो कुरा व्यक्तिको व्यक्तित्व, मनोसामाजिक अवस्था र जीवनशैलीले निर्धारण गर्छ । रक्सी र लागूपदार्थ खाएका बेला पनि मान्छेले आफ्नो आवेगलाई सन्तुलित राख्न सक्दैन । अर्को ‘साइकोप्याथ’ भएका व्यक्तिले घरपरिवार, माया, प्रेम र सम्मान केही पनि बुझ्दैन ।
मनोविद् पदम जोशी बालबालिकाको मानसिक स्वास्थ्य र अपराधिक प्रवृत्तिबीचको सम्बन्ध गहिरो रहेको बताउँछन् । अभिभावक र बालबालिकाबीचको बढ्दो दूरी आजको प्रमुख समस्या बन्न पुगेको छ । अभिभावकले आफ्ना बालबालिकाको क्षमता र चाहनालाई बुझ्न नसक्दा, एकोहोरो अपेक्षा र दबाबले गर्दा बालबालिकामा मानसिक तनाव बढ्दै गएको छ ।
यस्तो अवस्थामा बालबालिकाले आफ्ना भावना र समस्या कसैसँग बाँड्न नपाउँदा उनीहरू क्रमशः एक्लो र निराश हुँदै जाने जोशी बताउँछन् ।
उनका अनुसार घरपरिवारभित्रैबाट हुने अपराधको दर बढ्नु चिन्ताजनक छ । विशेषगरी आवेशजन्य अपराधहरूको संख्या बढ्दै गएको छ । जहाँ व्यक्तिले पूर्व योजना बिना नै आवेगमा आएर अपराध गर्छ र पछि पश्चाताप गर्छ । यस्ता घटना प्रायः मानसिक स्वास्थ्य समस्यासँग जोडिएका हुन्छन् ।
जोशी नेपालमा बालबालिकाको मानसिक स्वास्थ्य र पारिवारिक सम्बन्धको बिग्रिंदो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्छन् । उनले बालबालिकामा बढ्दो अपराधिक प्रवृत्तिको मूल कारण अभिभावक र बालबालिकाबीचको सम्बन्धमा देखिएको खाडल रहेको बताउँछन् ।
‘अभिभावकहरू आफ्ना बालबालिकाको मानसिक स्वास्थ्यप्रति सचेत छैनन्,’ जोशी भन्छन् । उनका अनुसार अभिभावकले बालबालिकाको व्यक्तिगत क्षमता र सोचाइलाई बुझ्ने प्रयास नै नगरी एकोहोरो अपेक्षा राख्ने गरेका छन् ।
विशेषज्ञका अनुसार अभिभावकको एकोहोरो अपेक्षाले बालबालिकामा मानसिक दबाब, पारिवारिक अपेक्षा पूरा गर्न नसकेको चिन्ता, परिवारसँगको सम्बन्धमा दूरी, गलत बाटो रोज्ने प्रवृत्ति बढ्दैछन् ।
जोशीका अनुसार बालबालिकामा आपराधिक प्रवृत्ति बढ्नु कारणमा अभिभावकसँग समन्वय गर्ने वातावरणको अभाव, दबाब र पीडा व्यक्त गर्न नसक्ने अवस्था, क्रमिक रूपमा बढ्दै जाने नैराश्यता, असामाजिक व्यक्तित्वको विकास हुन्छ ।
‘कतिपय घटना आर्थिक कारोबार, अपेक्षा पूरा गर्न नसक्दा, तनाव र समस्या सिर्जना भएपछि समाधानका लागि सकरात्मक पहल गर्नुको साटो आवेगमा हुने निर्णयले यस्ता अप्रिय घटना घरपरिवारभित्रै हुन थालेका छन्,’ जोशी भन्छन्, ‘यस्ता घटना योजनाबद्ध हुने र यसले समाजमा व्यापक नैराश्यता रहेको संकेत गर्छ ।’
मनोचिकित्सक तथा अनुसन्धानकर्ता डा. ऋषभ कोइराला नेपालमा बढ्दै गएको सामूहिक आत्महत्याको पाटो गम्भीर रहेको बताउँछन् ।
उनका अनुसार यस्तो अवस्थामा व्यक्तिले आफ्नो जीवनमा शान्ति र सुखको कुनै सम्भावना नदेख्ने मात्र होइन, आफूसँग सम्बन्धित व्यक्तिको भविष्य पनि अन्धकार देख्छ । विगतदेखि नै आमाहरूले आफ्ना बालबालिकासहित गरेका आत्महत्याका घटनाको मूल कारण यही मानसिक अवस्था हो ।
‘आफू नभए आफ्ना सन्तानको जीवन पनि बिग्रने र उनीहरूले दुःख भोग्नुपर्ने सोचले यस्ता घटना घट्छन्,’ डा. कोइराला भन्छन् ।
उनका अनुसार परिवारिक हिंसाका घटनामा व्यक्तित्व विकारको ठूलो भूमिका हुन्छ । यस्ता व्यक्तिमा रिसाहा प्रवृत्ति, आवेगमा निर्णय लिने, अरुप्रति संवेदनशीलताको कमी, आफ्नो समस्यालाई अत्यधिक महत्व दिने, समस्यासँग जुध्ने क्षमताको कमी हुन्छ ।
हिंसात्मक प्रवृत्तिका व्यक्तिमा बाल्यकालदेखि नै केही विशेष व्यवहार देखाउने गर्छन् । यस्ता व्यवहारमा जनावरप्रति क्रूरता, कीरा-फट्याङ्ग्रालाई यातना दिने, अन्य बालबालिकाप्रति आक्रामक व्यवहार समेत गर्छन् ।
‘हत्याका घटनाहरू नियोजित र मानसिक विचलनको परिणाम’
वंशाणुगत, मनोवैज्ञानिक र सामाजिक कारणले मानिसमा मानसिक समस्या सिर्जना हुन्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार ९५ प्रतिशत आत्महत्या, हत्या मानसिक समस्यासँग जोडिएका हुन्छन् । आर्थिक, सामाजिक, पारिवारिक, व्यक्तिगत लगायत तनावले कडा डिप्रेसन भएपछि मान्छेले हत्याको बाटो रोज्ने गर्छन् ।
आवेशमा आएर सामूहिक हत्या गरिसकेपछि हुने आत्महत्याको कारण तनाव, इज्जत र समाजको डरको कारणले गर्छन् । यस किसिमको घटना आवेग प्रेरित हुने भएकाले अपराध गरिसकेपछि कुनै योजना नहुने हुँदा पछुताएर आत्महत्या गर्ने गरेको मनोविद् बताउँछन् ।
प्रत्येक घटनाको कारण फरक–फरक हुनसक्ने भए पनि अभिभावकीय जिम्मेवारीको कमी मुख्य समस्याको रूपमा देखिएको छ ।
क्लिनिकल साइकोलोजिस्ट डा. विजय ज्ञवालीले हत्यापछि आत्महत्याका घटनाले सामाजिक ऐनालाई प्रतिविम्बित गरेको बताउँछन् ।
‘हत्या गरिसकेपछि अभियुक्तले आफूलाई सन्तुलनमा राख्न सक्दैन, आत्महत्या गर्छ वा कोसिस गर्छन्,’ डा. ज्ञवाली भन्छन्, ‘भविष्यको बाटो नदेख्दा पनि यस्ता खाले घटना हुन्छन् ।’ डा. ज्ञवालीका अनुसार समाजमा भइरहेको कुरालाई लिएर मनमै लिएर विचार निर्माण गर्ने र व्यवहारमा देखाउने गर्दा यस्तो घटना बाहिरिन थालेको छ ।
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता विश्व अधिकारीले पछिल्लो समय बढिरहेका हत्याका घटनाहरू नियोजित र मानसिक विचलनको परिणाम भएको बताए । प्रवक्ता अधिकारीले मानिस मार्नेसम्मको सोच एक प्रकारको मानसिक विकृति भएको औंल्याए ।
पारिवारिक कलह, क्षणिक आवेग र लागूपदार्थको सेवनका कारण घरभित्रैका सदस्यबाट हत्या हुने गरेको उनले बताए । ‘आर्थिक विपन्नता र पारिवारिक सम्बन्धमा आएको विचलनले यस्ता घटना बढिरहेका छन्,’ प्रवक्ता अधिकारीले भने ।
प्रवक्ता अधिकारीका अनुसार व्यक्तिवादी सोच र सामाजिक सञ्जालको बढ्दो प्रभावले पनि हत्याजस्ता जघन्य अपराध बढाएको छ । अरूको देखासिकी र अत्यधिक अपेक्षाले पारिवारिक सम्बन्धमा तनाव उत्पन्न हुने गरेको उनले बताए । यस्ता कारणले उत्पन्न परिस्थितिमा मानिसहरू हत्यासम्म गर्न पुग्ने गरेको उनको विश्लेषण छ ।
‘अभिभावकले छोराछोरीको गतिविधिमा ध्यान नदिँदा र सही–गलतको पहिचान नगराउँदा समाजमा विकृति बढ्दै गएको छ,’ अधिकारीले भने ।
उनका अनुसार प्रत्येक घटनाको कारण फरक–फरक हुनसक्ने भए पनि अभिभावकीय जिम्मेवारीको कमी मुख्य समस्याको रूपमा देखिएको छ ।
मानसिक स्वास्थ्य सचेतना जरुरी
नेपाली समाजमा बढ्दो मानसिक स्वास्थ्य समस्याले गम्भीर चुनौती सिर्जना गरेको छ । विशेषज्ञहरू मानसिक रोगको समयमै पहिचान र उपचारको आवश्यकतामा जोड दिन्छन् ।
‘कतिपयले यस्ता घटनालाई केवल अपराधको दृष्टिकोणबाट हेर्छन्,’ डा. ज्ञवाली भन्छन्, ‘तर यो मानसिक स्वास्थ्यसँग जोडिएको गम्भीर समस्या हो ।’
उनका अनुसार समयमै यसको समाधान नखोजिए भविष्यमा थप जटिल परिस्थिति सिर्जना हुनसक्छ । यसका लागि व्यापक जनचेतना, उपचार सुविधाको विस्तार र सामाजिक सहयोग आवश्यक रहेको विशेषज्ञहरूको सुझाव छ ।
यस्तै डा. सगुनबल्लभ पन्तका अनुसार अहिले युवापुस्तामा मानसिक समस्या व्यापक रूपमा बढ्दै जानुका विभिन्न कारणमध्ये वैदेशिक रोजगारी एउटा प्रमुख कारण हो ।
आफ्नै परिवारका सदस्यले कस्तो छ ? तिम्रो संघर्ष कस्तो भइरहेको छ ? भन्ने किसिमको सोध्ने परिपाटी कम छ । परिवारबीच नै कम्युनिकेसन ग्याप (संवादहीनता) हुँदा गुपचुपमा संघर्ष गरिरहेको हुन्छ । पढाइ, करिअरलाई लिएर धेरै मानिस गाँउबाट सहर, देशबाट विदेश गएका छन् । एक्लै वर्षौंसम्म संघर्ष गरिहेका छन् ।
‘फोनमा बोलेको दुई बोलीको अनुसार छोरा, छोरी ठीक छ भनेर अभिभावक ढुक्क भएर बसेका छन्,’ डा. पन्त भन्छन्, ‘दैनिक दिनचर्या, साथीसंगत के भइहेको छ भन्ने कुरा परिवार अनभिज्ञ छ ।’ सो अनभिज्ञताले गर्दा पारिवारिक संरचना विखण्डन भएका कारणले यस्ता घटना भइरहेको देखिन्छ ।
मनोचिकित्सकका अनुसार आत्महत्या वा हत्या गर्ने हरेक १० मध्ये ८ जनाले त्यसअघि कुनै न कुनै माध्यमबाट संकेत दिएका हुन्छन् । कसैले आत्महत्याबारे कुरा गरे, तरिकाहरूबारे सोधखोज गरे गम्भीर भइहाल्नुपर्ने डा. पन्त बताउँछन् ।
‘त्यस्तो बेला नजिकका मानिसले ध्यान नदिए परिणाम दुःखद् हुनसक्छ,’ उनी भन्छन् ।
मानसिक रोगको समयमै पहिचान र उपचारको आवश्यकता रहेको विज्ञहरु बताउँछन् ।
‘कतिपयले यस्ता घटनालाई केवल अपराधको दृष्टिकोणबाट हेर्छन्,’ जोशी भन्छन्, ‘तर यो मानसिक स्वास्थ्यसँग जोडिएको गम्भीर समस्या हो ।’
चिकित्सकका अनुसार आत्महत्या गर्नेले मन मिल्ने साथी, आफ्नो श्रीमान्, श्रीमती, परिवारसँग कुनै न कुनै रूपमा त्यसको संकेत गरेका हुन्छन् । त्यस्तो बेला गम्भीरतापूर्वक सुनेर, सहयोगी वातावरण बनाएर उसलाई त्यसबाट रोक्न सकिन्छ ।
सामूहिक आत्महत्या र परिवारिक हिंसाका घटना जटिल मनोवैज्ञानिक र सामाजिक समस्याको परिणाम हुन् । यसको समाधानका लागि व्यक्तिगत, पारिवारिक र सामाजिक स्तरमा मानसिक स्वास्थ्यमा जनचेतना अभिवृद्धि गर्नुपर्ने मनोविद् सुझाउँछन् ।
कसैले पटक–पटक निराशावादी कुरा गरिरहे, आत्महत्या, हत्या सोच पलाए वा त्यस्तो सोच विकास भएको संकेत पाए तत्काल ११६६ नम्बरमा फोन गरेर परामर्श लिन सकिन्छ ।