Saturday, January 4, 2025
घरसमाचारजब सुरु हुन्छ त्रिविमा नियुक्ति, अनि धर्ना थाल्छन् दलका विद्यार्थी

जब सुरु हुन्छ त्रिविमा नियुक्ति, अनि धर्ना थाल्छन् दलका विद्यार्थी

१७ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्ष अगाडि यतिबेला पाँचवटा विद्यार्थी संगठन धर्नामा छन् । त्यहीँ नजिकै अर्को कोठामा क्याम्पस प्रमुखका लागि छनौटमा परेका प्राध्यापकहरूको अन्तर्वार्ता चलिरहेको छ ।

‘एकातिर विद्यार्थी धर्नामा छन् । अर्को कोठामा क्याम्पस प्रमुखका लागि अन्तर्वार्ता चलिरहेको छ,’ रेक्टर कार्यालयका एक कर्मचारी सुनाउँछन्, ‘यसरी अन्तर्वार्ता र प्रस्तुति दिँदा शिक्षकको मनोविज्ञान कस्तो होला !’

बुधबार दिउँसो रेक्टर कार्यालयमा धर्नामा बसेका विद्यार्थीले अन्तर्वार्तामा आएका प्राध्यापकलाई बधाइ दिइरहेका थिए भने रेक्टर केसी धर्नामा बसेका विद्यार्थीलाई स्वास्थ्य लाभको कामना गरिरहेका थिए । ‘रेक्टर कार्यालयमा रोचक छ,’ अर्का एक कर्मचारी भन्छन् ।

१७ वटा क्याम्पसमा प्रमुख नियुक्ति गर्नुपर्ने छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, जुम्ला क्याम्पस, डोटी बहुमुखी क्याम्पस, सूर्यनारायण सत्यनारायण क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौं, पृथ्वीनारायण क्याम्पस पोखरा, भोजपुर बहुमुखी क्याम्पस, रामस्वरुप रामसागर क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, सानोठिमी क्याम्पस, ललितकला क्याम्पस र भैरहवा क्याम्पसमा प्रमुख नियुक्ति गर्नुपर्ने छ ।

सोही नियुक्तिका लागि अन्तर्वार्ता चलिरहेका बेला अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल छैठौँ, अखिल समाजवादी, नेपाल समाजवादी विद्यार्थी युनियन जस्ता संगठनले धर्ना दिइरहेका हुन् ।

यीनीहरू नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलका विद्यार्थी संगठन हुन् ।

यहीबारेमा छोटो टिप्पणी गर्दै रेक्टर केसीले भने, ‘लोकतन्त्रमा हुने यस्तै हो ।’

यसअघि डीन नियुक्तिको समयमा एमाले निकटका विद्यार्थी नेता सिद्धान्त भट्ट उपकुलपति केशरजंग बरालको कार्यकक्ष अगाडि १९ दिन धर्नामा बसे । गत आइतबार मात्रै ३६ बुँदे सहमति गर्दै उनले धर्ना तोडेका छन् ।

डीन र क्याम्पस प्रमुख कार्यकारी परिषद्ले नियुक्ति गर्ने हो । तर डीनको छनौट समिति उपकुलपति बरालले र क्याम्पस प्रमुखकको छनौट समिति रेक्टर केसीले बनाएका हुन् । आफू निकटका व्यक्ति डीन नहुने भएपछि एमाले निकटका विद्यार्थी त्यो सयमा धर्नामा बसेको आरोप लागेको छ ।

यसैगरी माओवादी, नेकपा एस निकटका व्यक्ति क्याम्पस प्रमुख नहुने भएपछि विद्यार्थीहरू रेक्टर केसीको कार्यकक्ष अगाडि धर्नामा बसेको आरोप लागिरेहको छ ।

नियुक्तिको समयमा धर्ना दिनुलाई राजनीतिक दबाबका रुपमा बुझ्न सुझाउँछन् त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा । ‘विद्यार्थीले माथिको निर्देशनमा धर्ना दिएको हुनुपर्छ । उसको पर्‍यो, आफ्नो नपर्ने भयो भनेर धर्ना दिने गरेको पाइन्छ । यसले भागबन्डाको गन्ध पनि दिन्छ,’ माथेमाले भने ।

विद्यार्थीको काम पढ्ने हो तर पार्टीले विद्यार्थीहरूलाई भर्‍याङ बनाइरहेको तर्क गर्छन् माथेमा । ‘विद्यार्थीले धर्ना दिने होइन । विद्यार्थी मर्कामा परेको विषय उठाउने हो । नियुक्तिको विषयमा विद्यार्थीले राजनीति गर्ने होइन । विद्यार्थी पार्टीको भर्‍याङ बनिरहेका छन्,’ माथेमाले भने ।

त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकाल विद्यार्थी धर्नामा बस्नुको मुख्य कारण राजनीतिक दबाब नै रहेको बताउँछन् ।

‘कक्षा, परीक्षा, नतिजा भएपछि विद्यार्थी किन अरु विषयमा धर्ना बस्ने ? आफू निकटका व्यक्ति पार्न राजनीतिक प्रेसरको लागि हो,’ उनले भने ।

त्रिविका पूर्वउपकुलपति समेत रहेका माथेमाले स्वतन्त्ररुपमा काम गर्न दिन विद्यार्थीसमक्ष आग्रह गरेका छन् । ‘भीसी, रेक्टर र रजिस्ट्रारलाई स्वतन्त्ररुपमा काम गर्न दिनुपर्छ,’ उनले भने ।

तर विद्यार्थी संगठनका नेताहरू भने नेतृत्वलाई दबाब दिन आफूहरू धर्नामा नबसेको दाबी गर्छन् । ‘नियुक्तिका लागि म धर्नामा बसेको होइन । विद्यार्थीको मुद्दा उठाएर हो वा नियुक्तिको लागि हुन्थ्यो भने यति लामो धर्ना हुने थिएन होला नि,’ स्ववियु सचिवसमेत रहेका एमाले निकट विद्यार्थी नेता सिद्धान्त भट्टले भने ।

विद्यार्थीले एकातिर देखाएर अर्कोतिर हान्न नहुने उनको भनाइ छ ।

‘नियुक्तिको विषमा विद्यार्थीले धर्ना बस्ने होइन । विद्यार्थीको विषय छ भने ध्यानाकर्षण गराउन पाइन्छ,’ उनले भने ।

त्रिवि अखिल क्रान्तिकारीका अध्यक्ष दिनेश ऐरले मेरिटोक्रेसी नमिचियोस् भनेर आफूहरूले सचेत गराउन मात्र खोजेको बताए । ‘डीन नियुक्तिमा पनि एक नम्बरमा परेकालाई गर्न भनेका हौँ । डीन नियुक्तिको जस्तो स्थिति नदोहोरियोस् भनेर सचेत गराएका हौँ,’ उनले भने, ‘योग्यताको आधारमा नियुक्ति गर्नुपर्न भन्ने हाम्रो माग हो ।’

योग्यता भएकालाई भन्दा पनि आफ्नालाई नियुक्ति गर्न खोजिएको उनको भनाइ छ । ‘आफ्नालाई घुसाउने त पहिलेदेखिको रोग हो । त्यसलाई रोकेर विधि बसाल्न दबाबा दिएका हौँ,’ उनले भने ।
क्याम्पस प्रमुखका लागि अन्तर्वार्तामा आएकालाई आफूहरूले बाधा नपुर्‍याएको उनको दाबी छ । ‘कामकाजमा बाधा पुर्‍याएका छैनौं,’ उनले भने ।

त्रिविका पूर्वउपकुलपति समेत रहेका माथेमाले स्वतन्त्र रुपमा काम गर्न दिन विद्यार्थीसमक्ष आग्रह गरेका छन् । ‘भीसी, रेक्टर र रजिस्ट्रारलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ । अनि कार्यकारी परिषद्ले पनि योग्यताको आधारमा नियुक्ति गर्नुपर्छ । दबाबमा नियुक्ति गर्ने होइन,’ उनले भने ।

रेक्टर केसी क्याम्पस प्रमुख आफू एक्लैले निर्णय गर्ने विषय नरहेको बताउँछन् ।

‘रेक्टर कार्यालय ट्रान्जिट मात्र हो । छनौट समितिले नाम सिफारिस गरेपछि परिषद्‌मा लैजाने हो । नियुक्ति परिषद्ले गर्ने हो,’ उनले भने । आगामी फागुन १५ मा स्ववियु चुनाव गर्ने त्रिविको तयारी छ । विद्यार्थीलाई चुनाव लागेको समेत रेक्टर कार्यालयका कर्मचारीको तर्क छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -