१६ पुस, काठमाडौं । बुटवलमा बुधबारदेखि सुरू हुने मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक भएको छ ।
एकेडेमीले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको टर्फी अनावरण गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा बुटवलको रामनगर खेल मैदानमा हुने प्रतियोगिताको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
स्वर्ण जलप गरिएको १५ केजीको आकर्षक ट्रफी सार्वजनिक भएको हो । स्वर्ण जलप गरिएको यस ट्रफी भलिबल इतिहासमा हालसम्मकै आर्कषक ट्रफी भएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।
ट्रफीले लुम्बिनी र पर्यटनलाई उजागर गर्ने उनले दाबी गरे । खेल पर्यटनलाई उजागर गर्ने गरी ट्रफीमा लुम्बिनीको अशोक स्तम्भ, मायादेवि मन्दिर र शान्ति दीप कुदिएको छ ।
प्रतियोगितामा विभागीयसहित ८ टिमबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोट्र्स एकेडमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गजरात स्टेट भलिबल एसोसियसन, मणिमुकुन्द भलिबल क्लब, गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र सहभागी हुनेछन् ।
प्रतियोगिताको प्रथम हुने टिमले ७ लाख, द्वितीयले ३ लाख ५० हजार, तृतीयले १ लाख ७५ हजार र सान्त्वनाले १ लाखसहित शिल्ड मेडल र प्रमाणपत्र पाउने अध्यक्ष आचार्यले जानकारी दिए ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६औं स्थापना दिवसको अवसरमा काठमाडौंबाहिर पहिलोपल्ट आयोजना हुन लागेको सर्वाधिक राशीको भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
पहिलो चरणमा टिकट दर ३०० रुपैयाँ तोकिएको छ ।