१० पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) र धुलिखेल अस्पतालबीच उत्पन्न समस्या समाधान गर्न गठित समितिले छलफल अगाडि बढाएको छ ।
समिति सदस्य एवं अस्पतालका प्रशासकीय निर्देशक डा. विराजमान कर्मचार्यका अनुसार वार्ताका लागि केयूले धुलेखेल अस्पताललाई बुधबार पत्र पठाएको छ ।
‘अस्पतालले पत्र बुझिसकेको छ । अब वार्ता र छलफल अगाडि बढ्छ,’ कर्मचार्यले भने ।
गत ८ पुसमा बसेको केयूको सभाले राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो । सम्बन्धित पक्षसँग संवाद गरी आगामी ४ माघमा बस्ने सिनेट बैठकमा प्रतिवेदन पेस गर्न समितिलाई समय दिइएको छ ।
समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा भोला थापा, स्कुल अफ मेडिकल साइन्सेसका डीन प्राडा मनोज हुमागाईँ, स्कुल अफ लका डीन डा. ऋषिकेश वाग्ले र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठ, प्रशासकीय निर्देशक डा. कर्माचार्य र अनुसन्धान निर्देशक प्राडा राजिव श्रेष्ठ रहेका छन् ।
दुई संस्थाबीच असमझदारी बढेपछि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी संवादबाट समाधान खोज्न सभामा प्रस्ताव गरेका थिए । १९ चैत २०५९ मा दुई संस्थाबीच सहकार्य भएको थियो ।