२८ मंसिर, काठमाडौं । फ्रान्सले राष्ट्रपति इम्मानुयल म्याक्रोँका विश्वासपात्र ७३ वर्षीय फ्रास्वाँ बायरोलाई नयाँ प्रधानमन्त्रीका रुपमा पाएको छ ।
मध्यपन्थी उदारवादी विचार राख्ने बायरो केही समयअघि फ्रान्सका शिक्षामन्त्री थिए । फ्रान्समा राजनीतिक तनाव बढ्दै जाँदा प्रधानमन्त्री फेरिइरहेका छन् । यसै अस्थिरताको क्रममा आएका बायरो चौथो प्रधानमन्त्री हुन् । यसअघिका प्रधानमन्त्री मिशेल बार्नियर अघिल्लो साता राजीनामा दिन बाध्य भएका थिए ।
दक्षिण पश्चिमी फ्रान्सबाट निर्वाचित हुने गरेका बायरो आफूलाई ‘गाउँको मान्छे’ भनेर चिनाउन मन पराउँछन् । पोहोरसम्म प्रधानमन्त्री रहेका ग्याब्रियल अटल बायरोलाई समन्वय र सम्झौता गर्न सक्ने विनयशील व्यक्ति भनी चित्रित गर्छन् ।
यसअघि फ्रान्सको संसदमा बहुमत देखाउन कठिन भएपछि राष्ट्रपति म्याक्रोंले चुनाव घोषणा गरेका थिए । तर त्यो निर्णय चरम विवादमा परेको थियो । अनि राजनीतिक संकट सुरु भएको थियो । त्यसै क्रममा उनका प्रधानमन्त्रीहरूले पालैपालो राजीनामा दिनु परिरहेको थियो ।
वामपन्थी र दक्षिणपन्थीहरुको टकरावमा बीचको बाटो समाउन खोजिरहेका राष्ट्रपति म्याक्रों फ्रान्समा थप अलोकप्रिय बन्दै जाँदा प्रधानमन्त्री बायरोको नियुक्तिले उनलाई सहज हुन सक्ने द गार्डियनले लेखेको छ ।