२२ मंसिर, काठमाडौं । क्यानडाका युवा अलराउण्डर दिलप्रीत सिंह बजवाले नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।
सुदूरपश्चिमले शनिबार दिलप्रीतलाई आफ्नो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो ।
दिलप्रीतले क्यानडाका लागि १२ टी२०आई खेल खेल्दा २२४ रन बनाएका छन् । सबैखाले टी२० पनि उनको यति नै हो ।
ग्लोबल टी२०मा मोन्ट्रियल टाइगर्सबाट खेलेका उनले ६ खेलमा ६८ को औसतले २०६ रन बनाएका थिए जसमा एक शतक पनि समावेश छ ।
उनी यसै वर्ष भएको आइसीसी टी२० विश्वकपमा पनि क्यानडाको टोलीबाट खेलेका थिए ।
सुदूरपश्चिमका अन्य विदेशी खेलाडीमा स्कटल्याण्डका ब्रान्डन माकमुलेन, न्युजिल्याण्डका स्कट कुग्लेइन र इंग्ल्याण्डका सेफ अली जैब छन् ।
यूएईका रोहन मुस्तफा पनि अनुबन्ध भएको भएपनि उनी केही पारिवारिक अर्जेन्सीका कारण फर्किएका छन् ।
सुदूरपश्चिमले आजसम्म खेलेका तीनवटै खेल जितेको छ ।