१८ मंसिर, जनकपुरधाम। सीताराम विवाहपञ्चमी महोत्सवको लागि भारत उत्तर प्रदेशको अयोध्याबाट जन्ती आज जनकपुरधाम आइपुगेको छ।
करिब पाँच सय साधुसन्त सहभागी जन्ती आज अपराह्न जनकपुरधाम आइपुगेको हो ।
मंसिर १२ गते अयोध्याबाट हिडेको जन्ती हिजो सोमबार राति महोत्तरीको मटिहानीमा आइपुगेर बास बसेका थिए। त्यहा मटिहानी नगरपालिकाले भव्य स्वागत गरेको थियो । आज बिहान त्यहाँबाट बिहान जन्ती जनकपुरका लागि हिडेको थियो ।
जनकपुरधाम आइपुगेका जन्तीको मेयर मनोज साहले औपचारिक रूपमा गरेका छन्। जनकपुरमा दुवै छेउमा उभेका स्थानीय बासिन्दाले ‘जय सियाराम’ को नारा लगाउँदै पुष्पवृष्टिका साथ उनीहरूलाई स्वागत गरेका हुन् । जानकी मन्दिरमा कार्पेटमा उनीहरुको स्वागत गरिएको हो ।
उनीहरु आज भएको विवाहपञ्चमीको धनुषयज्ञमा समेत सहभागी भएका छन्। जन्ती चारदिनसम्म जनकपुरधाममा बास बस्ने छन्। उनीहरुको बास र भोजनको सम्पूर्ण व्यवस्था गरिएको जानकी मन्दिरका सह महन्त रामरोशन दासले बताए ।
पाँच वर्षको अन्तरालमा विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आउने साधुसन्तको जन्ती यसपटक पनि आएका छन् । यस पटक विवाहपञ्चमी महोत्सवमा रौनक थपिएको छ ।
मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव मंसिर २२ गतेसम्म चल्ने छ । आइतबार पहिलो दिन नगर दर्शन, दोस्रो दिन सोमबार फूलबारी लीला सम्पन्न भइसकेको छ भने आज धनुषयज्ञ महोत्सव मनाइँदैछ।
भोलि बुधबार तिल्कोत्सव, बिहीबार मटकोर र शुक्रबार विवाहपञ्चमी महोत्सव रहेको छ । शनिबार जन्तीमा आएका साधुशन्तको विदाई अर्थात् रामकलेवा गरि विवावशपञ्चमी महोत्सव विधिवत् सम्पन्न हुनेछ ।