११ मंसिर, काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यकासँगै देशका अधिकांश स्थानको आकास धुम्मिएको छ । आकास धुम्म हुनुको कारण वायूप्रदूषण हो । वायुमण्डलमा धुलोका कणले गर्दा पारदर्शिता कम देखिएको थियो । अहिले भने घाम लागेकाले पारदर्शिता पनि बढ्दै गएको छ ।
आज बिहान काठमाडौंका स्वयम्भु, कीर्तिपुर, रत्नपार्क, खुमलटार लगायतका स्थान र त्यस वरपरका क्षेत्रमा बाक्लो तुवालो लागेको थियो । तराई मधेशका केही जिल्लामा कुहिरो लागेको थियो । कुहिरोमा पानीको मात्रा (सापेक्षित आद्रता) बढी हुन्छ भने तुवालोमा पानीको मात्रा कम हुने भएकाले सुक्खा हुन्छ ।
हिउँदमा पानी कम पर्ने र हावा पनि नचल्ने भएकाले वायु प्रदूषणको मात्रा बढ्ने गर्दछ । वायुमण्डलमा भएका धुलो र धुँवाका कण हटाउन कि ठूलो पानी पर्नुपर्छ कि बेस्सरी हावा चल्नुपर्छ । तर अहिले ती दुवैको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मिनकुमार अर्याल बताउँछन् ।
‘अहिले तत्काल पानी पर्ने सम्भावना छैन,’ वरिष्ठ मौसमविद अर्यालले भने, ‘कोशी, बागमती र गण्डकीमा हल्का बादल लागे पनि पानी नै पर्ने सम्भावना कम छ ।’
काठमाडौं उपत्यका कचौरा आकारको छ । त्यसैले प्रदूषित वायु हत्तपत्त उडेर जाँदैन । पानी नपरेसम्म वायुमण्डल पनि पखालिँदैन । त्यसैले अहिले धुम्म परेको अवस्था अन्त्यका लागि पानी पर्नु जरुरी रहेको मौसमविद अर्याल बताउँछन् ।
आगलागीका घटना बढ्दा प्रदूषण पनि बढ्यो
पछिल्लो समय देशका अधिकांश स्थानमा तुवालो लागेको छ । प्रदूषण बढ्दा काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा तुवालो लागेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
‘हावाहुरी चल्ने मौसममा वायुमण्डलमा भएको प्रदूषण उडाएर लैजान्छ र पानी पर्यो भने वायुमण्डलमा भएका धुलोका कण पखालिन्छ’, वरिष्ठ मौसमविद् अर्यालले भने, ‘तर अहिले ती दुवै अवस्था हुने देखिँदैन ।’
आगलागीका घटना, उद्योग र सवारी साधनबाट निस्किने धुवाँ, निर्माणका काम गर्ने बेला उड्ने धुलो वायुप्रदूषणका प्रमुख कारण हुन् । केही दिनयता आगलागीका घटना बढेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा मंसिर १ गतेदेखि १० गतेसम्मको अवधिमा आगलागीका घटना बढेको पाइएको छ । मंसिर ९ गते मात्रै विपदजन्य घटना १४ वटा हुँदा १३ वटा आगलागीका घटना थिए ।
वातावरण विभागले मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) विवरण अनुसार ललितपुरको खुमलटार, भक्तपुर, चितवनको भरतपुर, काठमाडौंको रत्नपार्क क्रमशः बढी प्रदूषित छन् । संवेदनशील समुदायका लागि जोखिम हुने संकेत स्वरुप ती स्थानलाई रातो रंगले संकेत गरिएको छ । यसैगरी बाँकेको नेपालगञ्ज, धनकुटा र काठमाडौंको शंखपार्कको हावा पनि प्रदूषित छ ।
२०७७ सालमा काठमाडौं विश्वमै सबैभन्दा बढी प्रदूषित शहर भएको थियो । त्यतिबेला एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४०० नाघेको थियो । मन्त्रिपरिषद् बैठकले ३ माघ २०७६ मा पारित गरेको कार्ययोजनामा एक्यूआई ३०० नाघेपछि विपदकाल घोषणा गर्ने उल्लेख छ । तर सरकारले विपदकाल घोषणा भने गरेको थिएन ।
प्रदूषण बढ्दा क्यान्सरजस्तो घातक रोग गराउन सक्ने जानकारहरु बताउँछन् । त्यसैले मोर्निङवाकमा ननिस्किने, घरबाट बाहिर निस्किनै परे मास्क प्रयोग गर्ने, चस्मा लगाउने र शरीर पूरै छोपिने गरी कपडा लगाउनुपर्ने चिकित्सकहरु सुझाव दिन्छन् ।
काठमाडौंमा बढ्दो शहरीकरण, पेट्रोल–डिजेलबाट चल्ने सवारी साधनले फाल्ने धुँवा, विकास निर्माणको क्रममा उड्ने धुलो र आगलागीले प्रदूषण बढाएको छ । प्रदूषणको शिकार भएकाहरूले क्षतिपूर्ति पाउने संवैधानिक व्यवस्था भए पनि सरकारले प्रदूषण रोक्ने सवालमा र क्षतिपूर्ति दिने सवालमा प्रभावकारी काम गर्न भने सकेको छैन ।