दाङ । दाङको घोराही उपमहानगरपालिका– १३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूल खेती हो । उहाँले यो पेसा गर्न थालेको आठ वर्ष भयो । विगत लामो समयदेखि गर्दै आएको व्यवसायप्रति इन्द्रा खुसी हुनुहुन्छ । सुरुका दिनमा फूलको व्यावसायिक खेती गर्दा छिमेकीले फूल पनि बेच्ने भनेर गिज्याउने गरेको उहाँसँग अनुभव छ ।
“पछिल्लो समय स्थानीय उत्पादनलाई प्रयोग गर्नुपर्छ भन्नेको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “जसका कारण यस वर्ष फूल माला बिक्री गर्न कुनै समस्या भएन ।” इन्द्राको बारीमा चाडपर्वको समयमा मात्रै नभई अघिपछि पनि सयपत्रीको फूल फुलिरहेको हुन्छ । जिल्लामा हुने विभिन्न सभा, सम्मेलन, विद्यालयमा हुने कार्यक्रम लगायतमा पनि फूल लैजाने गरेको उहाँ बताउनुहुन्छ ।
उहाँ यस वर्षको तिहारमा मात्रै खर्च कटाएर रु पाँच लाख बचत गर्न सफल हुनुभएको छ । आठ हजार माला काठमाडौँ, स्याङ्जा, पोखरा, धनगढी, बुटवल पठाएको र धेरैजसो जिल्लामै बिक्री गर्ने गरेको इन्द्राले बताउनुभयो । फूल माला टिप्दा, उन्दा आफ्ना आफन्तले सहयोग गर्ने भएकाले त्यति धेरै खर्च नहुने उहाँ बताउनुहुन्छ । उहाँले फूल खेतीबाट पनि यसरी पैसा कमाउन सकिएला भनेर आफूले सुरुवातका दिनमा नसोचेको बताउनुभयो ।
उहाँले १० कठ्ठा जग्गामा फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । “विगत आठ वर्षदेखि यही खेती गरिरहेको छु, विशेष गरी तिहारलगायत चाडपर्वका बेलामा बढी माग हुन्छ”, उहाँले भन्नुभयो । यस पटक पनि राम्रो आम्दानी भयो, आगामी दिनमा अझै क्षेत्रफल बढाउने योजना उहाँको छ । लगानी पनि धेरै नलाग्ने र अन्य खेतीभन्दा धेरै मेहनत गर्न नपर्ने भएकाले फूल खेती राम्रो हुँदै गएको उहाँले बताउनुभयो । यस वर्षको तिहारमा रु १०० देखि २०० सम्म मालाको आकारअनुसार बिक्री गरेको इन्द्राले बताउनुभयो ।
“स्थानीय उत्पादनको प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएकाले बिक्रीमा समस्या छैन”, उहाँले भन्नुभयो, “सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौँ ।” बोटमा फूल फुल्ने क्रम जारी रहेको र मङ्सिरको महिनाभर उत्पादन लिन सकिने उहाँले बताउनुभयो ।
इन्द्रा व्यावसायिक रूपमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै गए पनि यसको माग पनि उत्तिकै बढेकाले बजारीकरणको समस्या नहुने बताउनुहुन्छ । आजभोलि विवाहलगायत अन्य कार्यक्रमका लागि पनि मागका आधारमा माला बनाउने गरेको उहाँ बताउनुहुन्छ ।
सरकारी स्तरबाट पनि फूल खेती गर्न चाहने किसानलाई तालिमलगायत अन्य कृषि औजार, अनुदानका कार्यक्रम ल्याएमा अझ सहज हुने उहाँले बताउनुभयो । साथै प्लास्टिकजन्य मालालाई पनि पूर्ण रूपमा प्रतिबन्ध लगाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । पहिलेको तुलनामा केही परिवर्तन भए पनि अझ पर्याप्त नभएको उहाँको भनाइ छ ।