रुपन्देही । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले थारु जातीले राष्ट्रको स्वाधीनताका लागि महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।
थारु कल्याणकारी सभाको २३ औँ महाधिवेशनको उद्घाटन सत्रमा अर्थमन्त्री पौडेलले थारु समुदाय नेपालको धर्ती पुत्र भएको बताउनुभयो ।
मित्रता र एकताका लागि थारु समुदायमा उन्नत मानवीय चेत रहेको उहाँले बताउनुभयो । सबैको साझा सङ्गठनको रुपमा थारु कल्याणकारी सभा रहेको बताउँदै अर्थमन्त्री पौडेलले आउने दिनमा सबै जातीको थारुको कल्याणको लागि काम गर्ने भरोसायोग्य संस्थाका रुपमा अघि बढ्न शुभकामना दिनुभयो । उहाँले २३ औँ महाधिवेशनले थारुको कल्याण र उन्नति र प्रगतिका लागि सक्षम नेतृत्व मिलोस् भन्नुभयो ।
संविधानको आधारमा मुलुकलाई अगाडि बढाउनुपर्छ भन्नेहरूको सरकार भएको बताउँदै संविधानलाई समाजको गतिसँगै संविधान संशोधन गर्न सकिने अर्थमन्त्री पौडेलले बताउनुभयो । ‘एमाले कांग्रेस लगाएतका पार्टी लोकतन्त्रलाई अझ बलियो बनाउन संविधान संशोधनको ढोका खोलेर अघि बढेका हौँ ।’
थारु कल्याणकारी सभाको राष्ट्रिय महाधिवेशन आज देखि ३ गतेसम्म चल्ने छ ।