काठमाडौं । यो साता ओटीटी प्लाटफर्ममा रोचक फिल्म, श्रृंखला र डकुमेन्ट्री रिलिज भइरहेका छन् । तपाईंलाई आफू अनुकूलको समयमा हेर्न यी विविध कथावस्तु र जनराका फिल्म उपयुक्त हुनसक्छन् । ब्लकबस्टर फिल्मदेखि श्रृंखलासम्म अवश्य पनि यो साता तपाईंका लागि ओटीटी प्लाटफर्म मनोरञ्जन गर्ने थलो बन्न सक्छ । यो साता कुन-कुन फिल्म ओटीटीमा आउँदैछन्, यसबारे संक्षिप्त चर्चा गरौं ।
अगस्त्य (एमएसएम भिडियो)
सौगात मल्ल स्टारर फिल्म ‘अगस्त्य’ शुक्रबारदेखि एमएसएम भिडियोमा रिलिज भएको छ । सौरभ चौधरी निर्देशित यो फिल्ममा सौगातसहित नाजिर हुसेन र मलिका महतको शीर्ष भूमिका छ । नेपाल र भारत सीमावर्ती क्षेत्रमा हुने चेलीबेटी बेचबिखनको कथावस्तुमा बनेको यो फिल्म एक्सनप्रधान छ ।
डेडपुल एण्ड वुल्भरिन (डिज्नी प्लस हटस्टार)
रायन रेनोल्ड्स र हग ज्याकम्यान स्टारर यो फिल्म बक्स अफिसमा सुपरहिट भइसकेको छ । १.३३८ बिलियन डलर कमाइ गरिसकेको यो सुपरहिरो फिल्ममा दुई सुपरहिरोले संसारलाई जोगाउन गर्ने संघर्षको कथा भन्छ । नोभेम्बर १२ मा यो फिल्म स्ट्रिमिङ हुँदैछ ।
जेक पल भर्सेस माइक टायसन (नेटफ्लिक्स)
नोभेम्बर १५ मा अमेरिकाको टेक्सासमा बक्सिङ च्याम्पियन माइक टाइसन र चर्चित युट्युबर जेक पलबीच बक्सिङको भिडन्त हुँदैछ । उनीहरुको यो भिडन्तलाई नेटफ्लिक्समार्फत विश्वभर स्ट्रिमिङ गरिंदैछ । यी दुईको बक्सिङ म्याच यो साताको दर्शनीय र अपेक्षित शो अवश्य हुनेछ ।
फ्रिडम अफ मिडनाइट (सोनीलिभ)
डोमिनिक ल्यापिएरे र ल्यारी कोलिन्सको एउटै नामको पुस्तकबाट रूपान्तरित, ऐतिहासिक नाटकको यो वेब शृंखलाले भारत र पाकिस्तानको विभाजनको बारेमा जानकारी दिन्छ । नोभेम्बर १५ देखि प्लाटफर्ममा स्ट्रिमिङ हुने यस शृङ्खलामा जवाहरलाल नेहरूको रोलमा सिद्धान्त गुप्ता, महात्मा गान्धीको भूमिकामा चिराग बोहरा र सरदार बल्लभभाइ पटेलको भूमिकामा राजेन्द्र चावलाले अभिनय गरेका छन् ।
नयनतारा : बियोन्ड द फेयरी टेल (नेटफ्ल्क्सि)
साउथ इन्डियन स्टार नयनतारा आफ्नो व्यक्तिगत जीवनको कुरालाई प्रायः गोप्य राख्न रुचाउँछिन् । नयाँ डकु–सिरिजमा उनको क्यामेरा पछाडिको निजी जीवन, उनको रोमान्स र फिल्म निर्माता विग्नेश शिवनसँगको विवाहलाई समेटिएको छ । नोभेम्बर १८ मा नेटफ्लिक्समा यो सिरिज आउँदैछ जुन दिन नयनताराको ४० औं जन्मदिन समेत हो ।
क्रस (प्राइम भिडियो)
जेम्स प्याटरसनको उपन्यास श्रृंखला ‘एलेक्स क्रस’मा आधारित यस वेब–श्रृंखलामा एल्डिस होज, इसायाह मुस्तफा र जुआनिता जेनिङको अभिनय छ । वासिङ्टन डीसीमा सेट गरिएको यसको कथाले एक जासूस, फरेन्सिक मनोवैज्ञानिक पात्र क्रसलाई पछ्याउँछ जो हत्यारा र पीडितको दिमागमा घुम्छ । यो संघर्षले उसको जीवनलाई खतरामा पार्ने सम्भावना छ । यो श्रृंखला नोभेम्बर १४ देखि स्ट्रिमिङ भएको छ ।
बियोन्ड गुडबाइ (नेटफ्लिक्स)
कासुमी आरिमुरा र केन्तारो साकागुचीको अभिनय रहेको यो जापानी श्रृंखला नोभेम्बर १४ देखि स्ट्रिमिङ हुँदैछ । एक दुर्घटनामा आफ्नो फियोन्से गुमाएपछि सायको एक अपरिचित व्यक्तिसँग आत्मीय सम्बन्ध महसुस गर्छिन् । जीवनको यात्रामा उनले उनले पत्ता लगाउँछिन् कि उनी त्यही मानिस हुन् जसले उनको मंगेतरको हृदय र सम्झना प्राप्त गरिन् ।