काठमाण्डौ/प्रधानमन्त्री केपी शर्मा ओली दोहोर्याइरहन्छन्, ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ ।’ तर, पहिले पासाङ ल्हामु प्रतिष्ठान र अहिले तुलसीलाल प्रतिष्ठानजस्ता सार्वजनिक सम्पत्तिमा कार्यालय राख्दै आएको ओली नेतृत्वकै एमाले अब एक व्यवसायीले दानमा बनाइदिने करिब डेढ अर्बको भवनबाट सञ्चालन हुने भएको छ । ५ लाख संगठित सदस्य भएको पार्टीको केन्द्रीय कार्यालय बनाउन एक व्यापारीलाई जिम्मा किन दिइयो ? चौतर्फी आलोचना भएको छ । भदौ अन्तिम साता एमाले पोलिटब्युरो बैठकमा पेस भएको वार्षिक कार्ययोजनामा पार्टी कार्यालय निर्माण गर्ने प्रस्ताव थियो । यसका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा गठन भएको समितिले हरेक पार्टी सदस्यबाट कम्तीमा एक सय रुपैयाँ उठाउने निर्णयसमेत गरेको थियो । तर, एक महिना पुग्दा नपुग्दै एमालेले भवन बनाउने जिम्मा भाटभटेनी सुपरमार्केटका संस्थापक सञ्चालक मीनबहादुर गुरुङलाई दिएको छ ।
कीर्तिपुर नगरपालिकाको मैत्रीनगरस्थित ढुंगेअड्डामा १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बनाइदिएर अर्को दसैंको घटनास्थापनामा साँचो हस्तान्तरण गर्ने गरी गुरुङले जिम्मा लिएका छन् ।
प्रधानमन्त्री ओली र भाटभटेनीका सञ्चालक गुरुङका दम्पतीले शुक्रबार बिहान संयुक्त रूपमा भवनको शिलान्यास गरेपछि सार्वजनिक आलोचना भएको छ । तर, एमाले नेतृत्व भने आफ्नो निर्णयको प्रतिरक्षामा उभिएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले व्यवसायीको सहयोग लिएर भवन बनाउनु अपराध नभएको प्रतिक्रिया दिए । ‘प्रतिष्ठित व्यापारीले केन्द्रीय कार्यालय बनाउन सहयोग गर्नु अपराध हो र ? गुरुङजी आफैंले केन्द्रीय कार्यालय बनाउन सहयोग गर्छु भनेपछि पार्टीले स्वीकार गरेको हो ।’ व्यवसायी गुरुङले बनाइदिने भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको निर्माण समिति भंग भएको छ । पोखरेलले पहिले केन्द्रीय कार्यालय रहेको काठमाडौंको बल्खुमा नै भवन बनाउने प्रयास भए पनि जग्गा कम भएकाले विकल्प खोजेको बताए । ‘हामीले केन्द्रीय कार्यालय बनाउन अनेक ठाउँमा जग्गा खोज्दै हिँड्यौं । सहयोग अभियान पनि चलायौं,’ उनले भने, ‘अबचाहिँ शुभचिन्तकको सहयोगमा बन्ने भएको छ ।’ बल्खुमा पनि खोला किनाराको मापदण्डले एमालेको पुरानो जग्गा झन् साँघुरो भएको छ ।
पार्टीभित्रबाटै पनि आलोचना भएपछि एमाले प्रचार विभागले प्रेस नोट जारी गरेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी कार्यालय निर्माणलाई लिएर भ्रम फैलाइएको भन्दै यसमा लेनादेना नभएको दाबी गरेका छन् । ‘एमालेको केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर पार्टीभित्र र बाहिर अनेक खालका भ्रम, अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी र पार्टी नेतृत्वविरुद्ध विषवमन गर्ने काम भइरहेको छ,’ प्रेस नोटमा भनिएको छ, ‘तथ्य के हो, एक जना दानवीर मीनबहादुर गुरुङ र सावित्री घलेले बाढी, लेदोले क्षतविक्षत भएको एमालेको केन्द्रीय कार्यालयको दुरवस्था देखी नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नुभएको हो । यसमा कुनै किसिमको लेनादेना छैन, स्वेच्छाले जग्गा दान गर्नुभयो, एमालेले ग्रहण गर्यो । तथ्य नबुझी बदनाम नगरौं ।’ कान्तिपुर दैनिकबाट