Monday, January 13, 2025
घरसमाचारत्रासै त्रासमा दशैं यात्रा

त्रासै त्रासमा दशैं यात्रा

२१ असोज, नौबिसे । काठमाडौं बसेर पढिरहेका धनगढीका सुवर्ण खड्कालाई अघिल्ला वर्षहरुमा दशैंमा घर जाने बस चढ्दा मन चङ्गा हुन्थ्यो । तर यसपटक उनलाई दशैंको यात्रा पनि गह्रौं भारी बोकेर गर्नुपरेको यात्रा जस्तो लगिरहेको छ ।

‘बाटो सम्झिएर जानै मन छैन, नजाउँ भने वर्षदिनको चाड हो’ कलंकीमा रिजर्भ बस कुरिरहेका खड्का भन्छन्, ‘प्लेनको टिकट पाइएन । बाटोमा कति दुःख पाउने हो, थाहा छैन ।’

सुवर्ण जस्तै दशैंका लागि घर जान हिँडेका धेरैमा उत्साह उमंगभन्दा बढी डर र चिन्ता छ । असोज ११ र १२ को भारी वर्षासँगै आएको बाढी र पहिरोले राजमार्गहरुमा ठूलो क्षति भएको छ । बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । त्यसैले मध्यपहाडी राजमार्गको निर्णय नै भइसकेको छैन ।

त्यसैले काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका केही जिल्ला बाहेकका नागरिकलाई नागढुंगा नाकाबाट जानुको विकल्प छैन । विस्तारका क्रममा खाल्डाखुल्डी बनाएर छाडिएका सडक भारी वर्षासँगै खसेको पहिरोले हिँडिनसक्नु छ ।

यात्रामा निस्किएकाहरु केही किलोमिटर दुरी पार गरेर नौबिसे पुग्दै थाकिसकेका भेटिन्छन् । अझ, काठमाडौंको नागढुंगामा नाकाकै झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाले ज्यान गुमाएको घटनाले धेरैलाई भयभीत बनाएको छ । दशैं यात्रा, कतै दशा बन्ने त होइन भन्ने पीरलो छ ।

दशैंका लागि बस चढेर दाङ हिंडेका शैलेस रिजाललाई यस्तो सडकमा हिँड्नु नपरे हुन्थ्यो भन्ने लागेको थियो । दुई दिनअघि मात्र काठमाडौंबाट हिँडेका साथी करिब ४८ घण्टामा बल्ल घोराही झरेको सूचना उनीसँग छ ।

‘बाटोको हालत देखेर कत्ति पनि जान मन थिएन, दशैंमा एक्लै काठमाडौंमा किन बस्छन् भनेर बाबाहरुले आइजो कि आइजो भन्नुभयो र बस चढेको’, उनी भन्छन्, ‘झरीमा रुझ्दै अग्रिम टिकट काटेको थिएँ, त्यो टिकट किन खेर फाल्नु भनेर हिँडे ।’

रिजाललाई विस्तारका क्रममा अलपत्र छाडिएको नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल सडकखण्ड पार गरेर कसरी दाङसम्म कसरी पुग्ने भन्ने चिन्ता छ ।

काठमाडौंबाट दशैं मान्न चितवनको नारायणगढ हिंडेकी सबनम पाठक पनि नौबिसे पुग्न नपाउँदै अत्ताल्लिएकी छिन् । सडकको अधिकांश भागमा पहिरो खसेको र सडकमा बाक्लो सवारी भएकाले यात्रा सुरक्षित हुने हो कि हैन भन्ने त्रासमा छिन् । ‘डर लागिरहेको छ, भगवानको नाम लिने जाने हो’, उनी भन्छिन्, ‘दशैंमा घर नगई भएन, बाटो यस्तो खराब छ, ड्राइभरले राम्रोसँग चलाए हुने !’

अहिले करिब ७० भन्दा बढी जिल्लाका यात्रु काठमाडौं आवातजावत गर्ने मूल नाकाको सडक टालटुलका भरमा चलाइँदा अति जीर्ण बन्न पुगेको छ ।‘सरकारले केही गर्दैन, यही सडक हेरेर थाहा हुन्छ’, लमजुङ बेसीशहरका लागि निस्किएका खोटाङका विष्णु राईले गुनासो पोखे, ‘दशैंको बेलामा पनि नबनेको सडक कहिले बन्छ ?’

जामले सताए पनि सुरक्षितसँग गन्तव्यमा पुग्न पाए हुन्थ्यो भन्ने कामना गर्दै यात्रा गर्नुपरेको उनले बताए ।

संघीय राजधानी काठमाडौंमा खाद्यान्न, फलफूल, तरकारी, इन्धन लगायत दैनिक उपभोग्यदेखि लत्ताकपडा, भाँडाकुँडा, मेसिनरीसहित सबैजसो आयातीत वस्तुहरु आपूर्ति गर्ने मुख्य नाका हो । अरु राजमार्गहरु बाढी र पहिरोको चपेटामा परेपछि यहाँ यात्रुबाहक सवारीहरुको चाप पनि उच्च भएको छ ।

सडक साँघुरो भएको र मोडहरु पनि सानो भएकाले यसै पनि यो खण्डमा सबैजसो गाडीलाई मुश्किल हुन्छ । त्रिशूली र महेश खोलाको तीरैतीरको यो सडक बगरभन्दा खास अलग छैन ।

काठमाडौंबाट बाराको कोल्हबी जाने बस चढेकी शान्ति दाहाल राजधानी छिर्ने नाकाको सडकको अवस्था देखेर सरकारलाई लाज लाग्नुपर्ने बताउँछिन् । विगतमा दशैंको बेला सडक मर्मत हुने गरेको स्मरण गर्दै उनले यसपटक वर्षाको बहाना देखाएर सबैतिर बाटो भद्रगोल छाडेको देखिएको उनको भनाइ छ ।

‘दशैं आउँदैछ, यहाँ गाडीहरु बाक्लो चल्नुपर्छ भन्ने थाहा नहुने कुरा भएन,’ उनी भन्छिन्, ‘सधैं बाहाना गर्ने सरकारलाई यसपाली त झरीले सजिलो बनाइदियो ।’

खाल्डाखुल्डीका कारण नागढुंगा क्षेत्रको सडकमा मालसामान बोकेर आएका सवारी उकालोमा सुस्त गतिमा चल्छन् । कतिपय गाडीबीच सडकमै बिग्रिएर रोकिँदा ट्राफिक जाम हुने समस्या पनि छ । उकालोमा एउटा गाडी बिग्रिएर रोकिनासाथै लामो लाइन लागिहाल्छ । कहिले त सवारी हटाउन घण्टौं समय लाग्छ ।

नागढुंगाको उकालो सडकमा त अहिले लगातार जसो लामो जाम हुने गरेको छ । जाममा बसमात्रै अड्किरहेका छैनन्, मालबाहक ट्रक र एम्बुलेन्स पनि फसिरहेका भेटिन्छन् । बाढीपहिरोको विपत्तिपछि बिपी राजमार्ग भएर तराइका जिल्ला जाने गरेका साना सवारीहरु पनि नागढुंगा नाका भएरै आउ–जाउ गरिरहेका छन् ।

नारायणगढ हुँदै सुनसरीको इटहरीबाट काठमाडौंसम्म माइक्रोबस चलाइरहेका सुन्दर विष्ट नागढुंगा–मुग्लिन सडकको बेहाल देखेर आजित छन् । ‘यहाँ एउटा गाडी बिग्रिंदा घण्टौं जाम लागिरहेको छ, इटहरीबाट मुग्लिन आउन लागेकोभन्दा बढी समय मुग्लिनबाट काठमाडौं आउन लागिरहेको छ’, उनी भन्छन्, ‘न बाटो गतिलो छ, न बाटोमा ट्राफिक प्रहरीको सक्रियता र व्यवस्थापन ।’

गोरखाको माछाखोला जाने बस चलाइरहेका सानु लामा पनि ठाउँ–ठाउँमा जाम झेल्नु पर्दा यात्रा सकसपूर्ण बनेको बताउँछन् । ‘ठाउँ–ठाउँमा ट्रक बिग्रिएर सडक नै छेकेर बसेको छ, ठाउँ–ठाउँमा प्रहरीहरु बसेर जाम हुन नदिन काम गर्नुपर्ने हो’, उनी भन्छन्,‘एक जना ट्राफिक नै देखिंदैनन् सडकमा ।’

नागढुंगाबाट ओरालो झर्नासाथ अधिकांश पहाड भत्किएका र साना ठूला पहिरा झरेका छन् । पहिरो पन्छाएपनि सडकभरि माटो पोखिएको छ । कतै विस्तारका क्रममा लगाएका टेवा पर्खालमा माटो भरिएको छैन । माटो भरिएका ठाउँबाट सडकसम्म माटो छरिएका बाटोले हिरो र धुलो थपेको छ ।



सडक किनारका ठाउँ–ठाउँमा नाला नै छेकेर माटो थुपारिएको छ । कतै नालाको पानी सडकतिर बगिरहेको छ । यसले यात्रालाई थप जोखिमपूर्ण पनि बनाएको छ । निजी गाडीमा सपरिवार बर्दिवासको यात्रामा नौबिसे पुगेका ज्ञानेन्द्र सिंखडालाई नागढुंगाबाट नारायणगढसम्म पुग्न अरु हैन, पहिरोको भय छ ।

ठाउँ–ठाउँमा सुख्खा पहिरो खसिरहेको सुनेका उनलाई परिवारलाई सुरक्षित रुपमा घर पुर्‍याउने जिम्मेवारी छ । ‘झ्याप्ले खोलाको पहिरोबारे सुन्दा राजमार्गका केही भर रहेनछ भन्ने थाहा भयो, ठाउँ–ठाउँमा ठूला पहिरो झरेको रहेछ’, सिंखडा भन्छन्, ‘आफूले मात्रै सुरक्षित चलाएर नहुने रहेछ, भगवानको कृपा पनि चाहिन्छ ।’

वीरगञ्जकी त्रिवेणी सिंह पनि ३ जना बच्चा लिएर दशैं मान्न घर जाँदैछिन् । तर उनी बसमा आरामसँग बस्न नपाएको गुनासो गर्छिन् । ‘ढुक्कले बस्न पाएको छैन । यतै हल्लाएको छ, उतै हल्लाएको छ’, उनी भन्छिन्, ‘कान्लातिर हेर्दा माथिबाट पहिरो खस्ने, तल हेर्दा तलै जान्छ कि भन्ने डर छ, अब भगवान भरोसा ।’

दशैंका यात्रुहरुलाई तर्साउने पहिरो मात्रै होइन, सडक मार्ग र पुलहरुको दुरवस्था पनि हो । विस्तारका क्रममा रहेको सडकको कालोपत्रे धेरै ठाउँमा उप्किएको छ, खाल्डाहरु बनेका छन् । सडकमा खाल्डा, ढुंगा र ढिस्कोहरु छन् । त्यही सडकमा दशैंमा घर हिँडेका यात्रु बोकेका सवारी साधनहरु सकससँग कुदिरहेका छन् ।

चितवनको कसराको यात्रामा निस्किएका कृष्णप्रसाद पौडेल सडकको अवस्था र लामो जामले गाह्रो बनाएको बताउँछन् । ‘एक घण्टा लाग्ने बाटोमा साढे २ घण्टा जाममा फसिसक्यो’, उनी भन्छन्, ‘बिगारेर छाडिएको राजमार्गमा सरकारको उपस्थिति कमजोर देखियो । यात्रुको सास्ती कसरी कम गर्ने भनेर गम्भीर हुनुपर्‍यो ।’

दशैंमा गाउँघर पुग्न मोटसाइकल र स्कुटर लिएर यात्रा गर्नेहरु ठूला गाडीका चेपमा जोखिमपूर्ण यात्रा गरिरहेका छन् । धुलो र हिलो झेल्दै यात्रा गरेका गाडीसँगै मोटरसाइकलका यात्री धुलाम्य देखिन्छन् । कतिपय ठाउँमा मोटरसाइकल चिप्लिएर दुर्घटना समेत भइरहेका छन् ।

दशैंका बेला दैनिक औसत ३० हजारभन्दा बढी सवारी साधन आवातजावत गर्ने यो खण्ड ट्राफिक चापअनुसारको चुस्त, दुरुस्त र सहज छैन । उबडखाबड सडकमा गाडीहरु घ्याच्च–घ्याच्च गर्दै उकाली–ओराली गरिरहेका छन् ।

काठमाडौंबाट रिजर्भ बसमा गुल्मीको तम्घास जाँदै गरेका सेमन्तक घिमिरे नागढुंगाको जाममा छन् । तर, उनलाई नागढुंगाको भन्दा बढी चिन्ता दाउन्नेको पहिरोको छ । ‘दाउन्नेमा सडक भासिएर राजमार्ग पटक–पटक अवरुद्ध भइरहेको छ, त्यो पहिरो काट्न पाए त सुस्त सुस्त भए पनि घर पुगिन्थ्यो’, उनी भन्छन्, ‘नागढुंगामा ३ घण्टा भन्दा बढी जाममा बस्नु नपर्ला ।’

काँकडभिट्टाबाट काठमाडौं आएकी शर्मिला पोमु पनि काठमाडौं आउँदासम्म धुलेले नै अघाएको टिप्पणी गर्छिन् । ‘यति धुलो छ, कतै खुलेर सास फेर्न मुश्किल छ,’ उनी भन्छिन्, ‘उताबाट त बस खाली खाली आउँदैछ, यताबाट त मान्छे कोचेर हाल्छ, यस्तो बाटोमा बालबच्चा, बिरामी र बुढाबुढी मान्छेले कसरी यात्रा गर्लान् !’

गोरखाको आरुघाट गाउँपालिका सोतीसम्मको यात्रामा निस्किएका दोर्जे गुरुङ यात्रामा निस्किएका यात्रुको दुःख सरकारले नबुझेको बताउँछन् । ‘आफ्नो चिन्ता आफैं लिने, आफ्नो सुरक्षा आफैं गर्ने ?’ उनी भन्छन्, ‘सरकारलाई सम्झिनु बेकार हो, यो सडक अलिकति मर्मत गरिदिएर यतिविधि सास्ती हुन्थेन ।’

काठमाडौंबाट बस लिएर तनहुँका लागि निस्किएका चालक सफल क्षेत्री जाम भएपछि सडक जस्तो भएपनि सुरक्षितसँग घर पुर्‍याउने दायित्व भुल्न नहुने बताउँछन् । ‘बाटोको अवस्था देखेर यात्रुहरु डराउँछन्, जाम परेपछि रिसाउँछन्’, उनी भन्छन्, ‘बाटो जस्तो भएपनि, सरकारले आफ्नो काम नगरेपनि हामीले सुरक्षितसँग घर पुर्‍याउनुपर्छ भन्ने सोचेरै गाडी चलाउँछौं ।’

तर, सडकमाथिबाट पहिरो कतिबेला खस्ने हो भन्ने चिन्ता भने उनलाई पनि छ । जताततै सडकमा डोजर लगाएर भित्ता कोपर्दै छाड्दा पहिरोको जोखिम बढेको उनको भनाइ छ ।

‘सबै कुरा हाम्रो हातमा छैन, पहिरोले झ्याप्लेखोलमा गरेको विध्वंश हेर्दा त गाडी नै चलाउन छाडिदिउँ जस्तो लाग्छ’ उनी भन्छन्, ‘नागढुंगा–मुग्लिन सडकमा ठाउँ–ठाउँमा सुख्खा पहिरो खसेको खस्यै छ, रोक्नलाई सरकारले काम नै गरेन ।’

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -