१४ असोज, (नमोवुद्ध) काभ्रे । बलवा नगरपालिका–७, महोत्तरीका धनञ्जय झा (४०) दुई वर्ष कतारमा काम गरेर घर फर्किएका थिए । छुट्टीमा घर आउँदा उनले परिवारका सदस्यहरुलाई कोसेली ल्याएका थिए । शुक्रबार घर पुगेर बालबच्चालाई खुसी बाँड्न चाहन्थे ।
बिहीबार रातिदेखि नै पानी पार्न थालेको थियो । पूर्व पश्चिम राजमार्ग कतिबेला अवरुद्ध हुने हो टुंगो थिएन । त्यसैले उनले वीपी राजमार्गमा चल्ने बस चढे । तर काभ्रेको मंगलटार बजारमा पुगेपछि रोकिए ।
रोशी गाउँपालिका–९, मंगलबार बजारमा पुगेपछि प्रहरीले अरु गाडीसँगै धनञ्जय चढेको बसलाई पनि रोक्यो । ‘अगाडि धेरै जोखिम छ, नजानुस् भनेपछि हाम्रो गाडी त्यही रोकियो’, उनले सुनाए ।
शुक्रबारको दिन त्यहीँ बित्यो । शनिबार बिहान त रोशी खोला उर्लिएर आयो । हेर्दाहेर्दै केही सय मिटरको दुरीमा रहेको कालढुंगा बस्ती बाढीमा पर्यो । घरहरु ढले, सडक बगायो ।
रोशी खोलाले मंगलटार बजारभन्दा अगाडि (धुलिखेलतर्फ) बोक्सीकुना, नर्के, चौकी डाँडालगायतका ठाउँमा पनि वीपी राजमार्ग बगाएको थियो । ‘अगाडि जान पनि सकेनौं, फर्किएर काठमाडौं आउने अवस्था पनि रहेन’, धनञ्जय भन्छन्, ‘शनिबार पनि हामी गाडीमै बस्यौं ।’
आइतबार भने यात्रुहरु त्यहाँबाट हिँड्ने निर्णयमा पुगे । किनकी बाढीले क्षतविक्षत राजमार्ग तत्काल बन्ने सम्भावना थिएन । कतारबाट ल्याएको सामानहरु भएको सुटकेस बसबाट निकाले, इलाका प्रहरी कार्यालय, मंगलटारको जिम्मा लगाए । ‘विदेशदेखि ल्याएको सामान छोडेर आएको छु । बालबच्चाका लागि ल्याएको सामानहरु थियो’, उनले भने, ‘जहिले बाटो बन्छ, त्यो बेला लिन आउँछु भनेको छु ।’
आइतबार बिहान मंगलटारबाट हिँड्न त हिँडे, तर बाटो कहाँ सजिलो थियो र ! कहिले खोला तरे, कहिले पहरामा ज्यान दाउमा लगाएर हिँडे । कतै गाउँलेले हात दिए, त्यसमा समातेर उक्लिए ।
आइतबार साँझ भकुण्डेबेसी आइपुगे । सोमबार अपरान्ह बेलामा आइपुग्दा उनले लगाएको जुत्ता च्यातिइसकेको थियो । शरीरमा हिँड्ने तागत थिएन । तैपनि नहिँडी सुख थिएन । त्यसैले हिलाम्मे सडकमा थकाई मार्दै हिँड्दै गरेका धनञ्जयले भने, ‘हामी त बाँचेर आयौं, यो नै ठूलो हो !’
आइतबारदेखि नै वीपी राजमार्गमा जोखिम मोलेर हिँड्नेहरुको लर्को छ । त्यही हिडाइमा बैदेशिक रोजगारीबाट फर्केका र जान लागेकाहरु धेरै भेटिए ।
सप्तरीको राजविराजका– का ३५ वर्षीय मोहम्मद रजाकले त सुटकेस गाडीमै छोडेर हिँडेका छन् । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका उनी बिदामा आएका थिए । तर बाटोमै अलपत्र परेपछि गाडीवाला (सयपत्री यातायात) लाई सुटकेस जिम्मा लगाएर पैदल हिँडेर काठमाडौं फर्किएका हुन् ।
धनुषाधाम नगरपालिका–५ धनुषाका रञ्जित महतो पनि कतारमा एउटै कम्पनीमा काम गर्ने साथीहरु रामप्रकाश महतो र भरोसी मण्डलसँग घर फर्किएका थिए । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरु ट्याक्सी चढेर सिधै गौशाला गए, अनि बसको टिकट काटेर घरतिर हुइँकिए ।
तर मंगलटारबाट अगाडि जान सकेनन् । दुई दिन सडकमा बास हुँदा पनि अगाडि बढ्ने वा फर्किने दुबै बाटो नपाएपछि अरु जस्तै उनीहरु पनि हिँड्ने भए । तर खोला तर्नुपर्ने, पहरा छिचोल्नुपर्ने बाटोमा विदेशदेखि ल्याएको सुटकेसहरु कसरी लैजाने ? बजारमा एउटा घरमा सुटकेस जिम्मा लगाए ।
हिँडेर बेलासम्म आइपुगेका उनीहरु साँझसम्म काठमाडौं पुग्न सकियो भने विमानबाटै भएपनि घर जाने योजना छन् । ‘शनिबारदेखि घरमा राम्रोसँग कुरा भएको छैन, सबै आत्तिएका छन्’, रञ्जित भन्छन्, ‘बाटो कहिले बन्ने, सुटकेस लिन कहिले आउने तनावै तनाव छ ।’
बैदेशिक रोजगारीबाट फर्किएकाहरु मात्र होइन, बिदा सकेर फेरि रोजगारीमा जान हिँडेकाहरु पनि मारमा परेका छन् ।
उनीहरुमध्ये एक हुन् मोरङका जोगिन्दर साह । ज्याकेटको नाम्लो बनाएर सुटकेस सडक किनारको डिभाइडरमा अडेस लगाउँदै जोगिन्दरले आफैंलाई प्रश्न गरे, ‘अब फेरि कतिबेर कुर्ने हो ?’
मोरङका जोगिन्दर तीन वर्षअघि दुबई पुगेका थिए । दुबईमा तीन वर्षसम्म बारिष्ताको काम गरे । परिवारको गर्जो टारे । एक महिना छुट्टीमा आएका उनी फेरि कम्पनीमा हाजिर हुनुपर्ने हतारोमा थिए ।
त्यसैले नजिकिएको दशैं भुलेर शुक्रबार बिहान काठमाडौं जान गाडी चढे । तर उनी सवार गाडी काभ्रेको मंगलटारबाट अघि बढ्न सकेन । शुक्रबारदेखि आएको वर्षाका कारण गाडी रोकिएको थियो ।
त्यसरात उनले गाडीमै बिताए । शनिबार बिहानबाट बाटो खुल्ला भन्ने लागेको थियो । तर परिस्थिति उनले सोचेजस्तो भएन । पानी रोकिने छाँट थिएन भने बाटाकोे अवस्था पैदल हिँड्न सक्ने पनि भएन ।
जोगिन्दर शनिबार मध्यान्हबाट हिँड्न कस्सिए । ‘मलाई हिँड्नुपर्ने बाध्यता थियो । शनिबार रातिको दुबइको फ्लाइट थियो । एअर अरेबियाको टिकट काटिसकेको थिएँ’, जोगिन्दरले सुनाए, ‘अलिकति हिँडेपछि गाडी भेटिएला भन्ने थियो । तीन दिन हिँड्दा पनि अहिले यही छु ।’
बाटोमा अलपत्र परेको थाहा पाएपछि जोगिन्दरलाई आमाले भनेकी थिइन्, ‘सुटकेश फाल्दे, एक्लै हिँडेर काठमाडौं जा ।’ तर जोगिन्दरले ज्याकेटको नाम्लो बनाएर तीन दिनसम्म सुटकेश बोकेरै भिर पहरा छिचोले । ‘सास्ती पाएको कुरा नगरौं, बाँचियो । त्यही ठूलो कुरा भयो’, जोगिन्दरले भने ।
सोमबार अपरान्ह बेलामा भेटिएका उनलाई एउटै चिन्ता छ– अब मेरो पुरानो टिकटले काम गर्छ कि गर्दैन ? उनका अनुसार उनले एअरलाइन्समा कुरा गरेका थिए, तर २४ घण्टा अघि भन्नुपर्थ्यो भनेको छ ।
****
बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका साथै काभ्रेमा ठूलो धनजनको क्षति भएको छ । रोशी खोलामा आएको बाढीले पनौतीदेखि दुम्जासम्म ठूलो क्षति गरेको छ । नदी किनार आसपासका बस्तीहरु बगाएको छ । बीपी राजमार्ग विभिन्न ९ ठाउँमा ठूलो क्षति भएको छ ।
काभ्रे भञ्ज्याङदेखि भकुन्डेसम्म घुम्तीपिच्छे पहिरो खसेको छ, रुख लडेको छ । सोमबार अपराह्नसम्म डोजरको सहयोगले सडकमाथि थुप्रिएको ढुंगा–माटो पन्छाएर भकुन्डेबेसीसम्म एकतर्फी रुपमा सडक खुलाइएको छ ।
थुप्रै ठाउँमा सडकमा चिरा परेको छ भने पहिरो गएको ठाउँमा कुनै पनि बेला सडक भासिनसक्ने जोखिम छ ।
भकुन्डेबसीदेखि नेपालथोकसम्म थुप्रै ठाउँमा पहिरो र बाढीले सडक नै बगाएकाले तत्काल यातायात सञ्चालनको सम्भावना छैन । रोशी खोलाको बाढीले ठाउँठाउँमा सडक नै बगाएका कारण दजनौं सवारी साधन राजमार्गमा अलपत्र परेका थिए । अलपत्र परेका यात्रुहरुमध्ये घाइते, विरामी, बृद्धबृद्धा गरी ६१८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।
तर ठूलो संख्यामा यात्रु अलपत्र थिए । सार्वजनिक स्थलहरुमा सुरक्षित रुपमा राख्ने, खाना पानी दिने जस्ता काममा पुलिस प्रशासन र स्थानीय तहले धेरथोर काम गरेको छ । तर उद्दार तथा राहतमा पनि जुट्नुपर्ने उनीहरुले यति धेरै मानिसहरुको व्यवस्थापन सम्भव थिएन र, भएन । स्रोत साधनले सम्पन्न संघीय सरकारले समन्वयका लागि समेत भूमिका खेलेन ।