काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा ललितपुर क्वीन्सले काठमाडौँ स्पाइकर्सलाई पराजित गर्दै प्रतियोगितामा विजयको सुखद् सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज भएको उद्घाटन खेलमा ललितपुरले काठमाडौँलाई ३–१ को सेटमा पराजित गरेको हो । खेलमा पहिलो सेट ललितपुरले काठमाडौँमाथि २५–२० ले जित्यो ।
खेलको दोस्रो सेट भने काठमाडौँले आफ्नो पक्षमा पार्यो । काठमाडौँले ललितपुरमाथि २५–२१ को जित निकाल्यो । त्यसपछिको खेलमा ललितपुर नै विजयी भयो । ललितपुरले खेलको तेस्रो सेट २५–२१ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै जित हासिल ग(यो ।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहासमै पहिलो पटक आयोजना भएको उक्त प्रतियोगितामा छ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा काठमाडौँ स्पाइकर्ससँगै ललितपुर क्वीन्स, मधेस युनाइटेड, चितवन शक्ति, गण्डकी थन्डर्स र टिम कर्णाली छन् । हरेक टोलीमा विदेशी खेलाडीको सहभागिता छ ।
सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । फाइनल खेल यही असोज १९ गते हुनेछ । उक्त प्रतियोगिताका लागि टिकट दर ‘भिआइपी’तर्फ रु एक हजार पाँच सय र साधारणतर्फ रु एक हजार निर्धारण गरिएको छ । रासस