काठमाडौँ । सरकारले काठमाडौँ तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई मकवानपुरमा करिब ३३ हजार ९ सय ७५ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले काठमाडौँ तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई आवश्यक पर्ने मकवानपुरको सो जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिब ५ बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, ललितपुर महानगरपालिकालाई गणतन्त्र कोरियाको चिवरगुन नगरसंग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने र सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका सर्तहरू पालना गर्ने गरी हटाउने निर्णय गरेको छ ।
यसैगरी मन्त्रिपरिषद् बैठकले विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरी आर्थिक वर्ष २०८१/८२ का लागि १६ अधिकृत स्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने, राष्ट्रिय सहकारी विकास बोर्डको रिक्त सदस्य सचिव पदमा रुपन्देहीका डा खगराज शर्मालाई नियुक्त गर्ने लगायतका निर्णयहरू गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।