६ भदौ, काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले पहिलो हाफमा २-१ को अग्रता कायम राखेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपालले २० मिनेटभित्रै दुई गोल गरेको थियो । तर बंगलादेशले पहिलो हाफमै पेनाल्टीमा एक गोल फर्कायो ।
१७ औं मिनेटमा समिर तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । बंगलादेशका गोलकिपर मेहदी हसन स्राबोनअघि बढेको अवस्थामा समिरले बल खोस्दै खाली पोष्टमा गोल गरे । १८ मिनेटमा निराजन धामीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।
३६ मिनेटमा निराजन धामीको फ्री हेडर पोष्ट नजिकबाट बाहिर जाँदा नेपालले अग्रता बढाउने अवसर गुमायो ।
४३ औं मिनेटमा बंगलादेशले पेनाल्टीमा गोल फर्कायो । नेपालका राम थापाले बंगलादेशका मिराजुल इस्लामलाई पेनाल्टी बक्समा फल गरेपछि बंगलादेशले पेनाल्टी पाएको थियो । त्यसमा इस्लामले गोल गर्दै गोल अन्तर कम पारे ।