‘ना, शीतल गोचा न:’ (‘ला, शीतल गोला खाऊ)
पसलकी साहुनीले सानो सेतो चकलेट हातले दिंदै भन्नुभयो ।
शीतल गोचा, यानी कि त्यो सानो चकलेट मुखमा राखेपछि शीतल हुन्छ, अनि गुलियो पनि । पिपलामेट पनि भनिन्थ्यो । पिपलामेट भनेको पेपरमिन्ट । हिन्दीमा, नेपालीमा पुदिना । पुदिनाको अचार खाइन्छ । पुदिनाको पात मात्र चपायो भनेपनि मुख शीतल हुन्छ । यही स्वाद हालेर गुलियो चकलेट बनाइदिएपछि पेपरमिन्ट चकलेट – भन्न सजिलोका लागि पिपलामेट, बुझ्न सजिलोका लागि नेवारीमा शीतल गोचा, अर्थात् शीतल हुने गोला ।
म पाँच-छ वर्षको हुँदो हुँ, आमासँग घर नजिककै पसलमा आमाकै पछिपछि लागेर फरिया समाउँदै जाने । आमा पसलमा पुगेपछि चना, बोडी, मास, सिमी, चिउरा, चामल जस्ता अन्न, गेडागुडी राख्न काठको बाक्सा बाक्सा मिलाएर राखेको माथि फल्याकमा बस्नु हुन्थ्यो । अनि पसलकी साहुनी छिमेकी फुपू जस्तै नै । आमा र फुपूको कुरा मिल्ने । कुरा गर्दै चाहिने सामान लिनु हुन्थ्यो ।
२०३०-३१ सालतिर धुलिखेल ।
‘अदुवा कस्तो छ ?’ आमाले सोध्नुभयो ।
‘राम्रो छ, भर्खर उखालेर बेच्न ल्याएको ।’
पुष्टपुष्ट अदुवा दुई-तीनवटा पुरानो तराजुमा राख्नुभयो । तराजुको अर्कोतिर ढक २०० ग्राम अर्थात् एक पाउ जोखिसकेपछि एउटा कागजमा पोका पार्नुभयो र साइडमा राख्नुभयो ।
‘अनि नानीहरु खोइ त ?’ साहुनी फूपुले सोध्नुभयो ।
‘पानी लिन गयो होला ।’ आमाले जवाफ दिनुभयो ।
त्यतिबेला घरमा धारा हुने कुरै थिएन । टोलभरिको एउटा धारा । बेलुकी ५ बजेतिर आउने ७ बजेतिर बन्द हुने । बिहान ४ बजेतिर आएर ७ बजेतिरै बन्द हुने । दुई अढाई घण्टामा टोलका सबैले गाग्री लिएर आवश्यक पानी भरेर घरमा ल्याउनुपर्ने । त्यही पानीले खाना पकाउने, भाँडाकुँडा माझ्ने, मुख धुने गर्नुपर्ने । त्यही धारा नि कहिलेकाहीं आएन भने धुलिखेल बाहिरको ढुंगे धारामा गएर पानी ल्याउनुपर्ने । अहिलेको जस्तो घरघरमा धारा कहाँ हुनु ?
मेरी दिदीहरु १३ र १५ वर्षका । पानी ल्याएर सघाउनु हुन्थ्यो आमालाई । खाना पकाउन पनि सघाउनुहुन्थ्यो, लुगा धुन पनि सघाउनु हुन्थ्यो ।
‘अरु के राखूँ ?’
‘गोसं व: जी नं एक पाउ ति ।’ (धनिया र जीरा नि एक पाउ राख्नु) आमाले भन्नुभयो ।
अदुवा झिकिसकेपछि तराजु पाँचपाटे फलामको २०० ग्रामको ढकतिर ढल्केर बसेको थियो । सामान राख्ने फलामको थालमाथि उचालिएर तीनवटा डोरीमा झुण्डी हल्लिराखेको थियो । त्यही थालमा एक पन्ना स्कुलको गृहकार्य गरिसकेको कापीको पन्ना च्यातेर ओछ्याउनुभयो । हातैले जीरा एक मुठ्ठी हाल्नुभयो । एक मुठ्ठीले नपुगेर थप्नुभयो । फेरि सुकेको धनियाँको गेडा पनि थप्नुभयो । तराजुको काँटा ठ्याक्कै मिलेपछि जीरा धनियाँ निकालेर पोका पार्नुभयो ।
अहिलेको जस्तो प्लास्टिकको झोला पाइँदैनथ्यो । सबैजसो कागजमा पोका पारेर दिन्थ्यो । कहीं कहीं कागजको थुँगा बनाएर राख्थ्यो । धेरै छ भने थुँगामा । कागज पनि वरिपरिका केटाकेटीहरुले वर्षभरि स्कुलमा प्रयोग गरिसकेको कापी बेच्न ल्याएको हुन्थ्यो । त्यही कागज प्रयोग हुन्थ्यो । कुनै कुनै परिवारमा त्यही कापी पनि गहुँको माडले टासेर थुँगा बनाएर बेच्थ्यो । पैसा पनि अलि धेरै थुँगा भएपछि अलि धेरै सामान पनि सजिलोसँग अट्ने ।
कसैकसैको पसलमा त स्कुलको अन्तिम परीक्षाको कापी पनि पाइन्थ्यो । कुन विद्यार्थीले परीक्षामा कस्तो लेख्यो ? कति नम्बर पायो ? भन्ने नि थाहा पाइन्थ्यो ।
‘अब के राखूँ ?’ सोध्नुभयो ।
‘आधा माना नुन र आधा लिटर मट्टीतेल नि दिनु ।’
नुन पसल बाहिर जुटको बोरामै थियो । नुन पसल बन्द हुँदा नि बाहिर नै हुन्थ्यो । नुन कसैले लैजाँदैन्थ्यो । ‘नुन कसैको सित्तैंमा खानु हुँदैन’ भन्ने कहावत नै थियो ।
उठेर आएर आधा माना नुन भरेर दिनुभयो । मट्टीतेलको लागि आमाले घरबाटै सिसी लानु भएको थियो । त्यही सिसीमा मट्टीतेलको टिनबाट, हेर्दै राम्रो सिलावरको आधा लिटरको नाप्ने भाँडाले नापेर सोलीको मद्दतले सिसीमा भरिदिनुभयो ।
‘चिउरा दुई माना नि राखिदिनु’ आमाले भन्नुभयो ।
मट्टीतेल छोएको हात राम्रोसँग पुछ्दै चिउराको बोरा भएतिर जानुभयो । कालो रङको ठूलो पिंध सानो मुख भएको मानोले दुई माना चिउरा भरेर कागजको थुँगामा हालिदिनुभयो ।
म आमाको खुट्टामा कुहिना अड्याएर काठको बाक्साभित्रको मुसुरो दाल खेलाउँदै थिएँ । मट्टीतेलको बास्ना भिन्दै किसिमको आइराखेको थियो । भित्तामा विभिन्न सामान अबीर, बिस्कुट, चुरोट, सलाई, टूथब्रस, टूथपेस्ट, साबुन, कापी, मसी, डटपेन आदि मिलाएर राखेको । ठूलो ठूलो सिसाको भाँडामा भिन्नभिन्न खालको चकलेट नि थियो । मेरो आँखा त्यतैतिर डुलिराखेको थियो । एउटा सिसीमा खैरो रंगको दूधिलो स्वादको नेबिको चकलेट थियो एउटाको १० पैसावाला । अर्को सिसीमा सुन्तलाको केस्रा जस्तै आकार र रङको चकलेट थियो एउटाको पाँच पैसा । पिपलामेट सेतो पाँच पैसाको दुइटावाला पनि थियो । मलाई साउनी फुपूले त्यही दिनुभयो । अर्को सिसीमा रंगीचंगी गुच्चाजस्तो थियो । चुइङ्गम पनि थियो रातो कडा खालको सानो सानो कागजको बट्टामा । चुइङ्गम खान रहर लाग्थ्यो तर पाइँदैनथ्यो, गोजीमा पैसा हुन्नथ्यो । चुइङ्गम खाने पैसा माग्यो भने त्यो घाँटीमा अड्किन सक्छ भनेर खाने अनुमति नै हुँदैनथ्यो ।
मलाई चकलेटको दाम थाहा थियो किनभने कहिलेकाहीं किनेर खाइन्थ्यो । अरु आमाले किन्नुभएको सामानको दाम थाहा थिएन ।
चिनी छुट्टै भाँडामा । फलामको तारले राम्रोसँग बुनेर बनाएको ढक्की जस्तो कुखुराको अण्डा थियो । कुखुराको अण्डा आमाले किन्नुभएको खासै याद छैन । घरमै दुई-तीनवटा कुखुरा थिए । अण्डा पार्ने माउ पनि । त्यसैले होला कहिलेकाहीं खान पाउने अण्डा घरकै होला ।
पुरानो इँट्टा माटोको घर, काठको दलिन, काठकै फल्याकले बारेर बनाएको पसल । काठकै ढोका । पसलमा विभिन्न खाद्यान्नदेखि चकलेट चुरोट, तेल, मट्टीतेल सबै घरायासी सामान पाउने । अनौठो गन्ध । कुनातिरबाट एउटा मुसा दगुर्यो । खानेकुराको खोजीमा मुसा त कति होला कति ।
आमाले यी सबै सामान लान एउटा सानो डालो ल्याउनुभएको थियो । डालोमा सबै चीज राख्दै गर्नुभयो । कहिलेकाहीं थोरै सामान भयो भने फरियाको सप्को वा ओढ्नेमै पोका पार्नु हुन्थ्यो ।
‘खै चुरोट एक बट्टा पनि दिनु त ।’ आमा आशा चुरोट खानु हुन्थ्यो । चुरोट चाहिं आमाले कम्मरमै फरियाको फेरोभित्र घुसाउनुभयो । सलाई एक बट्टा पनि किन्नुभयो ।
‘हिसाब लेख्नु है नानी ।’ भन्नुभयो आमाले ।
‘भइहाल्छ नि आमा ।’
आमाले सायद १० रुपैयाँको नोट म्हेचा (थैली) बाट निकालेर दिनुभयो ।
‘ल यत्ति लिनु, पहिला लगेको कटाएर, नपुग लेख्नु है ?’ आमाले भन्नुभयो ।
‘हस् आमा हस् ।’
आमाको म्हेचा हाम्रो लागि पैसाको ढुकुटी । भित्र कति पैसा हुन्थ्यो हामीलाई थाहा हुँदैनथ्यो । तर त्यहाँबाट जतिबेला पनि पैसा निस्किन्छ जस्तो लाग्थ्यो । आमाले मायाले पाँच पैसा निकालेर दिएपछि आफू राजा नै सम्झिन्थ्यो । कहिलेकाहीं आमासँग टाँसिएर बस्दा म्हेचा समाउन पुग्यो भने बाहिरबाटै भित्र ढ्याक भएको थाहा भइहाल्थ्यो । पाँच पैसा, १० पैसा, सुकी (२५ पैसा), मोहर (५० पैसा), डबल (एक रुपैयाँ)को ढ्याकहरु भएपछि अलि गह्रुङ्गो हुन्थ्यो । नोट त १ रुपियाँ, २ रुपियाँ, ५ रुपियाँ, १० रुपियाँका पुराना नोटहरु । सँगै नङ काट्ने, सानो भिक्स, लाइटर, साँचो, कहिलेकाहीं ल्वाङ, अलैंची पनि हुन्थे ।
हिसाब सकेर आमा डालो र मट्टीतेलको सिसी बोकेर घर आउनुभयो । म पछि पछि लागें ।
घरमा आएर चिउराको एक फ्वाँक खाएँ । प्रायजसो खाजा भुटेको मकै, गहुँको रोटी नै हुन्थ्यो । त्यो दिन चिउरा किनेर ल्याउनु भएकाले खाएको चिउरा त मीठो नै हुन्थ्यो । तर मट्टीतेलको गन्ध मिसिएको । जिब्रोमा चिउराको स्वाद, नाकमा मट्टीतेलको गन्ध अनौठो सम्मिश्रण ।
त्यो बेलाको किनमेल, अहिलेको किनमेल ।
किनमेल किनमेल नै हो । फरक छ त सामानको मूल्य, प्याकेजिङ, साजसज्जा, बिक्री गर्ने शैली ।