२७ असार, काठमाडौं । ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बैंकका अनुसार बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो ।
नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरूको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ ।
बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरूमा निक्षेप बढेको बैंकले जनाएको छ ।
निक्षेपका साथसाथै धेरै सूचकहरूमा अन्य बैंक तथा वित्तीय संस्थाहरूभन्दा अगाडि रहेको बैंकको दाबी छ ।
वाणिज्य बैंकहरूको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आईएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा ८.८३ प्रतिशत छ ।
ग्लोबल आईएमई बैंकको ५ सय अर्ब रुपैयाँभन्दा बढी निक्षेप हुने विषय यस बैंकको मात्र सफलताको प्रतिविम्ब नभई नेपालको बैंकिङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको संकेत भएको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए ।
‘निक्षेप रकम ५०० अर्ब रुपैयाँ पुग्नु हाम्रो लागि एक उल्लेखनीय उपलब्धि हो । यो उपलब्धिले उत्कृष्ट बैंकिङ सेवाहरू प्रदान गर्दै ग्राहकसँग सुमधुर सम्बन्ध स्थापना गर्न सफल रहेको प्रमाण हो,’ बज्राचार्यले भने, ‘यसले भविष्यमा बैंकिङ क्षेत्रमा थप नयाँ प्रविधिहरू भित्र्याउँदै सबैका लागि उत्कृष्ट र विश्वासनीय बैंकिङ सेवा प्रदान गर्न थप प्रेरणा दिनेछ ।’