Thursday, November 28, 2024
घरसमाचारराजनीतिराष्ट्रिय दलको मान्यता दिलाउन नसकेका नेताद्वयको नेतृत्वमा प्रतिस्पर्धा

राष्ट्रिय दलको मान्यता दिलाउन नसकेका नेताद्वयको नेतृत्वमा प्रतिस्पर्धा

काठमाडौं। नेकपा(एमाले)बाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले दशौं राष्ट्रिय महाधिवेशन गर्न लागेको छ।

यही असार १६-२० सम्म काठमाडौंमा हुन लागेको पार्टी विभाजन पछिको पहिलो महाधिवेशनलाई राजनीतिक रुपमा भने दशौं महाधिवेशनको संज्ञा दिइएको छ।

एमालेको राजनीतिक स्वामित्व लिएको बताउँदै उक्त दलले आगामी महाधिवेशनलाई दशौं महाधिवेशन भएको जनाएको छ। यस अघि एमालेले चितवनमा गरेको दशौं महाधिवेशनलाई अस्वीकार गर्दै एकीकृत समाजवादीले यसलाई दशौं महाधिवेशनका रुपमा लिएको हो।

महाधिवेशनमा पार्टीको आगामी राजनीतिक कार्यदिशा र नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। पार्टी अध्यक्ष माधव कुमार नेपाल र अर्का सम्मानित नेता झलनाथ खनालबीच नेतृत्व हत्याउन अहिलेदेखि सार्वजनिक अभिव्यक्ति प्रकट गरिसकेका छन्।

एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलिय जनबाद(जबज)लाई नै राजनीतिक कार्यक्रममको रुपमा अपनाउँदै आएको एकीकृत समाजवादीले आगामी महाधिवेशनमा यसको विकल्पमा नयाँ राजनीतिक कार्यदिशा तय गर्ने तयारी गरेको छ।

यद्यपि अध्यक्ष नेपाल भने जबजलाई नै निरन्तरता दिनुपर्ने पक्षमा रहेका छन्। उनले सार्वजनिक रुपमा जबजको पक्षमा वकालत गर्दै आइरहेका छन्।अर्का सम्मानित नेता खनाल भने सुरुदेखि नै जबजको विरोधी हुन्। एमालेले पाँचौं महाधिवेशनदेखि मार्गदर्शक सिद्धान्तका रुपमा अंगीकार गरेको जबजलाई उनले त्यतिबेलादेखि नै आलोचना गर्दै आएका थिए।

जबजलाई ‘दक्ष प्रजापतिको टाउको’को संज्ञा दिएका खनाल यसको विकल्पमा अहिलेको राजनीतिक परिवेश अनुरुप नयाँ समाजवादी कार्यदिशासहितको राजनीतिक कार्यक्रम तय गर्नुपर्ने मत व्यक्त गर्दै आइरहेका छन्।

यसले पनि आगामी महाधिवेशनमा पार्टीको राजनीतिक कार्यक्रम र नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा हुने निश्चित देखिएको हो।

एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीले फरक राजनीतिक अस्तित्व कायम गर्न नसकेको भन्दै सम्मानित नेता खनालको असन्तुष्टि अहिले पनि कायमै छ । त्यसैले उनले आगामी महाधिवेशनमा नेतृत्वको आकांक्षा सार्वजनिक रुपमा व्यक्त गरेको बताएका छन्।

सकेसम्म सर्वसम्मत नेतृत्व लिने नभए प्रतिस्पर्धाका लागि समेत आफू तयार रहेको खनालले जनाएका छन्। उता नेपाल पनि आफूले नेतृत्व नछाड्ने पक्षमा दृढ छन्। एमालेसँग विद्रोह गरेदेखि आफैंले नेतृत्व गरेको बताउँदै उनले पुनः दाबी गर्ने बताइसकेका छन्।

२०७८ भदौ २ मा एमालेबाट विधिवत रुपमा विभाजित भएको एकीकृत समाजवादीले संसदीय दलका रुपमा राष्ट्रिय दलको मान्यता भने पाउन सकेन। गत निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट जिते पनि समानुपातिकतर्फ ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेपछि एकीकृत समाजवादीको संसदीय हैसियत स्वतन्त्र कायम भएको हो।

दुई जना पूर्वप्रधानमन्त्री नेतृत्वमा भएर पनि राष्ट्रिय दलको मान्यता समेत दिलाउन नसकेको आक्षेप नेपाल र खनालमाथि लागेको छ।राष्ट्रिय दलको मान्यता दिलाउन नसेकका नेताद्वय आगामी पार्टी नेतृत्वका लागि भने तीव्र आकांक्षा देखाएका छन्। महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताद्वयले नेतृत्वमा आआफ्नो दाबी सार्वजनिक गरेपछि नेतृत्वमा दुबैको प्रतिस्पर्धा हुने लगभग निश्चित नै छ।

यद्यपि, एकीकृत समाजवादी निकट स्रोतका अनुसार दुबैको समान दाबी कायमै रहे तेस्रो व्यक्ति नेतृत्वमा आउन सक्ने सम्भावना पनि रहेको छ।

नेपाल र खनालको दाबी यथावत रहे महासचिव घनश्याम भुसाललाई नेतृत्वमा ल्याउने गृहकार्यमा समेत नेताहरु लागेका छन्। नेताद्वय नेपाल र खनालले एक अर्काका विरुद्ध उम्मेदवारी दिए सर्वसम्मतरुपमा भुसाललाई पार्टीको नेतृत्वमा ल्याउने विषयमा पार्टीमा आन्तरिक छलफल सुरु भएको छ।

अहिले एकीकृत समाजवादीका नेताहरु दस्ताबेज लेखनमा व्यस्त छन्। आगामी महाधिवेशनमा पेस गर्ने राजनीतिक र समाजवादी कार्यक्रम बारे दस्ताबेज लेखनमा अध्यक्ष नेपाल र सम्मानित नेता खनाल जुटेका छन् भने सांगठनिक प्रतिवेदन महासचिव भुसालले पेस गर्दैछन्।

स्थायी समिति सदस्य रहेका साध्यबहादुर भण्डारीले पनि छुट्टै राजनीतिक दस्ताबेज पेस गर्न लागेको बताएका छन्। उनले आफू राजनीतिक दस्ताबेज लेखनमा व्यस्त रहेको जानकारी दिए।

उनले भने, ‘अहिले दस्ताबेज लेखनमा व्यस्त छु। महाधिवेशनमा आफ्नो अलगै राजनीतिक दस्ताबेज पेस गर्न लागेको छु।’ महाधिवेशनमा अहिलेको राजनीतिक अवस्था र आगामी समाजवादी क्रान्तिको कार्यभारका विषयमा अलगै दस्ताबेज पेस गर्ने तयारीमा लागेको भण्डारीले बताए।

आगामी महाधिवेशनमा नेतृत्व चयन सर्वसम्मत गरिने बताउँदै भण्डारीले प्रतिस्पर्धा भए खनाल र नेपालको बीचमा हुने सम्भावना प्रबल रहेको औंल्याए।
‘नेतृत्वमा आकांक्षा व्यक्त गर्नु स्वाभाविकै हो। दुबै जनाको प्रतिस्पर्धा भए महाधिवेशन प्रतिनिधिहरुले उचित नेतृत्व चयन गर्नेछन्।’, उनले भने।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -