उदयपुर । उदयपुरको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाको गाईघाट बजारमा आधुनिक सडक बन्ने भएको छ ।
विश्व बैकको आर्थिक सहयोगमा त्रियुगा नगरपालिकाका ४ वटा वडामा १४ दशमलव ५० किलोमिटर आधुनिक सडक बन्ने भएको हो ।
त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरी ४ वटा वडाका ९ वटा सडकको कालो पत्रेका लागि त्रियुगा नगरपालिका र निर्माण व्यवसायीबीच ठेक्का ठेक्का सम्झौता भएको छ ।
विश्व बैङ्कले सहरी विकास मन्त्रालयमार्फत ‘सहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (जीआईआईपी) अन्तर्गत आगामी १३ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्त कुमार बस्नेतले जानकारी दिनुभयो ।
विश्व बैङ्कले गर्ने भौतिक विकास अन्तरगत त्रियुगा नगरपालिकाका गाईघाट टावन प्लानिङका सडक, सिटिहल सिमलटार सडक, बाबारानी डिएम गेट सडक, पिजि चोक–फुलचोक–बोटेटोल–त्रियुगा करिडोर सडक, शिवालय टोल हुँदै करमगाछी सडक, प्रगति टोल हुँदै साकेला टोल सडक, सगरमाथा कृषि बजार पश्चिमबाट जनप्रेमी टोल हुँदै बिसनपुर त्रियुगा करिडोर सडक गरी १४ दशमलव ५० किलोमिटर सडक निर्माण हुने छ ।
आशिष÷आर्शिवाद÷स्वामीनारायण जेभीले करिब ६६ करोड लागतमा आधुनिक सडक निर्माण सम्पन्न गर्नेछ ।
सात प्रदेशका ३३ स्थानीय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारको निर्णय बमोजिम उक्त आयोजनामा नेपाल सरकारलाई विश्व बैङ्कले एक अर्ब ५० करोड अमेरिकी डलर (करिब दुई खर्ब रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।