बाँके । सशस्त्र प्रहरी बल नं । ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेले सीमामा आगलागी नियन्त्रण अभ्यास गरेको छ ।सशस्त्र प्रहरीको अभ्यासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हातेमालो गरेको थियो । ग्याँसमा लागेको आगोदेखि गाउँ बस्ती हुन सक्ने ठूला आगलागीका घटनालाई नियन्त्रण गर्ने अभ्यास गरिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सीमा क्षेत्रमा आगलागी हुँदा त्यसलाई नियन्त्रण गर्न दुवै देशको सुरक्षाकर्मीको हातेमालो आवश्यक रहेकाले संयुक्त अभ्यास गरिएको बताउनु भयो ।सशस्त्र प्रहरी बल नं। ३० गणका प्रमुख एसपी विमल डाँगीले विपद जहिले पनि जहाँ पनि हुन सक्ने भएकाले यस प्रकारका संयुक्त अभ्यास गरिरहनु पर्ने बताउनु भयो ।
सशस्त्र प्रहरी बल नं। ३० गण हेड क्वाटर बागेश्वरी अगुवाइमा भएको यस किसिमको अभ्यासले विपदमा प्रभावकारी उद्धार भएर जनधनको क्षति रोक्ने र यस्ता संयुक्त अभ्यासले नागरिक–सैनिक सम्बन्धलाई अझ सुदृढ गराउने एसपी डाँगीले बताउनु भयो।
कार्यक्रममा नेपाली सेनाको बज्र दल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठ,भारतीय सीमा सुरक्षा बल (एसएसबी )का ४२ नं। बटालियनका कमाण्डेट गंगासिंह उदावत, राष्ट्रिय अनुसन्धानका एसपी ओमबहादुर खड्का, जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीलगायतको उपस्थिति रहेको थियो ।