काठमाडौं । वर्ष २०८० को उत्तरार्धतिर (फागुन दोस्रो साता) एउटा गीत एकाएक भाइरल बन्यो ‘जिन्दगी चल्न त चल्या छ पीरैपीरमा छ’। भूपू पाण्डेको शब्द, संगीत तथा स्वर रहेको यो गीतमा आम नेपाली युवाले आफ्नो कथा पाए ।
युवालाई देशभित्र रोजगारीको समस्या हुँदा कस्तो मनोदशामा गुज्रिन्छन् भन्ने मार्मिक पक्षलाई उजागर गरेको ‘पीरैपीर’ यस वर्ष धेरै रुचाइएको गीतमध्ये एक बन्यो । भूपू पाण्डेलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित नै गराउन सफल बन्यो ।
भूपू पाण्डेको गीतको सन्दर्भ किन राखिएको हो भने सामाजिक यथार्थ चित्रित गीतलाई श्रोताले २०८० सालमा निकै रुचाए । प्रकाश सपूतको ‘दमाई महाराज’ होस् या ‘जाले रुमाल फाट्यो’, यी गीत पनि सामाजिक विषयवस्तुमै आधारित थिए, जसलाई श्रोता-दर्शकले निकै रुचाए ।
वर्ष २०८० मा कति गीत सार्वजनिक भए भन्नेमा ठ्याक्कै आँकलन गर्न त नसकिएला तर युट्युबमा दैनिक डेढ दर्जन हाराहारीमा गीत रिलिज भएको मान्ने हो भने ६ हजार ५०० भन्दा बढी गीत बजारमा आए। तर तीमध्ये केहीले मात्रै श्रोताको मन जित्न सफल भए ।
अहिले गीत रिलिज गर्नका लागि धेरै डिजिटल प्लाटफर्म उपलब्ध छन् । स्पटीफाइ, एप्पल म्युजिक, युट्युब म्युजिक जस्ता अडियो प्लाटफर्ममा नेपाली गीतहरू पनि प्रशस्तै अपलोड भएका छन्। तर पनि गीत हिट वा फ्लप मान्ने मुख्य माध्यम भनेको नेपालमा युट्युब नै हो ।
यस वर्ष युट्युबमा सर्वाधिक भ्युज पाएको आधारमा हेर्दा शान्तिश्री परियारले गाएको लोकगीत ‘अरेली काँडैले’ सुपरहिट हो । त्यस्तै सुशान्त केसीको ‘सारंगी’, एलिना चौहानले गाएको ‘कट्टा हान्दिन्छु’, प्रकाश सपूत र समीक्षा अधिकारीले गाएको ‘जाले रुमाल फाट्यो’, प्रकाश दूतराज र मेलिना राईको स्वरको ‘रिमै’, प्रकाश सपूत र शान्तिश्रीको स्वरमा ‘दमाई महाराज’, सुजन चापागाईंको ‘फूलथुंगे रानी’, यश कुमारको ‘सुस्तरी सुस्तरी’, हेमन्त शर्मा र अस्मिता अधिकारीले गाएको ‘उता परेली झिमझिम भो’, प्रकाश सपूत, कुशल बेल्वासे र प्रताप दासको स्वरमा रहेको ‘मुटु कटक्कै’, युवेश थापाको ‘कसरी’, हिमाल सागर र अन्नु चौधरीको ‘आहा माया’लाई यस वर्ष धेरै रुचाइएका गीतको रुपमा लिन सकिन्छ ।
यस वर्ष गीत त धेरै रिलिज भए तर लामो समयसम्म छाप छाड्न सक्ने भने खासै देखिएनन् । संगीतकार आलोकश्री २०८० सालमा ‘नोटेबल’ गीत आउन नसकेको बताउँछन् । ‘विगतका वर्ष जस्तै यस वर्ष पनि सबै जनराका गीत सार्वजनिक भए । हिट भनिएका गीतको पनि दुई-तीन महिनाभन्दा बढी अवधि रहन सकेन,’ उनी भन्छन्, ‘गत साल तिलकसिंह पेलाको के लत बस्यो भन्ने गीत कालजयी बनेर आयो । तर यस वर्ष स्टेज केन्द्रित गीतको मात्रै बाढी आयो । समग्र नेपाली संगीतलाई योगदान दिने गीत आउन सकेनन् ।’
संगीतकार आलोकश्रीले भने जस्तै यस वर्ष नेपाली संगीतको मूल जनरा मानिएको सुगम संगीतमा आधारित गीतहरू औसत मात्रै रहे । सुगम संगीततर्फ यश कुमारको ‘सुस्तरी सुस्तरी’ सबैभन्दा बढी रुचाइएको गीतको रुपमा रह्यो । यसै वर्ष यश कुमारले नै ल्याएको अर्को गीत ‘तिमी छौ र त’ले पनि श्रोता-दर्शकको मन जित्यो । सुगम संगीतका लोकप्रिय गायकहरू शिव परियार, प्रमोद खरेलका गीतहरू पनि यो वर्ष आए, तर ती सबैले औसत चर्चा पाए । प्रमोद खरेलका ‘तिम्रो साथ विना’, ‘तिम्रो मन बदलियो’, ‘गंगा जमुना’ रुचाइए भने शिव परियारका ‘तिमी हौ सबथोक’, ‘तिमी र म’, ‘धोकेवाज हौ तिमी-३’ गीत रुचाइए ।
गायिकाहरु अञ्जु पन्त, अस्मिता अधिकारी, मिलन नेवार, एलिना चौहान, रचना रिमालका पनि थुप्रै गीत आए तर औसत नै रहे । एलिनाको ‘कट्टा हान्दिन्छु’ले भने चर्चा पायो ।
‘मैले यस वर्ष मेरो सांगीतिक संघर्ष तिमी र म सार्वजनिक गर्ने अवसर पाएँ । मैले पनि केही गीत ल्याएँ । तर गायक-गायिकाको बाध्यता भनौं वा श्रोताहरूले यही शैलीका गीत मात्रै सुन्नुहुन्छ भन्ने भ्रमले हो २०८० सालमा उल्लेख्य आधुनिक गीत सुन्न नपाइएकै हो,’ गायक शिव परियार भन्छन्, ‘गायक-गायिका स्टेज ओरेन्टेड हुँदा आफ्नो मूल जनरामाथि अन्याय भइरहेको मैले महसुस गरेको छु । त्यसैले यस वर्ष आधुनिक गीतहरू नोटिस्ड हुने गरेर नआएकै हुन् ।’
गायक परियारले भने जस्तै सुगम संगीतमा ‘नोटेबल’ गीत नआएकै हुन् । अन्य जनराको हकमा लोकगीतको आफ्नै सदावहार ‘क्रेज’ देखियो भने पप संगीतमा नयाँ पुस्ताका सुशान्त केसी, स्वप्न सुमन, युवेश थापाहरूका गीतका आफ्नै उल्लेख्य श्रोता रहे ।
कुनै समय नेपाली संगीतमा दबदबा कायम राख्ने फिल्मी गीतको जनरा यस वर्ष भने खास नदेखिएको संगीतकार आलोकश्री बताउँछन् । ‘फिल्मका गीत यस्ता भए कि पर्दामा हेरुन्जेल रहने र पर्दा अफ हुनासाथ गीत पनि झर्ने अवस्था छ अहिले । त्यसमाथि गीत नै फिल्ममा नराख्ने प्रचलन बढ्दै गएको छ । त्यसैकारण खासै फिल्मी गीतका जनराको चर्चा गर्न आवश्यक नै हुन छाड्यो ।’
यस वर्ष फिल्मी गीतहरूमा काले केटाले (ऐंचोपैंचो), रीत (जारी), फूल (ऊनको स्वेटर), हाम्रो जोडी (महाजात्रा) लगायत गीत चर्चामा रहे ।
स्टेज र रेकर्डिङमा चल्तीका कलाकारलाई भ्याईनभ्याई
कोभिडपछि गत वर्षदेखि पूर्ण लयमा फर्किएको स्टेज कार्यक्रममा यस वर्ष कलाकारहरूको व्यस्तता झनै बढ्यो । स्थापित गायक-गायिकादेखि एक-दुई गीत चर्चित भएका कलाकारसम्म देशभर आयोजना भएका मेला-महोत्सव र विदेश कार्यक्रममा सरिक भए। यसबाट कलाकारको आम्दानीको ग्राफ पनि राम्रैसँग बढ्यो । अस्मिता अधिकारी, प्रकाश सपूत, शान्तिश्री परियार, एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारीहरूको त काठमाडौं ट्रान्जिट जस्तो मात्रै बन्यो । उनीहरू एकपछि अर्को कार्यक्रममा देश-विदेशको यात्रामा निस्किरहे, काठमाडौं त विमान चढ्ने ठाउँ मात्रै बन्यो उनीहरूका लागि ।
सुगम संगीतका लोकप्रिय गायक-गायिकाहरू रामकृष्ण ढकाल, यम बराल, राजेशपायल राई, अञ्जु पन्त, प्रमोद खरेल, शिव परियार, मेलिना राई, मिलन नेवार, हेमन्त शर्मा, हिमाल सागर लगायत पनि वर्षैभर स्टेज र स्टुडियो दुवैतिर व्यस्त बने । नयाँ पुस्ताका सुशान्त केसी, सज्जनराज वैद्य, युवेश थापा, स्वप्न सुमन, भिटेनले पनि देश-विदेशमा कन्सर्ट गरे ।
ब्यान्डतर्फ लोकप्रिय लोकरक ब्यान्ड ‘नेपथ्य’ले जबर्जस्त उपस्थिति जनायो । देशका विभिन्न शहरका साथै यो ब्यान्ड यस वर्ष अष्ट्रेलिया, क्यानडा, जापान लगायत मुलुकमा गुञ्जियो । अर्को पुरानो ब्यान्ड ‘कन्दरा’ले गृहनगर पोखरामा कन्सर्ट गर्दै आफूलाई धेरैपछि स्टेजमा फर्कायो ।
गायक शिव परियार यो वर्ष देश-विदेशमा निकै कार्यक्रम आयोजना हुँदा कलाकारहरू व्यस्त बनेको बताउँछन् । ‘म पनि नेपालका विभिन्न शहर र जिल्लाका कार्यक्रमहरूमा सहभागी भएँ । यो वर्ष क्यानडा, थाइल्याण्ड र मध्यपूर्वका देशहरूको कन्सर्टमा सहभागी हुने अवसर पाएँ, त्यस्तै अमेरिका भ्रमण पनि गरें,’ उनी भन्छन्, ‘समग्रमा मेरो जस्तै अन्य कलाकारको स्टेज व्यस्तता निकै बढ्यो । यसबाट देशभित्र र डायस्पोराका दर्शक-श्रोतासँग साक्षात्कार हुन पाउनुका साथै आर्थिक रुपमा पनि कलाकारलाई राम्रै भएको मान्न सकिन्छ ।’
जसलाई यस वर्ष संगीत क्षेत्रले गुमायो
२०८० साल नेपाली संगीतका लागि दु:खद् वर्षका रुपमा पनि रह्यो। यस वर्षको फागुन १४ गते भजन शिरोमणि भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भयो । नारायणगोपाल, प्रेमध्वज प्रधानका समकालीन आचार्यको निधनले नेपाली संगीतले एक अभिभावक गुमायो ।
संगीतकार आलोकश्री भन्छन्, ‘हाम्रो पुस्ता उहाँहरूको पुस्तालाई सुनेर, देखेर प्रोत्साहित भएर आएको हो । भक्तराजज्यूको नेपाली संगीतमा अतुलनीय योगदान छ। म त भन्छु जुन दिनदेखि स्वास्थ्यका कारण उहाँले संगीतमा पूर्णविराम लगाउनुपर्यो त्यो दिन सुगम संगीतमा ठूलो स्वरको अवसान भएको थियो । यो वर्ष भौतिक रुपमा उहाँ रहनुभएन, यो अर्को कालो दिन हो। नेपाली संगीतले सुरको महाराज नै गुमाएको छ ।’
यसै वर्ष गायक योगेश वैद्य, गायिका दिलमाया खाती, रकगायक रोबिन तामाङले पनि संसारबाट बिदा लिए ।
युट्युब बाहेक अन्य अडियो प्लाटफर्मतिर पनि आकर्षण
नेपाली गीत-संगीत स्ट्रिमिङको मुख्य माध्यम हालसम्म युट्युब नै रहँदै आएको छ । खर्च गरेर म्युजिक भिडियो बनाउने र युट्युबमा गीत रिलिज गर्ने अहिलेको ट्रेन्ड हो । युट्युबमा राखिने भएपछि जुनसुकै स्तरको भए पनि भिडियो निर्माण गर्नैपर्ने बाध्यता हुन्छ । खर्च पनि मनग्ये हुन्छ ।
अहिले इन्टरनेटको दुनियाँमा यस्ता प्लाटफर्महरू छन्, जहाँ अडियो मात्रै राखेर पनि आम्दानी गर्न सकिन्छ । स्पटीफाइ, एप्पल म्युजिक, युट्युब म्युजिक लगायत प्लाटफर्ममा केही कलाकार र सर्जकले आफ्ना सिर्जनाबाट राम्रै कमाइ गरिरहेका छन् । यस वर्ष अघिल्ला वर्षहरूमा भन्दा यी प्लाटफर्ममा गीत राखेर आम्दानी गर्ने कलाकार र सर्जकहरू बढेको नेपालका चर्चित कलाकारहरूको सामाजिक सञ्जाल व्यवस्थापन गर्दै आएका आईटीविज्ञ राजेन्द्र अर्याल बताउँछन् ।
‘पछिल्ला वर्षहरूमा अडियो प्लाटफर्मलाई लिएर कलाकारहरू सिरियस हुन थालेका पनि छन् । तर जति हुनुपर्ने हो त्यति चाहिं छैन,’ अर्याल भन्छन्, ‘यस वर्ष अडियो प्लाटफर्मबाट धेरै कलाकारले राम्रै कमाइ गरे । म त भन्छु सबैले यस्ता प्लाटफर्मको प्रयोग गरेर नेपाली संगीतलाई अझै ठूलो मासमा पुर्याऔं ।’
युट्युबको भ्युज गनेर मात्रै नबस्न उनी सबैलाई आग्रह गर्छन् । ‘यद्यपि सर्जक र कलाकारमा अन्य प्लाटफर्मप्रति सचेतना भने बढेको देखिन्छ । यसले गीत-संगीतलाई फाइदा नै गरिरहेको छ,’ अर्याल भन्छन्।
गीतको भिडियो बनाउँदा ‘म्युजिकल फिल्म’ बनाउने ट्रेण्ड यो वर्ष ह्वात्तै बढ्यो । प्रकाश सपूत र आर्टमाण्डुबाट आउने गीत त यस्तै शैलीका आउने गर्थे नै, यस वर्ष यश कुमार लगायत कलाकारले पनि ‘म्युजिकल फिल्म’ शैलीमा गीतको भिडियो ल्याए । यसले भिडियोप्रति दर्शकको आकर्षण बढाए पनि खर्चको सीमा बढेको र शब्द ओझेल पर्ने अवस्था समेत आएको कतिपय संगीतकर्मीले अर्थ्याए ।
गीतको शब्द, संगीत र स्वरमा भन्दा भिडियोमा ध्यान केन्द्रित हुँदा अरु कुरा ओझेलमा पर्न सक्ने उनीहरूको बुझाइ छ । जे भए पनि पाँच मिनेटको गीतलाई भिडियोमा कथा हालेर १५ मिनेटसम्म तन्काउने अभ्यास धेरैले गरे ।
जो विवादले घेरिए
यस वर्ष केही कलाकार आफ्नो क्रियाकलापका कारण विवादमा समेत तानिए । गायक राजेशपायल राई विवाहदेखि सम्बन्धविच्छेद र स्टेजका घटनाले चर्चामा रहे । गत भदौमा तेह्रथुममा आयोजित कार्यक्रममा गीत गाइरहेको बेला पछाडिबाट कानेखुसी गर्न आएका व्यक्तिलाई ब्याक किकको घटना होस् वा सिक्किममा ब्यानर हटाउन लगाएको घटना यी कुराले उनी निकै आलोचित बने ।
साथै उनी व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहे । सङबुङ राईसँग उनको यसै वर्ष औपचारिक रुपमा सम्बन्धविच्छेद भयो । यस्तै राजेशपायलसहित तीन जनालाई मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा मध्यराति अनामनगरस्थित मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गर्यो । भोलिपल्ट बिहान सम्झाईबुझाई उनीहरुलाई छाडिएको प्रहरीले बतायो ।
पर्वतमा गायिका एलिना चौहान र साउन्ड टेक्निसियनबीच ‘लाइभ कन्सर्ट’मै भनाभन भयो । साउण्ड मिलाउने कुरालाई लिएर दुई जनाबीच चर्काचर्की भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो ।
एलिनाले टेक्निसियनलाई साउण्ड मिलाउन आग्रह गरिरहेको र प्राविधिकले चाहिं ‘भोकललाई क्लियर गरेर हामीसँग लेबल माग्नु’भनेर जवाफ दिएको घटना निकै आलोचित बन्यो । यसले संगीतकर्मी र टेक्निसियनका संस्था आमनेसामने समेत हुने अवस्था सिर्जना भयो । पछि आपसी समझदारीमा यो विवाद टुंगियो ।
समग्रमा यस वर्ष नेपाली संगीत औसत मात्रै रहेको संगीतकार आलोकश्रीको निष्कर्ष छ । ‘संगीत क्षेत्र हाँक्ने खालका नयाँ गायक-गायिका जन्मिन सकेनन्, पुरानाको पनि कालजयी गीत आउन सकेनन् । चल्नलाई चल्यो तर निराशाको वर्ष भन्छु म,’ उनी भन्छन्, ‘गायकहरू नजन्मिएको त धेरै भएजस्तो भयो । गायिकाहरूमा नयाँ पुस्ता छाइरहेको बेला गायकमा शिव परियार र प्रमोद खरेलको पुस्तापछि को त ?’
गायक परियार गायक-गायिका स्टेज केन्द्रित गीतको पछि मात्रै लाग्न नहुने बताउँछन् । ‘यस वर्ष सबै जना स्टेज ओरेन्टेड हुँदा राम्रा गीत एक त कम आए, आएका पनि त्यसै हराए । यसमा समीक्षा गरेर अघि बढ्न जरुरी छ,’ उनी भन्छन्, ‘अघिल्लो वर्ष तिलकसिंह पेलाको गीतले एउटा मानक बनाएको थियो । यस वर्ष त्यस्तो केही देखिएन । समग्रमा यो वर्ष नेपाली संगीत क्षेत्रका लागि औसत मात्रै रह्यो ।’