काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारमा छड्के अनुगमन गरेको छ । नेपालीहरूको महान् चाँड दसैँ नजिकिँदै गर्दा कर्मचारीहरू बिदा अघि नै घर गएका समाचारहरू बाहिरिएसँगै वास्तविकता बुझ्न सतर्कता केन्द्रबाट टोली खटिएको थियो।
बुधवार विभिन्न ३१ वटा मन्त्रालय, आयोग, विभाग तथा सिंहदरवार भित्रका निकायहरूमा कार्यरत कर्मचारीहरूलाई दर्शै बिदा शुरु हुनुभन्दा एक हप्ता अगाडी र बिदा समाप्त भएको मितिले एक हप्ता पछाडि सम्म काजमा खटिएका कर्मचारीहरूको अनुगमन गर्दा ३२८ जना कर्मचारीको काज स्वीकृत भएको केन्द्रका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए । काजमा खटिएका कर्मचारीहरू अत्यावश्यक सेवाको अनुगमन गर्ने लगायतको कार्यमासमेत खटेको पाइएको पौडेलेको भनाई छ ।
यसरी काजमा जाने कर्मचारीहरूमा सबैभन्दा धेरै अधिकृत मुनिका कर्मचारी रहेका छन् भने प्राविधिक अड्डामा केही कम देखिएका छन् । र, निकायगत रूपमा हेर्दा प्रशासन हेर्ने सहसचिव अलि कडा भएको निकायमा काजमा कडाइ गरिएको देखिएको छ ।
टाढा घर भएका कर्मचारीहरू यही दसैँको अवसर पारेर अलि छिटै जान खोज्ने पहिल्यै देखि चल्दै आएको छ । तर, पछिल्लो समय भने पायक पर्ने ठाउँमा अनुगमनसमेत गर्दा सरकारी कामसमेत देखिने भएकोले यसलाई त्यति ठुलो इस्यू बनाई हाल्नु पर्ने विषय नभएको प्रशासकहरू बताउँछन् ।