वीरगंज/पर्साको ड्राईपोर्टमा रहेको ट्राफिक प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक राम सहाय यादव र परवानीपुर ट्राफिक प्रहरी पोष्टका प्रनानि हनुमान यादवको आगमनसँगै असुली धन्दा फस्टाएको जन गुनसाहरू आउन थालेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा मातहत रहेको अति सम्वेदनशील र व्यस्त सडक आइसीपी–वीरगंज–सुख्खा बन्दरगाह –पथलैया औद्योगिक सडक खण्डलाई जोड्ने मुख्य स्थानहरूमा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी पाएका प्रहरी सहायक निरीक्षक राम सहाय यादव र प्रनानि हनुमान यादवले व्यापक रुपमा असुली धन्दा सञ्चालनमा ल्याएको बताइन्छ ।
क्षमताभन्दा बढी अर्थात् ओभर लोडका गाडीका कारण राजमार्ग तथा अन्य सडकहरू निर्माण गरिएको केही महिनामा नै भत्कने र तत्काल निर्माण गर्न नसक्दा झन् जीर्ण हुने कार्य बढी हुन थालेपछि वीरगंज सिर्सिया ड्राइपोर्ट, आइसीपी लगायतबाट विभिन्न उद्योग धन्दा कल कारखानाकालागि निस्कने मालबाहक सवारी साधनमा क्षमताको परिधि निर्धारण गरिएको थियो ।
सुरुमा सो कार्यलाई प्रहरी र ट्राफिक प्रहरीले समेत अति कडाइका साथ लागु गरेका कारण पक्की सडकहरू भत्किएका थिएनन् ।
तर, पछिल्लो समय ओभर लोडबाट नै ट्राफिक प्रहरीले कमिसन खान थालेपछि सडक भत्कने क्रम बढ्दो छ ।
ओभरलोडको कमिशनबाट ड्राईपोर्ट र परवानीपुरका प्रहरी सहायक निरीक्षकले असुल्ने रकम जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडासहित प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयासम्म समेत पुग्ने गरेको श्रोतले बताएको छ ।
ओभर लोड गरि समान ढुवानी गर्ने उद्योग धन्दा, व्यवसायी लगायतसँग सेटिंग मिलाउने र निर्वाध रुपमा ओहोर दोहोर गर्न छूट दिएपछि ट्राफिक प्रहरीहरू मोटाए पनि यस क्षेत्रको बाटो अति जीर्ण भई दिनहुँ जसो दुर्घटनाको जोखिम बढेको बताइन्छ ।
सडक क्षमता भन्दा बढी ओभर लोड भएका सवारी साधनलाई सशस्त्र तथा नेपाल प्रहरीले रोक्ने र ट्राफिक प्रहरीले जरिवाना गर्ने सहमति भएकोमा पछिल्लो समय यस्ता ओभरलोड भएका सवारी साधनलाई कारवाही नगरी कमिसन लिएर छोड्ने गरिएको छ ।
सो क्षेत्रबाट सेटिंग गरेपछि हिँड्ने गाडी चेक पोस्टमा पुग्दा ड्राईभरले “फलानो साहूको गाडी हो” भनेपछि ट्राफिक प्रहरीले कुनै किसिमको चेकजाँच नगरी जान दिने तथा सेटिंग नगर्ने गाडीवाललाई कारवाही गर्ने गरिएको जोकोहिले देख्न सक्छन् ।
प्रतिगाडी एक हजार देखि दुई हजार सम्मका दरले ओभर लोडिङको रकम उठाउने कार्य ट्राफिक प्रहरी कार्यालय परवानीपुरले गर्ने र त्यसको भाग जिल्ला ट्राफिक प्रहरी प्रमुख देखि प्रदेश ट्राफिक कार्यालयसम्म पुग्ने गरेकै कारण ट्राफिक प्रहरीको असुली धन्दा फस्टाएको बताइन्छ ।
आइसीपी, ड्राईपोर्ट हुँदै परवानीपुर भएर १०, १२ र १६ चक्के ओभरलोडका ठूला मालबाहक गाडीहरू निस्कने गर्दछन् । झण्डै कम्तिमा दैनिक ६५ देखि १०० वटा गाडीहरू सो क्षेत्र भइ गन्तव्य तर्फ जाने गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाको आगमनयता यस्तो गतिविधि दिन दुई गुणा रात चौगुणाको रफ्तारमा फस्टाउँदै गएपनि प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले कुनै चासो नदेखाउनु नै मिलेमतो हुन सक्ने गन्ध देखिन्छ ।
कमीशन र सेटिंग मिलाएर ड्राईपोर्ट र परवानीपुर पोस्टमा गएका ट्राफिक प्रहरी सहायक निरीक्षक राम सहाय यादव र प्रनानि हनुमान यादव भने निर्वाध रुपमा प्रहरी आचरण विपरीतका काममा व्यस्त छन् ।
ट्राफिक प्रहरी र नियमक निकायको यस्तै गैर व्यवसायिक व्यवहारका कारण पर्सा जिल्लामा डरलाग्दो रुपमा दुर्घटना, ससक्त घाइते एवं मृत्यु हुने घटनाहरू बढ्दै गएको ट्राफिक प्रहरीकै तथ्यांकबाट देखिन्छ ।
ट्राफिक व्यवस्थापन राम्ररी हुन नसक्दा पर्साजस्तो सानो ठाउँमा पनि आर्थिक वर्ष २०७९/८०मा ४९८ वटा सडक दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । ती दुर्घटनामा परि २९ पुरुष, पाँच महिला र पाँच जना बालक समेत गरेर ३९ जनाले अकालमै ज्यान गुमाए भने ९३ जना गम्भीर घाइते भए र ४०६ जना सामान्य घाइते भए ।
आ.व.२०७९/८०को पहिलो दुई महिना अर्थात साउन र भदौको तथ्यांक मात्रै हेर्ने हो भने पर्सामा ५८ वटा दुर्घटनामा परि दुई जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए । यता आर्थिक वर्ष २०८०/०८१को शुरुको दुई महिनाको तथ्यांक हेर्दा गत वर्ष भन्दा झण्डै तीन गुण बढी दुर्घटनाहरू भएका छन् भने ती दुर्घटनामा परि एक महिला र ५ पुरुष गरेर ६ जनाको मृत्यु भएको गम्भीर अवस्थाका १४सहित १५८ जना घाइते भएको डरलाग्दो तथ्यांक कायम भएको छ ।
पर्सा ट्राफिक प्रमुखमा प्रहरी निरीक्षक खतिवडाको आगमनपछि ट्राफिक व्यवथापन फितलो मात्र हैन, व्यक्तिगत गोजी भर्ने काम द्रूत गतिमा भएपछि पछिल्लो आर्थिक वर्षको शुरुको दुई महिनामा उठेको राजश्वभन्दा १५ लाख चार हजार रुपैयाँ कम राजश्व संकलन भएको देखिन्छ ।
गत आर्थिक वर्षमा पर्सा ट्राफिकले जरिवाना, कारवाहीलगतयबाट तीन करोड ४२ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो भने आर्थिक वर्ष २०८०/०८१को प्रथम दुई महिनामा १८ लाख ६५ हजार मात्र राजश्व संकलन भएको छ ।
ट्राफिक व्यवस्थापनको नाममा पर्सा ट्राफिकले रोडमा हुल जम्मा गरेर गाउँ घरबाट आउने विरामी बोकेको दुई पाँग्रे सवारी, साना किसानलगायतको सवारी साधनलाई रोकेर अनेक दु:ख दिने तर ओभर लोड, अव्यवस्थित पार्किङ, यातायात कार्यालयको ट्रायल सेन्टर, वीरगंज बसपार्क, गण्डक, मिना बजार, ट्रान्सपोर्ट एरियामा हुने ट्राफिक व्यवस्थापनमा ध्यान नदिंदा सर्वसाधारण नागरिकहरू सडक दुर्घटनामा परेर अकाल मृत्युको शिकार भैरहका छन्।
यातायात कार्यालय पर्सा वीरगंजस्थित ट्रायल सेन्टरमा ट्राफिक प्रज झलक भट्टराईले सेटिङ मिलाउने गरेका छन् भने बसपार्क, गण्डक चौकका ट्राफिक प्रहरी पनि बदनामी कमाएरै भए पनि ट्राफिक व्यवस्थापनमा असफल देखिएका छन्।