Thursday, November 28, 2024
घरक्राइम चेकबंगलादेशमा किनिएको प्रमाणपत्र देखाएर स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष हुने पौडेलको प्रयास

बंगलादेशमा किनिएको प्रमाणपत्र देखाएर स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष हुने पौडेलको प्रयास

-प्रतिमा मुडभरी

काठमाडौँ । नेपाल सरकार स्वास्थ्य सेवाका ल्याब टेक्निसियन निरीक्षक धनप्रसाद पौडेलले बंगलादेशमा किनिएको प्रमाणपत्र देखाएर स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष हुने प्रयास गरेको खुलासा भएको छ । पौडेलको किनिएको प्रमाणपत्र र कीर्ते गरेको दर्ता किताबसहितको बिबरण मिलाएर गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकमा पौडेलको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव पठाएको पाइएको छ ।

नेपाल प्रहरी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उनको शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा परेको उजुरी र त्यसमा भैरहेको छानविनका कारण पौडेको नियुक्ति तीन सातादेखि मन्त्रिपरिषदमै अब्जरभेसनमा रहेको स्वास्थ्य मन्त्रालयको एक सहसचिवले बताए । उनले शैक्षिक प्रमाणपत्र नै नक्कली भएका कारण नियुक्तिको विषय थप पेचिलो भएको र नियमनकारी निकायको नेतृत्वमा नक्कली प्रमाणपत्रधारीलाई पठाउन नहुने भन्दै नेपाली कांग्रेस निकटकै कर्मचारीहरूले मन्त्रीदेखि कांग्रेसको नेतृत्वसम्मको ध्यानाकर्षण गराएको जानकारीमा आएको बताए ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा साउन १६ गते नै बंगलादेशबाट शैक्षिक योग्यताको प्रमाणपत्र किनेको आरोप लागेका पौडेललाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा नियुक्त गर्ने प्रस्ताव आएको भए पनि उनको विवादित पृष्ठभूमि र अध्यक्षका लागि योग्यता नै नपुगेका कारण नियुक्ति रोकिएको मन्त्रीपरिषद् स्रोतले बतायो ।पौडेलले बंगलादेशबाट जनस्वास्थ्य विषयको स्नातकोत्तर तह (एमपिएच)को प्रमाणपत्र बंगालादेशको अतिश दीपांकर युनिभर्सिटी ढाकामा अध्ययन नै नगरी खरिद गरेको भन्दै उजुरी परेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ।

पौडेल सरकारी सेवामै रहेको अबधिमा बंगालदेशबाट जनस्वास्थ्य विषयको स्नातकोत्तरको प्रमाणपत्र ल्याएका थिए । उनले अहिलेसम्म अध्ययन बिदा पनि नलिएका कारण उनको बंगलादेशको प्रमाणत्र किनिएकै दाबी उनकै निकटका सहकर्मीहरूले गरेका छन । पाैडेलको उक्त प्रमाणपत्र नक्कली रहेकै कारण अहिलेसम्म स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता हुन सकेको छैन । उनका निकटहरूले पढेर भन्दा पनि उक्त प्रमाणपत्र किनेर ल्याएको दाबी गरेका छन।

उनले जुन समयको शैक्षिक प्रमाणपत्र तयार गरेका छन त्यस समयमा उनी नेपाल सरकारको ल्याब टेक्निसियन निरीक्षककै रूपमा कार्यरत रहेका थिए । उनको ट्रभल हिस्ट्रीमा पनि उनी त्यस समय बंगलादेश नगएको पाइएको छ । जनस्वास्थ्य विषयको स्नातकोत्तर गर्दा कम्तिमा पनि ९० प्रतिशत हाजिर अनिवार्य हुनुपर्छ । तर उनी नेपालमै बसेर बंगलादेशको विश्वविद्यालयबाट प्रमाणपत्र प्राप्त गरेका छन । उनको यो प्रमाणपत्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भनेजस्तै किनिएको श्रेणीमा परेको अनुमान गर्न सकिन्छ । साभार: दैनिकी

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -