वीरगंज/ वीरगंज महानगरपालिकाका नगर प्रमुखमा पदीय दम्भ बढ्दै गएर तानाशाही व्यवहार उत्कर्षमा पुगेका एक पछि अर्को घटनाक्रमहरू उजागर हुन थालेका छन्।
महानगरवासीको खुट्टा समाएर भोट हासिल गरेका महानगर प्रमुख राजेशमान यतिखेर आफूलाई हिटलर भन्दा तानाशाह सावित गर्न आफैँ लागि परेपछि उनैलाई भोट दिएका महानगरवासीहरू पुर्पुरोमा हात राखेर पछताउन थालेका छन्।
प्राप्त खबर अनुसार महानगर प्रमुख सिंहले आफूलाई भेट्न आउने सर्वसाधारण नगरवासीहरूको अपराधी शैलीमा खानतलासी गर्न लगाएर साथमा भएको झोला, मोबाईल र पकेटमा भएको सामान समेत बाहिर राखेपछि मात्र दर्शन भेट बक्स हुने उर्दी जारी गरेका छन्।
सोमबार त्यस्तै दृश्यले महानगर कार्यालयमा देखियो। संस्थागत विद्यालयहरुले मनपरी शुल्क लिने, शिक्षाको गुणस्तरीयता लगायतमा गंभीर नभएको जस्ता अनेकौँ विषयमा छलफलका लागि गएका अभिभावक संघर्ष समितिका पदाधिकारीको शरीर खानतलासी गर्नुका साथै उनीहरुको साथमा रहेको झोला र मोबाइल बाहिर राखेर मात्र नगर प्रमुखको कायकक्षमा प्रवेश गर्न पाएको संघर्ष समितिका पदाधिकारीले बताएका छन् ।
यो भन्दा अगाडी यस्तो कुनै खानतलासी गरिएको थाहा थिएन, अभिभावक संघर्ष समितिका संयोजक संदीप कुमार साहले भने, “सोमवार महानगरपालिकामा नगर प्रमुख राजेशमान सिंहलाई भेटन गएका सेवाग्राहीसँग यस्तो व्यवहार गरियो ।”
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको कार्यकक्षमा प्रवेश गर्न कडा सुरक्षा जाँचको सामना गर्नु परेको सेवाग्राहीहरुले बताएका छन् । द्वन्दकालमा सेनाले लिने खानतलासीको झल्को आउने गरी मेयरको कार्यकक्ष बाहिर नगर प्रहरीले व्यवहार देखाए, संयोजक साहले भने ।
मेयरको सचिवालयमा रहेका नगर प्रहरीले शरीर खानतलाशी गरी झोला, मोवाइल र खल्तीमा राखेको सामान समेत लैजान नमिल्ने भन्दै बाहिर झिकिदिएको समितिका संयोजक संदीप कुमार साहले बताए । अभिभावको समस्याको बिषयमा छलफल गर्न बोलाएर मेयरले आफ्नो कार्यकक्षमा प्रवेश गर्नुपूर्व चेकजाँचका नाउँमा अपमानित हुने व्यवहार प्रर्दशन गरेको साहको भनाई थियो ।
वार्तामा गएका संघर्ष समितिका पाँच जना पदाधिकारीको झोला र मोवाइल खोसेर बाहिर राखेको र द्वन्द्वकालमा जस्तो शरीर खानतलासी लिएको बिषयमा मेयर राजेशमान सिंहको ध्यानाकर्षण गराउँदा उल्टै आफ्नो सुरक्षाकालागि गर्नु परेको जवाफ दिएको साहले बताए ।
झोलामा कालोमोसो ल्याएको हुन सक्ने र मोवाइलले हिर्काएर आक्रमण गर्न सक्ने भएकोले मैले मेरो सुरक्षाका लागि झोला र मोवाइल लगायतका सामान कार्यकक्षमा नल्याउन नगर प्रहरीलाई निर्देशन दिएको हुँ, मेयर सिंहको भनाई उद्धृत गर्दै साहले भने ।
मेयर राजेशमानले आफूलाई असुरक्षित ठानेर हो की, भेट्न अउने जनताले दुर्व्यवहार गर्छन भनेर हो ? जनताको नजिकको सरकार प्रमुखलाई भेटन खोज्दा द्वन्द्वकालमा जस्तो खानतलासी गर्नु यो त जनताको अपमान हो साहले भने, “लोकतन्त्रमा जनताको मतबाट विजयी भएर जनताको सेवामा लागेका जनप्रतिनिधि जनताबाट असुरक्षित किन महशुस गर्न थालेका छन ? यो खोजीको विषय हुन सक्छ ।”