वीरगंज/ पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन प्र. सोनारले सुन वितरणमा व्यापक भ्रष्टाचार गरेको आरोप व्यवसायीहरूले लगाएका छन् ।
बैँकबाट सिफारिश भएका सुन व्यवसायीलाई वितरण नगरी आफ्नो खल्तीका व्यसायीहरूलाई मात्र प्राथमिकतामा राखेर सुन वितरण गर्ने गरेको स्थानीय व्यवसायीहरुले आरोप लगाएका छन् ।
अहिलेको संघका केही पदाधिकारीहरु समेत मिलेर सुनमा भ्रष्टचार गरेको आरोप समेत व्यवसायीहरूले लगाएका हुन्।
व्यवसायीलाई वितरण गरी बाँकी रहेका सुन कालोबजारी गरी पदाधिकारीहरुले आफ्नो खल्ती भर्ने गरेका आरोप व्यवसायीहरूको छ। संघका अध्यक्ष, सचिव तथा कोषाध्यक्षले मुख्य रूपमा यस्तो काम गर्ने गरेका आरोप नाम नछाप्ने सर्तमा एक जना निकै पुरानो व्यवसायीले लगाएका छन् ।
संघमा आवद्ध व्यवसायीहरूको हित बिपरीत कार्य नगरी सहज रुपमा सुन उपलब्ध गराउन अध्यक्ष सोनारलाई व्यवसायीहरुले पटक पटक आग्रह गर्दा समेत अध्यक्ष भूलनले व्यवसायीहरुलाई चेतावनी दिंदै “आफ्नो कार्यकालमा आफुले चाहे अनुसार गर्छु, त्यसमा जसलाई जे मन लाग्छ त्यो गरे पनि आफुलाई कुनै फरक नपर्ने भन्ने गरेका छन्।”- नाम नछाप्ने शर्तमा ती व्यवसायीले चन्द्रसूर्य वाणीलाई बताए।
संघ र प्रदेशले समेत यो विषयमा पर्सा सुनचादी व्यवसायी संघका अध्यक्ष भूलन प्र. सोनारलाई पटक पटक चेतावनी दिंदा समेत कसैको केही पनि नचल्ने तवरले जवाफ फर्काउने गरेका यस दैनिकको जानकारीमा आएको छ।
अध्यक्षको मनोमानी, हुकुमी र दादागिरी विरुद्ध आवाज़ उठाउँन खोज्ने व्यवसायीलाई सुन नै नदिने भएकोले उनीविरुद्ध खुलेर कोहि आउन नचाहेको भए पनि भित्र भित्र व्यवसायीहरू रुष्ट बनेको बताइन्छ।
सुनचाँदी व्यवसायी संघ पर्सामा हाल चार सय भन्दा बढ़ी व्यवसायी आवद्ध रहेका छन्।
यस अघिको कार्य समितिले सबै व्यवसायीलाई पुग्ने गरि प्रत्येक महिना नियमित रुपमा बैंकबाट सिफारिश गराई सुन वितरण गर्ने काम गरेपनि भुलन अध्यक्ष भएदेखि संघभित्र कुनै नीति नियम र व्यवसायिक अनुशासन नरहेको व्यवसायीहरूको आरोप छ।
संघको सिण्डिकेट कोटा अनुसार एक लटमा ४० जना व्यवसायीलाई प्रति एक जना व्यवसायीलाई २०ग्राम सुन दिने गरेको संघले बताए पनि अध्यक्ष भुलनले आफ्नो पायक पर्ने व्यवसायीहरूलाई मात्र सुन दिने गरेको र बाँकि रहेको सुनलाई आफूखुशी चलाउने गरेको आरोप व्यवसायीहरूको छ।
यस विषयमा सुनचांदी व्यवसायी संघका अध्यक्ष भुलन प्रसाद सोनारलाई सम्पर्क गरि बुझ्न खोज्दा उनले आफुमाथि लागेको आरोपको खण्डन गरेका छन् ।
उनले आफ्नो कार्यकालमा संघलाई व्यवस्थित गरेको नपच्ने बेईमानहरुले आफु विरुद्ध भ्रमात्मक हल्ला फैलाएको बताए।
संघमा आवद्ध व्यवसायीहरूको संयुक्त व्हाट्सप्प ग्रुप बनाएर त्यसमा प्रत्येक पल्ट सुन किन्न आउने लटमा परेका व्यवसायीहरूको नम्बर राखेर सूचना जारी गरेर खुल्ला आह्वान गर्ने गरेको बताए। अध्यक्ष भुलनले प्रत्येक दिन सुनचांदीको दररेट देखि हरेक गतिविधिलाई पारदर्शी बनाउन ग्रुपमार्फत जानकारी गराउने गरेको बताएका थिए ।
केन्द्रले नै माग अनुसारको सुन उपलब्ध नगराउँदा व्यवसायीहरूलाई आवश्यकता अनुसार सुन दिन नसकिएको अध्यक्ष भुलनले बताउनु भयो।
शनिवार परेको धनतेरसका दिन तराई क्षेत्रमा सुनचाँदी लगायतको ठूलो कारोबार हुने गरेको भए पनि सुनको अभावमा व्यवसायको स्थिति विगतका वर्षहरू भन्दा कम भएको व्यवसायीहरू बताउँछन् ।