काठमाडौँ/मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भएर निर्वाचन चिन्ह प्राप्त गरेसँगै उम्मेदवारहरुले प्रचार प्रसार थालिसकेका छन्।
चुनाव प्रचार प्रसारका क्रममा उम्मेदवारहरुले आम सञ्चार माध्यमको समेत प्रयोग गर्न पाउने सुविधा निर्वाचन आचार संहिताले दल तथा उम्मेदवारहरुलाई दिएको छ।
दल तथा उम्मेदवारले चुनाव प्रचारका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन जस्ता आम सञ्चार मध्याम प्रयोग गर्न पाउँछन् भने निजी पोर्टल (ब्लग)लाई समेत चुनाव प्रचारमा प्रयोग गर्न सक्छन्।
खर्चको सीमाभित्र रहेर सामाजिक सञ्जालमार्फत जनतासँग मत माग्न सक्ने सुविधान पनि दिइएको छ। फेसबुक, ट्वीटर, युट्युव, टिकटक, इन्ष्टाग्राम, भाइबर, ह्वाट्सएम जस्ता सामाजिक सञ्जाललाई पनि उम्मेदवारले प्रयोग गर्न सक्छन्।
तर पछिल्लो समय नेपालमा लोकप्रिय बनेका अनलाइन न्युज पोर्टलहरुमार्फत भने दल र उम्मेदवारले प्रचारप्रसार तथा विज्ञापन गर्न नपाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ। निर्वाचन आचार संहिता २०७९ को दफा १५ ले प्रतिनिसभा सदस्य तथा प्रदेशसभा सदस्य उम्मेदवारले पत्रपत्रिका, टेलिभिजन, रेडियो वा एफएम के कसरी प्रयोग गर्न सक्छन् भन्ने प्रष्ट व्यवस्था गरेको छ।
तर अनलाइन माध्यमका बारेका केही पनि उल्लेख गरेको छैन। निर्वाचन आयोग कानुन महाशाखा प्रमुख एवं आचार संहिता अनुगमन समितिका सदस्य गुरु वाग्लेले अनलाइन सञ्चार माध्यमबाट प्रचार गर्न नपाइने जानकारी दिए।
उनले देश सञ्चारसँग भने, ‘आयोगले अनुमति दिएको सञ्चार माध्यमभित्र अनलाइन पर्दैनन्। अनलाइनमार्फत उम्मेदवार वा दलले प्रचार प्रसार गर्न पाउँदैनन्।’
उम्मेदवारले मतदानको १७ दिनअघि देखि मात्रै सञ्चार माध्यमबाट प्रकाशन, प्रसारणका साथै जुलुस, आमसभा, कोणसभा गर्न पाउँछन्। घरदैलो कार्यक्रम गर्न आयोगले कडाइ गर्न खोजे पनि आचार संहिता संशोधन गरेर १७ दिने सीमा हटाएको छ। मतदानको ४८ घण्टाअघि देखि मौन अवधि सुरु हुने हुँदा त्यसबेला सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न र अरु खालका चुनावी गतिविधि गर्न उम्मेदवारले नपाउने वाग्ले बताउँछन्।
आयोगले प्रतिनिधिसभाका उम्मेदवारलाई क्षेत्रको वर्गीकरण अनुसार कम्तिमा २५ देखि बढीमा ३३ लाख र प्रदेशसभाका उम्मेदवारले १५ देखि २३ लाख रुपैयाँसम्म खर्च गर्न सीमा तोकेको छ।
आचार संहिताले उम्मेदवारले ७५ ग्रामसम्मको कागजमा ३ सय वर्ग इञ्चसम्म क्षेत्रफल भएको आधारमा एउटै रंगको पर्चा छाप्न, उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३*४ फिटको दलको झन्डा राख्न अनुमति दिएको छ।
चिह्नबाहेक अन्य सामग्री राख्न पाइँदैन। त्यस्तै आयोगले सभा तथा घरदैलो गर्दा बढीमा २५ जना हुनुपर्ने, उनीहरुले १० वटा झन्डा प्रयोग गर्न पाउने पाउने गरी आचार संहिता जारी गरेको छ।
कुन सञ्चार माध्यमबाट कसरी गर्ने प्रचार प्रसार?
पत्रपत्रिका
– पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने उम्मेदवारले प्रत्येक दिन बढीमा ७*७ इन्च सम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्छन्।
रेडियो र टेलिभिजनबाट
– राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्छन्।
– पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रदेशसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा तीन पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन पाउँछन्।
– पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा लिने उम्मेदवारले भाग टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने आचार संहितामा उल्लेख छ। साभार : देश संचार