वीरगंज, १६ जेष्ठ/ मानव बेचबिखन तथा जबर्जस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–४ घर भई वीरगञ्ज महानगरपालिका–८ स्थित एक रेस्टुरेण्टमा काम गरी बस्ने २५ वर्षीय सुरजकुमार साह, जुम्ला हेमा गाउँपालिका–३ जोगीवडा घर भई वीरगञ्ज–१६ फूलबारी टोलमा डेरा गरी बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी र वीरगञ्ज महानगरपालिका–१६ स्थित कार्की होटलकी सञ्चालिका ४२ वर्षीय लक्ष्मी बुढाथोकी छन्।
प्रहरीका अनुसार पक्राउ परेका साहले जेठ ५ गते काठमाडौँ बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज बोलाई बसपार्कस्थित एक होटलमा लगी पटकपटक करणी गरेका थिए।
तत्पश्चात् उनले युवतीलाई कार्की होटलकी सञ्चालिका लक्ष्मीको जिम्मा लगाई फरार भएका थिए। लक्ष्मीले १० गते विवाह गर्छ भनी योगीको साथमा युवतीलाई पठाएको प्रहरीले जनाएको छ।
योगीले युवतीलाई आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटक–पटक करणी गरी थुनेर राखेका थिए। पीडित युवती मौका छोपी १४ गते उक्त स्थानबाट भागेर आफन्तको सम्पर्कमा आएकी थिइन्।
पीडित परिवारले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि वीरगञ्जको विभिन्न स्थानबाट तीनै जना अभियुक्तलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
पक्राउ परेका तीनै जनालाई जबर्जस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको खनालले बताए।