Thursday, November 28, 2024
घरसमाचारराजनीतिसिर्जना सिंहलाई काठमाण्डौको मेयर बनाउने नेविसंघको माग

सिर्जना सिंहलाई काठमाण्डौको मेयर बनाउने नेविसंघको माग

काठमाण्डौ/

सिर्जना सिंहलाई मेयर बनाउन माग गर्दै चाक्सीबारी पुगेका नेविसंघ कार्यकर्ता। तस्बिर स्रोत: यूपी लामिछाने।

सत्तागठबन्धनमा काठमाडौंसहित छ महानगरपालिका भागबन्डा गर्ने बैठक चलिरहेका बेला नेपाली कांग्रेसको भातृ संस्था, नेपाल विद्यार्थी संघले काठमाडौं महानगरको मेयरमा सिर्जना सिंहलाई अघि बढाउन माग गरेको छ।

०७४ मा नेकपा एमालेले जितेको काठमाडौं महानगर यसपालि कांग्रेसले लिने गरी सत्तागठबन्धनमा छलफल भइरहेको छ। सम्भवत आज महानगर र उपमहानगर कहाँ कसले पाउने भन्ने भागबन्डा मिल्छ।

कांग्रेसले काठमाडौं लिएमा पार्टी महाधिवेशन प्रतिनिधिसमेत रहेकी सिंहलाई मेयरको उम्मेदवार बनाउन काठमाडौं नेविसंघले माग गरेको हो।

सिंह काठमाडौं क्षेत्र नम्बर ७ बाट कांग्रेस महाधिवेशन प्रतिनिधि भएकी थिइन्।

‘काठमाडौंमा मेयर पदमा देखिएको उम्मेदवारहरूमा कांग्रेस नेता सिर्जना सिंह सबैभन्दा उपयुक्त उम्मेदवार रहेको नेविसंघ काठमाडौंको बुझाइ भएकोले उहाँलाई नै महानगरको मेयर पदको उम्मेदवारमा अगाडि बढाउन अनुरोध गर्दछौं,’ नेविसंघ काठमाडौंका कार्यबहाक अध्यक्ष जीवन श्रेष्ठले महानगर कार्यसमितिलाई सोमबार लेखेको पत्रमा उल्लेख छ।

महिला संघ र नेविसंघको राजनीति हुँदै लामो समयदेखि पार्टी राजनीतिमा रहेकी सिंहलाई काठमाडौंको मेयर उम्मेदवार बनाउन यसअघि काठमाडौं महिला संघले पनि माग गरेको थियो। महिला संघले चाक्सीबारी पुगेर सिंहलाई भेट गर्दै मेयरमा उठ्ने तयारी गर्न आग्रह गरेका थिए।

यस्तो छ ध्यानाकर्षण पत्र

गत चैत १४ मा बसेको संघको बैठकले स्थानीय तहको प्रमुखमा महिलाहरूलाई पार्टीले अगाडि बढाउनुपर्ने र काठमाडौंमा संघकी सल्लाहकार सिंहलाई उम्मेदवार बनाउनुपर् माग गर्ने निर्णय गरेको थियो।

काठमाडौं महानगर कांग्रेस कार्यसमितिले भने मेयर तथा उपमेयरका लागि आकांक्षीका नामसमेत अहिलेसम्म लिएको छैन।

आइतबार बसेको बैठकले सभापति नीलकाजी शाक्यलाई मेयर सिफारिस गर्दा एक नम्बरमा नाम राखेर सिफारिस गर्ने निर्णय गरेको थियो। मेयरका थप आकांक्षीका नाम संकलन गरी पार्टी केन्द्रमा पठाउने तयारी भइरहेको नीलकाजी बताउँछन्।

काठमाडौंको मेयरमा अहिलेकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, नेताहरू तीर्थराम डंगोल, सुशन वैद्य, नरोत्तम वैद्य, सपना जोशी, प्रगतिमान रञ्जितलगायत पनि आकांक्षी छन्।
काठमाडौं कांग्रेसमा प्रकाशमान सिंहको पकड रहेको मानिन्छ।

१४ औं महाधिवेशनका बेला वडादेखि महानगरसम्म भएका अधिवेशनमा सिंह र गगन थापा साथसाथ थिए। थापा अहिले महामन्त्री छन्। काठमाडौंमा थापा पक्षको पनि प्रभाव छ। काठमाडौं महानगर पार्टी सचिव रहेका सुशन वैद्य पनि मेयरका आकांक्षी छन्। उनी महामन्त्री थापानिकट हुन्।

लामो समयदेखि राजनीतिमा रहेकी सिर्जना कांग्रेस नेता प्रकाशमानकी श्रीमती हुन्। प्रकाशमान गत मंसिरमा भएको कांग्रेस महाधिवेशनमा सभापति उठेका थिए। पहिलो चरणबाट बाहिरिएपछि उनले दोस्रो चरणमा सभापतिमा शेरबहादुर देउवालाई सहयोग गरेका थिए।

सिर्जनालाई मेयरमा अगाडि बढाउन माग गर्दै हिजोआज चाक्सीबारीमा नेता तथा कार्यकर्ताको भिड लाग्ने गरेको छ।
कांग्रेस विधानमा मेयरका लागि महानगर कार्यसमितिले नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ।

पार्टीको केन्द्रीय संसदीय समितिले महानगरको ‘टिकट’ दिने गर्छ। महिला संघ र नेविसंघजस्ता भातृ संस्थाले सिर्जनाका पक्षमा पहल गरे पनि महानगर कार्यसमितिले भने मेयरका आकांक्षीका नाम अहिलेसम्म सिफारिस गरेको छैन।

सिर्जनाले पनि आफू मेयरका लागि आकांक्षी रहेको सार्वजनिक रूपमा खुलाउन चाहेकी छैनन्। चाक्सीबारी स्रोतका अनुसार पार्टीबाट सर्वसम्मत रूपमा मेयरको उम्मेदवार बनाउने हो भने सिंह अघि बढ्न सक्छिन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -