चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १४ भदौ/ हिन्दू परिषद नेपाल केन्द्रिय सचिवालयले राज्यकै संरक्षणमा शृंखलावद्ध गौ हत्या बढ्दै गएको आरोप लगाएको छ ।
सुर्खेतको कटकुवा जंगलमा भएको सामूहिक गौहत्याको विषयमा गम्भीर आपत्ति जनाउँदै हिन्दू परिषद नेपाल केन्द्रिय सचिवालय सदस्य उमेश साह कानुले एक प्रेस विज्ञप्ति जारी गर्नु हुँदै राज्यबाट संरक्षित अपराधीहरू नै नेपालको धर्म, संस्कृति, रीतिथिति र परम्परा माथि प्रहार गर्ने तथा गौ हत्या जस्ता सांघातिक अपराध गर्न हौसिएको आरोप लगाउनु भएको छ ।
परिषदका केन्द्रिय सचिवालय सदस्य कानुद्वारा हस्ताक्षरीत विज्ञप्ति जस्ताको त्यस्तै…
“गौ हत्यारालाई अबिलम्ब कारवाही होस्
सुर्खेतको कटकुवा जंगलमा भएको सामूहिक गौ हत्याको घटना प्रति हिन्दू परिषद नेपाल केन्द्रिय सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
हाम्रो देशको राष्ट्रिय जनावर गाईलाई हाम्रो पूर्वीय दर्शन र हिन्दू धर्म संस्कृतिमा आमा सरह मान्ने र पुजा गर्ने परम्परा रहिआएको छ। गौहत्या गर्नु महाअपराध हाे , यस्तो गर्न पाइँदैन, गर्नेलाई कानुनबमोजिम कडा भन्दा कडा दण्डित गरिनु पर्दछ।
संसारको एकमात्र हिन्दु अधिराज्यको पहिचान भएको हाम्रो देश नेपाललाई विदेशीको इसारामा परेर धर्मनिरपेक्ष गरिएपछि गौहत्या, हिन्दू धर्म संस्कृति, रितिथिति र परम्परामाथि धाबा बोल्ने र नष्ट पार्न राज्य कै संरक्षणमा कुतत्वहरू लागि परेको हामीले पछिल्ला दिनमा महसूश गर्दै आएका छौं ।
गाई हाम्रो राष्ट्रिय जनावर पनि भएकाले गाईको संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएको हुँदा त्यसको संरक्षणको लागि मुलुकभर उचित गौशालाहरुकाे व्यवस्थापनका निम्ति अग्रसर हुनुपर्नेमा गाई हत्याका दोषीहरू उपर विगतका दिनमा लचिलो देखिएकै कारण शृंखलावद्ध रुपमा गौहत्याका घटना बढ्दै गएको हिन्दू परिषद नेपाल केन्द्रिय सचिवालयको ठहर छ ।
पछिल्लो पटक सुर्खेतको जंगलमा भएको गौ हत्याको विषयमा राज्य गम्भीर भई त्यस्ता अपराधीको पहिचान गरी कानूनी दायरामा ल्याई कानुनबमोजिम दण्डित गर्नका निम्ति नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।
राज्यले राष्ट्रिय जानवर एवम विश्वभरिका हिन्दुहरूको अस्थाका धरोहर गौ हत्यारालाई कानूनी कटघरामा ल्याउन बिलम्ब गरे वा त्यसका दोषीहरूलाई कुनै प्रकारले उन्मुक्ति दिने प्रयास गरेमा हिन्दू परिषद नेपाल प्रतिकारका लागि स्वयं अग्रसर हुने जानकारी समेत दिन चाहन्छौं ।”
जय श्री राम
उमेश साह कानु
केन्द्रिय सचिवालय सदस्य
हिन्दू परिषद नेपाल, केन्द्रिय कार्य समिति