Saturday, January 11, 2025
घरसमाचारव्यक्तिगत रजिष्टरमा हाजिर गरेर घरमै बसी-बसी तलब बुझ्छन् यी हाकिम साबले

व्यक्तिगत रजिष्टरमा हाजिर गरेर घरमै बसी-बसी तलब बुझ्छन् यी हाकिम साबले

चन्द्रसूर्य समाचारदाता,
वीरगंज, १० भदौ ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ बहुअरी पिडरी स्वास्थ्य चौकीका इन्चार्ज रविन्द्र साहले विगत तीन महिनादेखि कार्यालय नगएरै तलब खाइरहेको खुलेको छ।

उनी कहिलेकाहीँ मात्रै स्वास्थ्य चौकी आउने गरेको र अधिकांश समय घरमै बसेर तलब भत्ता बुझ्ने गरेको स्वास्थ्य चौकीका कर्मचारीहरुले बताएका छन्।

स्वास्थ्य चौकीमा कार्यरत अनमी रितादेवी मिश्राले भनिन्, ‘अरु सबै कर्मचारीहरु स्वास्थ्य चौकीमा नियमित आउँछन्’, मिश्राले भनिन्,‘तर इन्चार्ज साह भने महिनामा २/४ दिन मात्रै आउनुहुन्छ।’ आठ जना कर्मचारी रहेको स्वास्थ्य चौकीमा इन्चार्ज नआउँदा बिरामी मर्कामा परेको उनले बताइन्।

तलब बुझ्न छुट्टै रजिस्टरमा हाजिर
इन्चार्ज साहले हाजिर गर्नका लागि छुट्टै व्यक्तिगत रजिष्टर बनाएको पनि खुलेको छ। बाँकी सात जना कर्मचारीले नगरपालिकाले उपलब्ध गराएको रजिष्टरमा हाजिर गर्दै आएको भएपनि उनले भने आफ्नो हाजिर गर्नका लागि छुट्टै रजिष्टर बनाएका छन्।

उनले नगरपालिकालाई झुक्याएर तलबभत्ता खाँदै आएका छन्। नगपालिकाले उपलब्ध गराएको हाजिरी रजिष्टरमा उनी वैशाख १९ गते गतेदेखि नै स्वास्थ्य चौकीका हाजिर नभएको देखाएको छ।

उक्त रजिष्टर अनुसार स्वास्थ्य चौकी इन्चार्ज साह वैशाख १७ गतेसम्म काजमा बसेको देखिन्छ। त्यसपछि असार २ गतेसम्मको उनको हाजिरीमा रातो लगाइएको छ।

उनी स्वास्थ्य चाैकी नियमित नजाने नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीलाई थाहा भएपछि नगरपालिकाका मेयर नितेन्द्र साह र स्वास्थ्य संयोजक विदुरप्रसाद उप्रेतीले अनुगमन गर्ने क्रममा उनको लापरवाही समातिएपछि मेयर नितेन्द्र साहले हाजिरीमा रातो लगाई दिएको स्वास्थ्य संयोजक उप्रेतिले बताए।

 

साहकाे व्यक्तिगत रजिष्टर ।

हाजिरी रजिष्टरमा रातो लगाइएको भएपनि इन्चार्ज साहले असार महिनासम्मको तलबभत्ता भने बुझिसकेका छन्।

नगरपालिकामा रहेको स्वास्थ्य चौकीमा नगरपालिकाले एउटै हाजिरी रजिष्टर उपल्बध गराएको र दुई वटामा हाजिर गर्न नमिल्ने नगरपालिकाका स्वास्थ्य संयोजक बिदुरप्रसाद उप्रेतीले बताए।

सरुवा गर्दा जान अटेरी
स्वास्थ्य चौकीमा नियमित रुपमा नआउने गुनासो बढ्दै गएपछि नगरपालिकाले इन्चार्ज साहको आन्तरिक रुपमा नगरकै अर्को स्वास्थ्य चौकीमा सरुवा गरेको थियो। तर अटेरी गर्दै उनी उक्त स्वास्थ्य चौकीमा समेत हाजिर नभई घरमै बसेर छुट्टै रजिष्टरमा हाजिर बनाएर राख्दै आएका छन्।

नगरपालिकाका स्वास्थ्य संयोजक विदुरप्रसाद उप्रेतीले इन्चार्ज साहले अटेरी गर्दै आएको बताए। ‘साउन १ गतेबाट इन्चार्ज साहलाई नगरपालिकाको वडा नम्बर २ मा रहेको बैरिया बिर्ताको स्वास्थ्य चौकीमा पठाइएको थियो’, संयोजक उप्रेतीले भने,‘ तर त्यहाँ पनि उनी हाजिर हुन अटेर गर्दै आएका छन्।’

स्वास्थ्य चौकीमा साह नगएपछि साउनको पहिलो सातामै उनलाई स्पष्टिकरण सोधिएको तर उक्त स्पष्टिकरणको समेत जवाफ अहिलेसम्म पनि नदिएको उप्रेतीको भनाई छ।

बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले बहुअरी पिडरीका स्वास्थ्य चाैकी इन्चार्जको बारेमा थाहा पाएको र त्यस समबन्धी प्रक्रिया अघि बढाउने बताए। ‘मैले पनि स्वास्थ्य चौकीका इन्चार्जको बारेमा थाहा पाएँ, त्यसमा पक्कै पनि एक्शन लिनेछु’–उनले भने।

यस्तै बहुअरी पिडरी स्वास्थ्य चौकीका इन्चार्ज रविन्द्र साहले नगरपालिकाले नियमसंगत तरिकाले सरुवा नगरेकोले कर्यालय बैरिया बिर्ता स्वास्थ्य चौकीमा नगएको बताए।

 

नगरपालिकाले उपलब्ध गराएकाे हाजिरी रजिष्टर।

आफूहरु नगरपालिकाको कर्मचारी नभई संघीय सरकारको कर्मचारी भएकोले नगरपालिकाले सरुवा गर्न नमिल्ने उनको दावी छ। उनले भने, ‘हामी संघीय सरकारका कर्मचारी भएकाेले नगरपालिकाले कसरी सरुवा गर्न मिल्छ?’

इन्चार्ज साहले आधिकारिक व्यक्तिले हाजिरी रजिष्टरमा कर्मचारीहरुको नाम नलेखेकाले आफूले छुट्टै हाजिरी रजिष्टरमा हाजिर गर्दै आएकाे उनले दावी गरे।

उनले आफनो पदीय मान मर्यादाको हिसाबले पनि नगरपालिकाले उपलब्ध गराएको रजिष्टरमा हाजिर नगरी छुट्टै रजिष्टरमा हाजिर गर्दै आएको बताए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -