Friday, January 10, 2025
घरसमाचारराजनीतिगणतन्त्र खतरामा रहेको भन्दै सर्वदलीय बैठकमा चिन्ता व्यक्त

गणतन्त्र खतरामा रहेको भन्दै सर्वदलीय बैठकमा चिन्ता व्यक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक बोलाएको सर्वदलीय बैठकमा दलहरूले गणतन्त्र खतरामा रहेको चिन्ता व्यक्त भएको छ । बैठकको प्रारम्भमै प्रधानमन्त्री ओलीले लामो समयको संघर्षपछि आएको व्यवस्थामाथि प्रहार हुन थालेको चिन्ता व्यक्त गरे । व्यवस्था जोगाउन सबै दलक एक ठाउँमा उभिन आग्रह गरे ।

प्रधामनमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने चार दलका नेता सहभागी थिए ।  बैठकले पछिल्लो समयमा देखिएका गतिविधि संघीयता र संविधानका लागि घातक भएको निष्कर्ष निकालेको हो । व्यवस्थालाई जोगाउने विषयमा सबै दल एक भएर अघि बढ्ने निष्कर्ष निक्लिएको नेकपाका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘अहिले देशमा जुन ढंगका गतिविधि भएका छन् । यसले संघीयत र संविधानमाथि नै खतरा पैदा हुन्छ’, प्रधानमन्त्री ओलीलाई उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले खासगरी युवामा राजनीतिप्रति नकारात्मक दृष्टिकोण देखिएको छ ।’

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव समूहले आतंक मच्चाएकाले प्रतिवन्ध लगाएको तर वार्ताका लागि ढोका सधैँ खुला रहेको स्पष्ट पारेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘विप्लव समूह कुनै राजनीतिक दल हैन । यसले सबैलाई त्रसित बनाएको छ’, प्रधानमन्त्रीलाई उधृत गर्दे ती नेताले भने, ‘उनको समूह आतंकवादी गतिविधिमा संलग्न छ । यस्ता गतिविधि गर्नेलाई छुट दिन सकिँदैन ।’ विप्लवसँग वार्ता गर्न दलहरू एक मत रहेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले भने सत्तापक्षको आलोचना गरे । उनले कतिपय विषयमा सत्तापक्षका शीर्ष नेताको अभिव्यक्तिले व्यवस्थामाथि खतरा पैदा हुन थालेको बताए । ‘सत्तापक्षका कतिपय नेताले संसदीय व्यवस्थाका विरुद्धमा बोल्दै आउनुभएको छ’, देउवालाई उधृत गर्दे स्रोतले भन्यो, ‘संविधानविपरीत कार्यकारी राष्ट्रपतिको विषय तपाईँहरूकै नेताले उठाउनु भएको छ । यसले खतरा पैदा हुन सक्छ । संघीय लोतकन्त्रका बेला भएको सहमति उल्ट्याउन खोज्नु राम्रो भएन ।’ उनले कांग्रेसले व्यवस्था रक्षाका लागि सरकारसँग सहकार्य गर्ने बताए ।

यस्तै, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन विरोधी शक्तिको सक्रियतालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका थिए । ‘हामीले राजा फालेर गणतन्त्र ल्यायौँ । तर, अहिले पनि परिवर्तन विरोधी तत्त्व सक्रिय भएका छन्’, प्रचण्डलाई उधृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘यस्ता गतिविधिको विरुद्धमा परिवर्तनकारी शक्ति एक हुनुपर्छ ।’

उनले शान्ति–संझौतापछिको अवस्थाबारे अनर्गल प्रचार भएको भन्दै चिन्ता व्यक्त गरे । अध्यक्ष प्रचण्डले आफूविरुद्ध गलत प्रचार हुन थालेको भन्दै तत्काल सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिएर शान्तिप्रक्रियाको बाँकी काम सक्नुपर्ने धारणा राखे । बैठकमा राजपाका शीर्ष नेता महन्थ ठाकुरले संविधान संशोधनका लागि प्रधानमन्त्रीलाई पहल गर्न आग्रह गरे । उनले अहिले पनि सबै नेपालीले संविधान स्वीकार गर्न नसकेको बताउँदै सर्वस्वीकार्य बनाउन संशोधन आवश्यक रहेको बताए । ‘संविधानमा भएका कतिपय कमिकमजोरीले गर्दा अहिले पनि संविधान स्वकीर गर्न सबै नागरिकले सकेका छैनन् ’, उनले भने, ‘यो विषय सरकारले सम्वोधन गर्छ भन्ने अपेक्षा छ ।’

यस्तै, संसदमा आफूहरूले उठाएका कतिपय विषय सभामुखले रुलिंग गर्दा पनि सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सबै दलले प्रधानमन्त्री ओलीलाई यस्ता छलफल नियमति गर्न सुझाएका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्य

प्रधानमन्त्री ओलीले स्वास्थ्य जाँचका क्रममा डाक्टरले आफूलाई ठीक रहेको रिर्पोट दिएको बताए । उनले आफूले यसअघि थाइल्याण्डको औषधि प्रयोग गर्दै आएकोेमा अहिले सिंगापुरको औषधि प्रयोग गर्दा केही ‘साइड इफेक्ट’ देखिएको बताए । यसका कारण सामान्य ज्वरो आएको उनको भनाई थियो । ‘अस्ति धेरै काम भएकाले तत्काल आएँ’, उनले भने, ‘त्यसकारण सिंगापुर फेरि जानुपर्ने भएको छ ।’ बिहीबार उनी फेरि स्वास्थ्य जाँचका लागि सिंगापुर जाँदैछन् । उनी डेढ साता बस्ने बताइएकाे छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -