-स्वयम्भुनाथ कार्की
कुनै कुरा एक पटक हुन्छ भने त्यो घटना हो । अर्को पटक दोहोरिन्छ भने त्यो संयोग हो । फेरी पनि हुन्छ भने त्यो पक्का षडयन्त्र हो । यो कुरा कुनै अंग्रेजी लेखकले लेखेका थिए । पञ्चतन्त्रमा भने बारम्वार धोका खान हुँदैन भन्ने कुरा सम्झाउन निकै कथाहरु प्रयोग गरिएको छ । तर अति जोश देखाउने होडमा विगत केही बर्षहरुदेखि भने राजावादी भएका कारणले राष्ट्रवादी भएकाहरुलाई लगातार उचाल्न पछार्नेहरु भेटिदैछन । राजावादीहरु यस्तो घटनाको तारो भएका छन, एक पटक हैन लगातार । तै पनि चेत पलाउने छाँटकाँट छैन, बरु अन्यलाई पनि त्यसमा पर्न उक्साउँछन् ।
मैले लगातार राजावादीका दुई किसिम छन् भन्ने गरेको छु । यहाँ पनि त्यही शव्दावली प्रयोग गरें । पहिले यी दुई किसिमबारे केही स्पष्टिकरण ठिक होला । मेरो वर्गीकरणमा पहिलो श्रेणीका राजावादी ती हुन् जो राजावादी भएका कारण राष्ट्रवादी भएका छन् । उनीहरुको पहिलो आस्था राजा प्रति हो, महाभारतमा भिष्मले गद्दीमा बस्नेलाई नै आप्mनो बाबु सन्तनु देखे सरह । दोश्रो श्रेणीका राजावादी भनेका ती हुन जो राष्ट्रवादी भएका कारणले राजावादी भएका छन् । वर्तमान अवस्थामा राष्ट्र जोगाउन राजाको उपस्थिति अपरिहार्य देख्छन् । मेरो पछिल्लो दर्शन भेटमा राजा स्वयंबाट आफु राजावादी नभई राष्ट्रवादी भएको कुरा व्यक्त भएको थियो ।
पहिलो श्रेणीका राजावादीहरु उचाल्न पछार्न स्वार्थीहरुलाई सजिलो भएको छ । चर्चा हराउँदै विलिन हुन लागेकाहरु हुन वा चर्चा कमाउन खोज्ने हुन उनीहरुको निमित्त सजिलो हतियार भएका छन यस्तै राजावादीहरु । तुरन्त चर्चा चाहियो भने राजालाई लक्षित गरेर गाली गरिदियो त्यसलाई गाली फर्काउने क्रममा जताततै त्यसको चर्चा हुन थाल्छ । सामाजिक सञ्जालहरुमा उसले बोलेका अपमानजनक, आधारहिन कुराहरु शेयर गरे गाली गर्न राजावादीहरुको होड चल्छ । कोही यो होडमा सामेल भएन भने त्यसलाई कायर, गद्दार अनि यो भन्दा अभद्र गालीको वर्षा गरिन्छ । यही कुरामा राजावादीका विभिन्न समुहहरु एक अर्कालाई गालि गलौज गर्न लाग्छन् । केही बर्ष पहिले त कुटाकुट समेत भएको सुनिएको हो ।
अर्काथरी जो प्रथम श्रेणीका राजावादीहरुको सहारामा स्थान बनाउन चहान्छन ती भने गणतन्त्रे नेताहरुलाई चर्का गाली गर्दै राजावादीहरुको साखुल्ले बन्न पुग्छन् । थाईल्याण्डमा युवराजलाई अस्पताल पुर्याएको पुुरस्कार स्वरुप ती व्यक्ति “मातृभूमिको निमित्त युवा अभियान” संगठन खोल्न सफल भए । युवराजको निकटको भएको भनेर राजावादीहरुले त्यो संगठन निर्माणमा तन, मन, धन लगाए । स्वयं उनले कहिल्यै आपूmले राजावादी भएको दावी गरेनन । अन्तमा उनी संगठन सहित बाबुरामको नयाँ शक्तिमा समाहित भए । हिस्स परेका राजावादीहरुले मुखको तितो पोख्न बाहेक अरु के नै पो गर्न सक्थे र ?
परंपरादेखि कायम रहेको नेपालीको “राजा सबैको साझा” भन्ने मान्यता समाप्त पार्न मेसिनरीका गुर्गाहरु सफल भए । पश्चिमाहरुको चाल नै “फुटाउ र राज गर” हो, यो सबैलाई थाहा छ । तैपनि उनीहरु राजा भनेका केवल हिन्दुका भन्ने भ्रम छर्न सफल भए । राजा भनेका मुलुकका निश्चित भुभागका मान्छेका मात्रै हुन साझा हैनन् भन्ने भ्रम छर्न सफल भए । राजनैतिक रोटी पकाउन ताई तताउने केही नेताहरुलाई उचालेर धोती टोपी, चुच्चे थेप्चे, तगाधारी मतवाली आदिमा नेपालीलाई चर्काउन सफल भए । नेपालीहरु अहिले फुटेका छैनन् केही हलुका चर्केको मात्र हो ।
काठमाण्डौको अहंकारले ग्रस्त मेरा एक मित्र पछिल्लो मधेशमा चर्केको आन्दोलनमा मसंग बहसमा थिए । उनी मधेशमा बस्ने नेपालीलाई भारतीय नै मान्छन । मैले उनलाई भने काठमाण्डौ बाहिर आउनुस तपाईले भनेका भारतीयहरु नेपाली हुन । उनीहरुमा तपाईमा भएको भन्दा ज्यादा नेपालीत्व छ भनें । उनले सहन सकेनन् म संगको सबै सम्पर्क तोडेर बसे । मलाई पनि यस्ता दम्भीको साथ भन्दा नेपालीत्व भएकाहरुको साथ नै ज्यादा लाभकारी लागेको छ । किनभने एक राष्ट्रवादीले राष्ट्र मुटुमा बोक्ने नागरिकलाई माओवादीको प्रिय वर्गीकरण जातीय, क्षेत्रीय, लिंगिय, धार्मिक आदि आधारमा भेदभाव गर्न सक्दैन ।
अहिले पनि जनता जोड्नुको साटो सडक तताएर एकअर्काको हुर्मत काढ्नुलाई राजावादी भएको प्रमाण भन्नेहरु राजावादीहरु माथी हावी भएका छन । नेताहरुलाई अलिकति चर्को गाली गरिदिने वित्तिकै, वा वर्तमान व्यवस्थालाई चर्को गाली गरिदिने वित्तिकै त्यसको महिमा गाउन प्रथम श्रेणीका राजावादीहरुको लर्को लाग्न । त्यस्ता व्यक्ति समुहहरुलाई स्थापित गरिदिने मध्येको ठूलो भाग यस्तै राजावादीको हुने गर्दछ । उनीहरु पनि राजावादी भएको भ्रम दिन स्थापित नहुञ्जेल जनमत संग्रह आदिको कुरा गर्छन् । स्थापित भई सकेपछि सिधा राजसंस्था अब इतिहास भइसक्यो भन्छन ।
त्यसो नभने पनि वीरेन्द्र भए ठिक थियो ज्ञानेन्द्र चाही भएन भन्छन । अनि राजवादीहरु फेरी जिल खान्छन् ।
यो सत्य बोले वापत मैले तथानाम गाली खान थालको वर्षांै भयो, एकपटक जिल्ल खाएर तेरो कुरा ठिक रहेछ भन्छन् । तर फेरी अर्को चर्का कुरा गर्ने आउने वित्तिकै मलाई तथानाम गर्दै त्यसैको पछि लाग्छन अर्को पल्ट घोका खान ।
(२०७५ माघ ३ गते क्राइम चेक साप्ताहिकमा कार्कीको कलम स्तम्भमा प्रकाशित)